युद्ध र पीडाको एक मार्मिक कथा

 युद्ध र पीडाको एक मार्मिक कथा

दिवानसिंह राई विसं १९८३ सालमा पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका थिए । उनी जन्मिँदा राणाकालको खग्रास ग्रहण थियो मुलुकभरी । त्यसबेला आजकालजस्ता जनता थिएनन्, हुकुमी शासनले थिचिएका रैती मात्र थिए । रैतीका हकमा सीमित गरिखाने पखेरोसम्म हुन्थ्यो । तर, आँगनसम्म नहुनाले राई, लिम्बू, गुरुङ, मगर, तामाङ र क्षत्री समुदायका युवा चरन खोज्दै गोर्खा सैनिकमा उचाइ र गोलाइ नपाउन पुग्थे ।

थोरै तलबको खान्की खाएर पराई भूमिमा रगत बगाउन विवश हुन्थे । त्यो बाध्यतामा आफ्नो पराक्रम देखाएका हुनाले नेपालको पर्याय बनेको हो, वीर गोर्खा । दिवानसिंह राई पनि वीर गोर्खाकै तम्तयारीका साथ दोस्रो विश्वयुद्घमा होमिँदै बर्माको युद्घमा समाहित हुन पुगे । रिकुटे भए उनी । त्यो महायुद्घमा होमिन पुगेका हजारौं नेपाली रिकुटे, तिनका घरायसी दूरावस्था, किञ्चित् भोलिका आशा र सपनामाथि निर्मम प्रहार भइरहेका बम, गोला, तोप खनिएका भयावह दृश्य आफ्नै आँखाले देखे, आफैंले भोगे ।

कैयन् नेपाली रिकुटेको जीवनलीला त्यही महासमरमा स्वाहा भयो । किञ्चित् सम्पन्नताको आशा पालेर आफ्नो बैंसको दियोलाई उकासिन नदिई छाप्रामा कुरिरहेका तरुनी श्रीमतीका चुरा फुटे, सिन्दुर पुछिए । रिकुटेको बर्दी फालेर दिवानसिंह राई बीपी कोइरालाको राजनीतिमा होमिए । बिलक्षण प्रतिभा थियो उनीसँग । त्यसको मूल्यांकन गर्दै बीपीको प्रधानमन्त्रीत्व कालमा उनलाई पनि सहायकमन्त्री बनाइयो ।

त्यसबेला उनी ३५ वर्षका मात्र थिए । टिकेन बीपीको सरकार, रहेन प्रजातन्त्र । देशमा पञ्चायती शासन लादियो । बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसहित दिवानसिंह राईलाई पनि सुन्दरीजल जेलमा राखियो । कालो बादलमा चाँदीको घेरा भनेझैं यी व्यक्तिका जेल जीवनबाट भने नेपाली साहित्यको भण्डारमा अमूल्य रत्न थपिए ।

त्यही जेलमा दिवानसिंहले लेखेको ‘रिकुटे’ लामो कालखण्डसम्म गुम्सेर बस्यो । मोरङको झोडामा उनको निर्मम हत्या भयो । उनीलगायतले प्रजातन्त्र स्थापनाका लागि बगाएको रगतले ०४६ सालमा मूर्त रूप पायो । प्रजातन्त्र पुनर्वहाली भयो । त्यसपछि पनि २७ वटा संवतसर फेरिए ०७३ साल आइपुग्दा । बल्ल, उनकी छोरी लक्ष्मी राईले बाबुले लेखेका पाण्डुलिपिको खोजविन गरिन् । र, नरहरि आचार्यमार्फत अंगभंगप्रायः हुन लागिसकेको ‘रिकुटे’को प्रकाशनको दायित्व शिखा बुक्सले लियो । यसरी ‘रिकुटे’ उपन्यास प्रकाशनको कथा नै औपन्यासिक बनेको छ ।

यो उपन्यास चरम दारिद्रयको पर्दा पन्छाउने आशा र सपना बोकेर विश्वयुद्घजस्तो विभिषिकामा होमिन कम्मर कस्ने उत्साही नेपाली युवाको दयनीय कथा हो । तिनले युद्घ जिते विदेशी साम्राज्यवादीको महत्वाकांक्षा प्राप्ति हुने, हारे या मरे नेपाली गरिबको सर्वनाश हुने कटु यर्थाथको शब्दचित्र हो ‘रिकुटे’ । पहाडकी अदना रत्नमायालाई गाउँको सामन्तले उठीवास गराउँछ ।

