अस्तव्यस्त यातायात कार्यालय
गत ७ पुसमा एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसरको लाइनमा भेटिए, दोलखा मैनापोखरीका सुजन दाहाल । हेभी सवारीको अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न महिना दिनयता उनले चार पटक काठमाडौं ओहोरदोहोर गरिसकेका छन् । कहिले टोकन सकियो, कहिले सर्भर बिग्रियो । कर्मचारीहरूको यस्तै बहानाका कारण दाहालको पालो अझै आएको छैन ।
भन्छन्, ‘बिहान ४ बजेदेखि लाइन बस्यो । पालो कहिल्यै आउँदैन । आउँदा–जाँदा धेरै खर्च भइसक्यो । फारम नै भर्न सकेको छैन ।’ त्यस दिन पनि सर्भर बिग्रेको बताउँदै कर्मचारी घाम तापिरहेका थिए भने सेवाग्राही निराश हुँदै फर्किने तयारीमा । त्यही भीडमा भेटिए, गोरखा हर्मीका रामबहादुर विश्वकर्मा । लाइसेन्सका लागि सातादिनदेखि काठमाडौंमा छन् उनी ।
स्वयम्भुस्थित आफन्तकहाँ बस्दैआएका सशस्त्र प्रहरीका हवल्दार उनी पनि यातायातको झन्झटले दिक्क थिए । ‘विदा सकिनै लाग्यो । यता अझै काम बनेको छैन,’ उनी अन्योलमा देखिन्थे । विश्वकर्मालाई अझै थाहा छैन, कति दिनपछि फारम भर्न पाइने हो । एक बिहान त साढे ३ बजे नै लाइनमा बसिसकेका थिए उनी, पालो भने गयो । ‘टोकन दिने बेला भएको रहेछ । पिसाबले च्यापेर एकैछिन ट्वाइलेट गएको पालो त कता पुग्यो कता ।’
सबैजसो सरकारी कार्यालयमा सहजै काम निप्ट्याउन नसकिने आम मनोविज्ञान बनिसकेको छ । भीडभाड, ढिलासुस्ती र कागजी झन्झट सरकारी कार्यालयहरूको विशेषता नै हो । त्यसका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयलाई हेरे पुग्छ, सबैभन्दा बढी भीड लाग्ने र अव्यवस्थित कार्यालयको पहिचान बनाएको छ । कर्मचारीहरूका अनुसार यस कार्यालयमा दैनिक करिब पाँच हजार सेवाग्राही आउँछन् । लाइसेन्सको फारम बुझाउने, लिखित परीक्षालगायत कामका लागि अघिल्लो राति नौ बजेदेखि नै लाइन बस्नु पर्छ यस कार्यालयमा । कर्मचारीले बिहान ७ बजे टोकन वितरण थाल्छन् ।
‘बिहानभरी खाई–नखाई लाइन बस्यो ।
तै पनि काम हुँदैन,’ विश्वकर्माले निराशा व्यक्त गरे, ‘बाहिरबाट आउनेहरूलाई प्राथमिकता दिए हुन्थ्यो नि ।’ दशैंअघि दुई महिनासम्म सफ्टवेयर बिग्रेको बताउँदै विभागले लाइसेन्सलगायत सबै सेवा बन्द गरेको थियो । अहिलेको भीडभाड त्यसैको उपज हो । सरकारले लाइसेन्सको ‘स्मार्ट कार्ड’ वितरण थालेकाले पनि भीड बढेको हो । काठमाडौंबाहिर वीरगन्ज, इटहरी, बुटवल र पोखरा अति व्यस्त रहने कार्यालय हुन् । ती कार्यालयमा पहिलेकै काम थाती रहेकाले नयाँ लाइसेन्स वितरण सुचारु हुन सकेको छैन । लिखित परीक्षा पास गरी ट्रायलमा फेल हुनेले तीन महिनासम्म ट्रायल दिन नपाउने व्यवस्था छ । सोही कारण नयाँ सेवाग्राहीले महिनौं पालो पर्खिनुपर्छ ।
