एमालेलगायत विपक्षी दलले सोमबार पनि संसद् चल्न दिएनन्
काठमाडौं : संसद्को बैठक सोमबार पनि अवरुद्ध भएको छ। सबा एक बजे बैठक सुरु हुनसाथ एमालेलगायतका विपक्षीहरुले अवरोध गरेका थिए। गतिरोधका निकास खोज्न अपरान्ह ४ बजेसम्मका लागि संसद् स्थगित गरिएको छ। यो बीचमा सहमति खोज्न दलहरुसँग सभामुखले छलफल गर्नेछिन्।
यसअघि अवरुद्ध संसद खुलाउन तथा गतिरोधको निकास खोज्न सिंहदरबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निश्कर्षबिना सकिएको थियो। संविधान संशोधन फिर्ता लिनुपर्ने र चुनाव घोषणा नभइकन संसद् चल्न नदिने अडान एमालले राखेको थियो।
संविधान संशोधन प्रस्तावलाई प्रक्रिया लैजाने सरकारको निर्णय र चुनाव घोषणा नभइकन संसद् चल्न नदिने एमालेलगायतका विपक्षीको अडानका कारण संसद् उत्पन्न हुनसक्ने तनाव तथा मुठमेड रोक्न पनि मुख्य दलका नेताहरु बिहानैदेखि छलफलमा व्यस्त छन्। एमालेलगायतका विपक्षीको अवरोधका कारण एक महिनादेखि संसद् अवरुद्ध छ।
यसअघि संसदमा जारी अबरोध हटाउने विषयमा आइतबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। सभामुख ओनसरी घर्ती पनि गतिरोध हटाउन बिहानैदेखि परामर्शमा व्यस्त छिन्। उनले दलका नेताहरुसँग विभिन्न चरणमा छलफल गरिरहेकी छिन्।
संसदको गतिरोध अन्त्य, संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन लगायतका विषयमा प्रमुख दलहरुबीच पटक पटक छलफल भएपनि बैठक निष्कर्षमा पुग्न सकेको छैन। सरकारले मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेलगायतका दलहरुले संसद अबरुद्ध गर्दै आएका छन्।