बाँदर–भोजन
मेरा एक मित्र छन्, पशुप्रेमी । उनी पशुपन्छीहरूलाई असाध्यै माया गर्छन् । कहिले सडकका बेवारिसे, अझ भनौं भुस्याहा टाइपका कुकुरहरूलाई बिस्कुट भोजन गराइरहेका हुन्छन् भने कहिले मन्दिरका परिसरमा पुगेर परेवाहरूलाई चारो छरिरहेका हुन्छन् । उनको अद्भूत पशुपन्छी प्रेम देखेर म पनि बेलाबखत आल्हादित हुन्छु । एक दिन उनले भने, ‘मित्र, मैले एउटा विचार गरेँ ।’
‘कस्तो विचार ?’ मैले सोधेँ ।
‘पशुपतिका बाँदरहरूलाई कुनै दिन भोजन गराउने विचार गरेँ मैले ।’ उनले अति नै उत्साहित मुद्रामा आफ्ना कुरा पस्किए, ‘मैले अहिलेसम्म सबै ठाउँका पशुपन्छीहरूलाई भोजनपान गराइसकेँ तर पशुपतिका बाँदरहरूलाई भने गराउन पाइरहेको छुइनँ । त्यसैले एक पटक त्यहाँका बाँदरहरूलाई पनि भोजन गराऊँ कि भन्ने विचार आयो ।’
‘बरु, पशुपतिमा बस्ने वृद्धवृद्धाहरूलाई भोजन गराए उपयुक्त होला ।’ मैले सुझाव दिँदै भनेँ, ‘बाँदरले त आखिरमा जसरी पनि खाएरै छाड्छन्, तिनीहरू खानमा निकै माहिर हुन्छन् । कुनै दाताहरूले केही दिए खान्छन्, खान नपाए खोसेरै भए पनि खान्छन् । बाँदरहरूले जसरी भए पनि खाएरै छाड्छन् । आखिर खानमा माहिर हुनेहरूले नखाएरै बस्छन् होला त ? तसर्थ, बाँदरलाई खुवाउने, पियाउने कुरा नगर्दा नै उचित हुन्छ, मित्र ।’
‘तिम्ले मेरो भावना बुझेजस्तो लागेन,’ ती मित्र केही अप्रसन्न देखिए र भने, ‘आखिर, म एक पशुप्रेमी हुँ, पन्छीप्रेमी हुँ । मेरो काम नै यिनै बाँदर, फ्याउरा, स्याल, चील, गिद्ध, कौवाहरूलाई भोजन गराएर सन्तुष्ट तुल्याउनु हो । तिमीलाई थाहा नै छ, मैले कैयौं वर्षदेखि यिनीहरूलाई सन्तुष्ट तुल्याउँदै आइरहेको छु ।’
‘किन, पशुपतिकै बाँदरहरूलाई भोजन गराउने विचार आयो त तिमीमा ?’ मैले सोधेँ । ती मित्रले गम्भीर हुँदै भने, ‘हुन त केही दिनअघि मात्रै ती बाँदरहरूले आफ्नो सुविधा, आफूखुशी व्यापक रूपमा वृद्धि गराएको कुराप्रति म अनभिज्ञ छैन । अरूबेला एउटा सानो चाउचाउको पोकामा लुछाचुँडी गर्ने ती बाँदरहरूले आफ्नो सुविधा वृद्धि गर्ने बेलामा भने कुनै झैझगडा निकालेनन् । चुपचाप सुविधा बढ्यो, बाँदरहरू चुपचाप खुशी भए । अहिले पशुपति वा वनकालीतिर जाँदा ती बाँदरहरू खुशी र प्रफुल्ल देखिन्छन् ।’
‘तर, जतिसुकै सुविधा बढे पनि आखिर बाँदरहरूले रूखका हाँगा–हाँगा चहार्न, फूलबारीमा कुदाकुद गरेर भर्खर रोपिएका फूलहरू रैफाँडो पार्न र बिजुलीको तारमा लट्किएर तमासा देखाउन भने नछाड्ने रहेछन्, क्यार ?’ मैले ती पशु औ पन्छीप्रेमी मित्रलाई भनें । मेरो कुरा सुनेर उनी केही क्षण गम्भीर भएजस्तो लाग्यो ।
‘सबैले आ–आफ्नै बेहोरा देखाउने न हुन् । सबै पशुहरूको आ–आफ्नै बानीबेहोरा छन्, तिनीहरूले त्यही बेहोरा प्रदर्शन गर्ने न हुन्, मित्र ।’ यति भन्दै उनले मलाई सोधे, ‘पशुपतिका बाँदरहरूलाई के ख्वाउँदा ठीक होला । मैले सुनेअनुसार पशुपतिका बाँदरहरू जंकफुडका कारण दुब्लाउँदै गइरहेका छन्, त्यही कारण मृत्यु पनि भइरहेको छ । कस्तो खालको भोजन गराउँदा हुन्छ, तिनीहरूलाई ?’
मैले सुझाव दिँदै भनें, ‘अचेलका नेपाली बाँदरहरू विदेशी खान्की र स्वादप्रति निकै नै मोहित र लालायित भइसकेका छन् । तिनीहरूका निम्ति नौलो स्वाद हुने पिज्जा–सिज्जाको व्यवस्था गरे हुन्छ नि ।’ मैले केही ठट्यौलो शैलीमा आफ्नो सुझाव पस्किएको थिएँ । मेरा ती मित्र मुस्कुराए, बस् ।