फारम भरिंदै
एकान्तकुना कार्यालयमा जम्मा ७० कर्मचारी खटाइएको छ, तीमध्ये तीन जना करारका हुन् । ‘थोरै कर्मचारी भएकाले पनि भीड थामिनसक्नु भएको हो । हामीलाई पनि काम गर्न निकै अप्ठ्यारो छ,’ शाखा अधिकृत ईश्वरराज रेग्मी भन्छन्, ‘कामको चाप यति हुन्छ कि खाजा पनि खान भ्याइँदैन ।’ कार, जिप, मोटरसाइकल, हेभी सवारी गरी वर्गीकरणका आधारमा दर्ता, नवीकरण, अनुमतिलगायत काम हुने गरेको छ । बारका आधारमा कामको बाँडफाँट गर्दा पनि चाप उस्तै छ ।
रेग्मीका अनुसार दैनिक कार, जिपको लाइसेन्स दुई सय, हेभी सवारी एक सय, स्मार्ट कार्ड लिने पाँच सय र लिखित परीक्षाका लागि आठ सयदेखि हजारसम्म सेवाग्राहीको भीड लाग्छ । एउटै कार्यालयले त्यसको व्यवस्थापन असम्भव रहेको ठान्छन् रेग्मी । दिनभरमा पाँच सय जनाको काम हुने अवस्थामा लाइन हजार जनाको हुन्छ । स्मार्ट कार्डका लागि मात्र दोब्बर सेवाग्राहीको लाइन लाग्छ । ‘मन्त्रालयबाटै पहल हुनुपर्छ । पहिले पनि मन्त्रीज्युले निरीक्षण गरेर त जानुभएको हो,’ उनी भन्छन्, ‘देशभरिका सेवाग्राही एउटै ठाउँमा आउँदा हामीलाई काम भ्याइनभ्याइ हुन्छ ।’
धेरै सेवाग्राहीले स्मार्ट कार्ड र काठमाडौंलाई लक्ष्य गर्ने भएकाले पनि अत्यधिक भीड बढेको यातायात व्यवस्था विभागका निर्देशक चन्द्रप्रसाद फुयाँल बताउँछन् । विभागले सेवाग्राहीको चाप कम गर्न कलंकी, चावहिल र सूर्यविनायकमा कार्यालय थपेर सेवा प्रवाह गर्ने भनेको छ । त्यसबाट एकान्तकुनाको चाप कम हुने आशामा छन् कर्मचारी ।
त्यसका लागि दु्रत गतिमा काम भइरहेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ बताउँछन् । उनका अनुसार १७ पुसदेखि कलंकी तथा २७ देखि चावहिल र सुर्यविनायकमा सेवा सुरु गर्ने तयारी छ । त्यसमध्ये कलंकीमा हेभी, सूर्यविनायकमा निजी कार, जिप र चावहिलमा मोटरसाइकललगायत दुईपांग्रे सवारीको दर्ता र लाइसेन्ससम्बन्धी काम हुने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा भदौदेखि सुरु भएको नयाँ कार्यालय स्थापनाको प्रक्रिया चार महिनापछि मात्र पूरा हुन लागेको हो । १० पुसदेखि अनलाइन सेवा पनि सुरु भएको छ । तर, त्यो मोटरसाइकल, स्कुटीलगायत दुई पांग्रे सवारीलाई मात्र लक्षित छ । र, दैनिक पाँच सयभन्दा बढी फारम भर्न मिल्दैन ।
