कागजमै अड्कियो प्रक्रिया
गत ७ कात्तिकमा सरकारी जम्बो टोली हेलिकप्टरमा गोर्खाका सामागाउँ र सिर्दिवास पुगेर काठमाडौं फर्कियो । रक्षामन्त्री बालकृष्ण खाँड र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक त्यस टोलीका अगुवा थिए । स्थानीय बासिन्दालाई हिमालपारिका सात गाविस जोड्ने सडक निर्माण तत्काल थाल्ने आश्वासन बाँडे मन्त्रीद्वयले । फर्केको डेढ महिना बित्दासमेत सिंहदरबारको कागजी प्रक्रियाबाट बाहिर निस्केको छैन योजना ।
सरकारी टोलीमा अर्थसचिव शान्तराज सुवेदी, भौतिक योजना तथा निर्माण सचिव धनबहादुर तामाङ, सेनाको विकास निर्माण महानिर्देशनालय प्रमुख उपरथी उद्धव विष्ट, सडक विभागका महानिर्देशक देवेन्द्रराज कार्कीलगायत थिए । सांसदहरू चिनकाजी श्रेष्ठ, कमला पन्त, छमबहादुर गुरुङ, बहादुरसिंह लामा, राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले र कांग्रेस नेता सुरेन्द्र पाण्डेलाई पनि सँगै लगिएको थियो ।
एक सय ८० किलोमिटरको उक्त सडकले पृथ्वी राजमार्गको बेनीघाटबाट सामागाउँ र चीन सीमाको लार्के पास जोड्छ । सडक विभागले करिब ६५ किमि ट्रयाक तयार पारेको छ, जुन सोती नजिक बुढीगण्डकीको भीरको कडा चट्टानका कारण अगाडि बढ्न सकेको छैन । सेनाका जर्नेललाई पनि जम्बो टोलीमा सामेल गराउनुको कारण हो, उक्त सडक सेनालाई जिम्मा लगाउने सरकारी योजना ।
रक्षा मन्त्रालयका सहसचिव उत्तम नागिलाका अनुसार भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयको बजेटमा सेनालाई काम जिम्मा दिने योजना अझै अन्तर–मन्त्रालय कागजी प्रक्रियामै अल्झेको छ । ‘त्यसका लागि मन्त्रिपरिषद्को आदेश चाहिन्छ,’ नागिला भन्छन्, ‘भौतिकले मंसिर अन्तिम साता मात्र प्रस्ताव पेस गरेको जानकारी छ । निर्णय भएको छैन ।’
खच्चड र हेलिकप्टरको भर
सडक सञ्जालमा जोडिएका छैनन्, सामागाउँ, ल्हो, प्रोक, विही, सिर्दिवास, चुम्चेत, छेकम्पार, केरौंजा, काशीगाउँ, उहिया, गुम्दा र लापु गाविस । त्यहाँका बासिन्दाका लागि दैनिक उपभोग्य सामग्री ओसापसार गर्ने एक मात्र माध्यम हुन् खच्चड । साम्दोका निमा दोर्जेका अनुसार त्यो पनि मनाङ, लमजुङ र तनहुँबाट गोर्खा सदरमुकाम हुँदै ढुवानी गर्नुपर्छ । चुम्चेत र छेकम्पारका बासिन्दाले बुढीगण्डकी माथिको सार्दीभीरमा डोरीमा झुण्डेर आवतजावत गर्नुपर्छ ।
गोर्खाका उत्तारी सात गाविससहित चीन सीमा जोड्ने एक सय ८० किलोमिटर लम्बाइको सडक निर्माण सरकारको उच्च प्राथमिकता सूचीमा छ, काम भने कछुवा गतिमा ।
६ हजार नौ सय जनसंख्याले करिब दुई हजार खच्चडबाट सामान ढुवानी गर्छन् । हिउँदमा हिमपात र वर्षामा पहिरोले बाटो छेक्छन् । लापु र उहियाका भीर काट्न नसकेसम्म ट्रयाक जोडिने सम्भावना छैन । स्थानीय मिङ्मार लामाका अनुसार बेंसीसहर–चामेभन्दा आरुघाट–सामागाउँ सडक निर्माण सजिलो छ । मनाङ सदरमुकाम चामेसम्म सेनाले ट्रयाक खोलिसकेको छ । लामा भन्छन्, ‘त्यति गाह्रो ट्रयाक सेनाले तयार पारिसक्यो । हाम्रोतिर भीरमा अड्केको
