नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणले गति लिन सकेन

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणले गति लिन सकेन

चितवन: दैनिक चार घन्टा सडक रोकेर काम गर्दै आएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको विस्तार कार्यले गति लिन सकेको छैन।

सडकको करिब दुई किलोमिटर क्षेत्रमा पहाड काटेर बाटो फराकिलो पार्नुपर्ने भएपछि सडक नै रोकेर काम थालिएको हो। पुस ७ गतेबाट हरेक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकको भित्तो काट्ने काम भइरहेको छ। सो सडकको कालीखोला नजिक, चार किलो, जलवीरे, घुमाउने र १६ किलोमा पहाड काटेर सडक फराकिलो बनाउने काम भइरहेको छ भने दासढु्ङ्गामा सडकको सतह मिलाउने काम भइरहेको छ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार छोटो समय बाटो रोक्दा पहाड काट्ने कामले गति लिन सकेको छैन। बिहान ११ बजे सडकमा छिरेका सवारी साधन बाहिरिँदा करिब १ बज्ने गर्दछ। त्यसबीचमा अत्यावश्यक सवारीका नाममा एम्बुलेन्स, पर्यटक बस, कूटनीतिक नियोगका सवारीलगायत भनसुनमा धेरै सवारी छिर्ने गर्दछन्। मोटरसाइकल नियमित भएकाले पूर्ण रुपमा आधा घन्टा पनि पूरै सडक रोकेर काम गर्न कठिन भएको खनालले बताए। सडक खुलेपछि हुने सवारी चापले अन्य समयको कामलाई पनि प्रभावित बनाएको छ ।

आयोजनाले आठ घन्टा सवारी रोक्न माग गरेको भए पनि स्थानीय प्रशासनले चार घन्टा मात्रै अनुमति दिएको थियो। अत्यावश्यकका नाममा धेरै सवारी नछोड्ने र कम्तीमा छ घन्टा बाटो रोक्न पाए चार घन्टा काम गर्न पाइने आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले बताए।

सो सडकको ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने अहिलेको समयमा ३३ प्रतिशतमात्रै काम भएको छ। सडकको १६ किलोमा ७५ मिटर अग्लो करिब ३०० मिटर लम्बाइ भएको पहाड काट्नु पर्नेछ भने घुमाउनेमा ४४ मिटर अग्लो १५० मिटर लम्बाइ भएको पहाड काट्नुपर्ने हुन्छ। जलवीरे, चारकिलो र कालीखोलामा पनि त्यति नै अग्ला पहाड काटेर सडक चौडा गर्नुपर्ने हुन्छ।

आयोजनाका इञ्जिनियर खनालका अनुसार सो क्षेत्रमा ५ दशमलब ५ मिटरमात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदैछ। सो क्षेत्रमा कडा चट्टान रहेका छन्। खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटरमात्रै चट्टान काट्न सक्छ। छ ठाउँमा ब्रेकर, स्काभेटर र लोडर एक एकवटा परिचालन गरिएको छ भने आवश्यक मात्रामा टिपर प्रयोग गरिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले अत्यावश्यका नाममा अनावश्यक सवारी साधन प्रवेश गरेको भए त्यसलाई तत्काल रोकिने र कामले गति लिन नसके केही समय बढाएर भए पनि सडक छिटो निर्माण गरिने बताए। उनले साेमबारै सरोकारवाला निकायसहितको सडकको अनुगमन गरी थप के गर्न सकिन्छ, सडक विस्तारका लागि सहयोग गरिने बताए।

उनले भने,' म आजै आयोजना प्रमुख, तीनवटै सडकखण्डका ठेकेदार, परामर्शदाता, सुरक्षा निकायसहित प्रत्यक्ष निरीक्षण गरेर सडकको गति बढाउने गरी थप निर्णय गर्दछु।' सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक छ हजार १७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.