विभागका निर्देशक फुयाँल भने त्यसबाट एकान्तकुनामै थुप्रिने सेवाग्राही अन्यत्र पनि जान मिल्ने भएकाले भीड घट्ने आशामा छन् । भन्छन्, ‘राति १२/१ बजेदेखि नै लाइन बसेर फारम भर्नुपर्ने बाध्यता हट्ने अपेक्षा छ । एकै ठाउँको चाप बाँडिनेछ ।’ यद्यपि, त्यसबारे पर्याप्त प्रचारप्रसार देखिँदैन ।
दलालको विगविगी
एकान्तकुना कार्यालय आसपासमा सेवाग्राही र कर्मचारीकै अगाडि खुलेआम अवैध व्यापार चल्दै आएको छ । कार्यालयकै गेटमा सेवाग्राहीको फारम भरिदिने र त्यसवापत रकम असुल्ने व्यापार सामान्यझैं बनेको छ । ७ पुस दिउँसो गेटछेउमा करिब एक सय फारम र गम टेबलमा राखेर ग्राहकको पर्खाइमा थिए आकाश खड्गी ।
ब्ल्याकमा फारम बिक्री गर्दै विचौलिया
‘फारम भर्नुपर्ने हो सर ?’ टुडे संवाददातासँग उनले सोधे र नहिच्किचाई थपे, ‘फारम हामी भरिदिन्छौं । लाइन पनि हामी बसिदिन्छौं । भोलि बिहान हात हल्लाउँदै आए हुन्छ तपाईं, लिखितमा जान तयार भएर ।’ फारम भर्ने र लाइन बसेर लिखितका लागि रसिद लिएवापत दुई हजार पाँच सय रुपैयाँ असुल्ने गरिएको छ । कार्यालयमा १० रुपैयाँ पर्ने फारम बिचौलियासँग लिँदा सय पर्छ ।
खड्गीजस्ता केही बिचौलियाको धन्दा हो यो । उनीहरू कर्मचारीसँगै मागेर सयभन्दा बढी फारम एकैपटक ल्याउँछन् । ‘एउटा फारम लिन यत्रो भीड छ । तपाईंले एकैचोटी सयभन्दा बढी कसरी ल्याउनुहुन्छ ? भन्ने प्रश्नमा खड्गीको जवाफ थियो, ‘कर्मचारीसँग हाम्रो सेटिङ हुन्छ ।’ धन्दा त्यतिमै सीमित छैन । लिखित उत्तीर्ण भएका सेवाग्राहीसँग ट्रायलमा पनि पास गराउने बताउँदै चर्को रकम असुल्छन् ।
‘लिखितचाहिँ आफैँ पास हुनुपर्छ, हाम्रो केही लाग्दैन । ट्रायलमा म त्यहीँ हुन्छु । हाकिमकै छेउमा बसेर तपाईं ट्रायल पास । १० हजार लाग्छ,’ खड्गी भन्दै गए, ‘हाकिमलाई चिनाइदिन्छु, पक्का पास हुनुहुन्छ । हाकिम जिक्री दोस्ती हो । ढुक्क हुनुस् ।’ १० पुस बिहान तेह्रथुमका २३ वर्षे रवि पुलामी मगर एकान्तकुनामा भेटिए । उनी नयाँ लाइसेन्स बनाउन आएका थिए ।
विचौलियाले उत्तिर्ण गराइदिने भनेपछि केही दिनअघि उनले हेभी गाडीको लाइसेन्सका लागि ट्रायल दिएका थिए । बिहानैदेखि उनी फोन गरिरहेका थिए कसैलाई । टुडे टोलीसँगको कुराकानीमा भन्दै थिए, ‘आज बिहान लाइसेन्स हातमा थमाइदिन्छु भनेको फोन नै बन्द छ ।’ त्यसवापत २२ हजार रुपैयाँ तिरेको मगर बताउँछन् । कार्यालयमै फारम भर्नेदेखि लाइसेन्स लिनेसम्ममा भइरहेको अवैध धन्दाप्रति विभाग र कार्यालय दुवै गम्भीर देखिँदैनन् । शाखा अधिकृत रेग्मी भन्छन्, ‘भीडको फाइदा उठाउँदै बाहिर त्यस्ता व्यक्ति के के गर्छन् हामी हेर्न पनि भ्याउँदैनौँ ।’