अड्कियै छ ।’
गोरखाका उत्तरी सात गाविस जोड्ने बुढीगण्डकी माथिको क्यान्टिलिवर पुल
कोही बिरामी परे अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । ‘दुई सय रुपैयाँ लाग्ने उपचारका लागि दुई लाख खर्चिनुपर्छ,’ विहीका नवीन गुरुङ भन्छन्, ‘मर्नुभन्दा बौलाउनु निको मानेर लाखौं ऋण गरेर हेलिकप्टर बोलाउँछौं ।’ २४ साउनमा सुत्केरी लिएर काठमाडौं जाँदै गरेको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । यातायात अभावमा दुर्गमका बासिन्दा एक किलो नुनका लागि डेढ सय रुपैयाँ तिर्न बाध्य छन् । निमादोर्जे भन्छन्, ‘त्यही पनि चाहिएजति पाइँदैन ।’
तिब्बततर्फ ट्रयाक
चीन सरकारले सामागाउँको सीमासम्म सडक निर्माण गरिरहेको छ । सीमाको ३५ नम्बर पिलरसम्म गत वैशाखमा ट्रयाक खोलिएपछि ग्राभेल, पुल, कल्भर्ट र पर्खाल निर्माण धमाधम छ । नेपालतर्फ पनि ट्रयाक तयार भए वीरगन्ज नाका छोटो दूरीमा पर्छ, जसका कारण द्विपक्षीय व्यापार सहज हुनेछ । तिब्बती पठारको जोंगा जिल्लामा पर्ने कोङ्दाङ सहर गोर्खाको सामागाउँबाट नजिक पर्छ । सामागाउँसम्म सडक निर्माण गरिदिने प्रस्ताव चीनले यसअघि नै गरेको हो, सरकारले चासो दिएको छैन । ‘नेपाल सरकारलाई आफ्नो दुर्गम भेगको दुःखै थाहा छैन,’ लामा भन्छन् ।
डोजर घडेरीमा
पाँच वर्षदेखि सुरु छेकम्पारको नल्याङ भञ्ज्याङबाट चीन सीमा जोड्ने सडकको पनि १६ किमि मात्र ट्रयाक तयार भएको छ । गत आर्थिक वर्षमा विनियोजित तीन करोड रुपैयाँमध्ये एक करोड १० लाख काम हुन नसकेर फिर्ता गयो । जबकि, यस सडकलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । हेलिकप्टरबाट डोजरसमेत नपुयाइएको होइन । ठेकेदारले सडकको काम छाडेर व्यक्तिगत घडेरी खार्न र बारी सम्याउन डोजर प्रयोग गरिरहेका छन् ।
नेपालतर्फ पनि ट्रयाक तयार भए वीरगन्ज नाका छोटो दूरीमा पर्छ, जसका कारण व्यापार सहज हुनेछ।
‘अनि कसरी सडकको काम हुन्छ त,’ स्थानीय राजनीतिक परामर्श समितिका दोर्जे लामा भन्छन्, ‘हिउँदमा यसै काम नहुने भइहाल्यो । वर्षामा पनि कहिले मेसिन बिग्रिन्छ, कहिले इन्धन सकिन्छ । सानो पार्टपुर्जा बिग्रियो भने महिना दिनसम्म हेलिकप्टर पर्खिनुर्छ ।’ गत आवमा जम्मा चार किमि ट्रयाक मात्र खुल्यो । बारपाकदेखि नल्याङ भञ्ज्याङ एक सय ३० किमि टाढा पर्छ ।
‘म्हुगुम्बादेखि कलुङसम्मको सडक पहरोमा परेकाले धेरै गाह्रो छ,’ गोर्खास्थित सडक योजना कार्यालयका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्री भन्छन्, ‘त्यति सकिए बाँकी खन्न सजिलो छ ।’ तल्लो भेगको गुम्दादेखि माछाखोलासम्मको सडक पनि जोडिएको छैन । त्यस खण्डका लागि विनियोजित ९० लाखमध्ये २० लाख मात्र खर्च भएको छ ।