उनी पाँच वर्षे छोरो सिंहबहादुरलाई लिएर भित्री मधेशतिर झर्छिन् । कुनै दाताले दया गरेर आफ्नै करेसामा छाप्रो हालेर बस्न दिन्छ । केहीपछि रत्नमायाको मृत्यु हुन्छ र सिंहबहादुर ज्यालाबोनी गर्दै युवा हुन्छ । माया नामकी युवतीलाई भगाएर ल्याई घरजम गर्छ । विश्वयुद्घको डंका बजेको समय, छिमेकी साथी चामेको साथ लागेर गोर्खा भर्ती गएको ऊ पनि छानिएर छाउनी पुग्छ । तालिमपछि सबै रिकुटेका बटालिनलाई बर्मा पुर्‌याइन्छ, जहाँ जापानले साम्राज्य विस्तारका लागि आक्रमण गरिरहेको हुन्छ ।

बर्माको रंगुन बसाइँ, त्यहाँका सुन्दरी रमणीसँगका रसरङ र धन कमाउने सपनाको रोमाञ्चसँगै सबै रिकुटे युद्घको संग्रालोमा मुछिन्छन् । युद्घमा नराम्रो हार हुन्छ । कैयन् रिकुटे बेपत्ता हुन्छन् । बाँचेका जति भागेर छाउनीमा आउँछन् । सिंहबहादुरको नामचाहिँ बेपत्ता हुनेमा पर्छ । यसको अर्थ हुन्थ्यो, मारियो । खबर छाउनीमार्फत भर्तीकेन्द्र हुँदै श्रीमती मायासम्म पुग्छ । माया बहुलाहीजस्ती भौंतारिँदै हिँड्छे ।

सिंहबहादुर मारिएको हुँदैन, युद्घबन्दी हुन्छ । एकदिन साथीसहित थुनाबाट भाग्न सफल हुन्छ र छाउनी पुग्छ । जापानी लडाकुले कब्जा गरिराखेको, सामारिक दृष्टिले महवपूर्ण मेक्योङ डाँडामा धावा बोल्ने योजनाअनुसार रिकुटेहरू फेरि युद्घमा होमिन्छन् । त्यस युद्घमा पनि गोर्खालीको ठूलो संख्या हताहत हुन्छ । सिंहबहादुरको इन्चार्ज जसवीर घाइते हुन्छ, एउटा गोडा नै काटिन्छ । बाँचेकालाई पनि युद्घबन्दी बनाइन्छ ।

जापानी सेनालाई रासन पानी, हातहतियार आपूर्ति गराउन कठिन पर्दै आएपछि किल्ला छाडेर उनीहरू भाग्छन् । युद्घबन्दी स्वतः मुक्त हुन्छन् । अनेक तरहले उनीहरू घर फर्कन्छन् । र, खबर सुन्छन्, बेलायतमा भिक्ट्री परेडको । परेडमा जाने उत्साहभन्दा छिटो घर गएर मायालाई भेट्ने चाहना हुन्छ सिंहबहादुरको ।

रिकुटे चरम गरिबी र त्यसबाट उन्मुक्ति पाउने सपनाको कथा हो । त्यसलाई साम्राज्यवादीले आफ्नो प्रयोजन र स्वार्थका निम्ति संग्राममा होमेको कथा हो । युद्घको निराशाजनक परिणाम र त्यसले तहसनहस बनाएको गरिबका घर गृहस्थीको कथा हो, जसलाई राईले प्रभावशाली, कौतुहलपूर्ण र सजीव वर्णन गरेका छन् ।

दिवानसिंह राई अकालमै मारिए । त्यो मरणले राजनीतिक वृत्तमा त घाटा भयो नै, नेपाली साहित्यको श्रीवृद्घिमा उनीबाट हुने योगदानको पाटो पनि विनाश भयो । तथापि, गोर्खा सेनामा भर्ती हुने मोह नेपाली युवामा आजसम्म जीवित छ । बत्तीमा पुतलीझैं खाडी या विदेशमा स्वाभिमान लिलाम गर्न लालायित जमात पनि छ । विदेशी माटोमा रगत पसिना बगाउन तयार सबै नेपालीले एक पटक ‘रिकुटे’ पढून् र निर्णय लिउन् । धमिरा लाग्दै गएका पत्रबाट झिकेर ‘रिकुटे’लाई जनसमक्ष प्रस्तुत गर्न जो जसले प्रयत्न गरे, सबै धन्य छन् ।

पुस्तक      :  रिकुेट
लेखक       :  दिवानसिंह राई
विधा         :  उपन्यास
प्रकाशक    :  शिखा बुक्स
मूल्य        :  ३७३  रुपैयाँं

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.