करेन्ट लागेर गैंडाको मृत्यु, खाग र खुर झिकियो
कावासोती: नवलपरासीको गैंडाकोट–७, गैरीमा एक वयश्क गैंडा मृत भेटिएको छ। सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले करेन्ट लगाएर गैंडा मारेको हुन सक्ने बताए।
निकुञ्ज क्षेत्रभन्दा बाहिरी क्षेत्रमा गैँडा मरेकाले त्यसको अनुसन्धान जिल्ला वन कार्यालय, नवलपरासीले गरेको उनले जानकारी दिए। गैंडाको मृत्युबारे अनुसन्धान गर्न सहायक वन अधिकृत ईश्वर वाग्लेलाई वन कार्यालयले खटाएको छ ।
गैंडाको पोष्टमार्टम गर्दा प्रारम्भिक रिपोर्टमा करेन्ट लागेर गैंडा मरेको हुन सक्छ । उनले भने,‘विद्युतीय तारबार क्षेत्र नभएकाले मान्छेले नै करेन्ट लगाएको हुन सक्छ विस्तृत अध्ययन गर्दैछौं।'
गैंडाको शरीर परीक्षणका लागि चिकित्सकसहितको टोली सेक्टर वन कार्यालय, कावासोती आएको थियो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, प्रहरी र वन कर्मचारीको रोहवरमा आजै खाग र खुर सुरक्षितरुपमा निकालिएको वन कार्यालयले जनाएको छ। वन कार्यालयले एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको जनाएको छ। रासस