सबैका प्रिय थिए विष्णुभक्त ‘बा’

सबैका प्रिय थिए विष्णुभक्त ‘बा’

काठमाडौंः रंगमञ्चका पछिल्लो पुस्ताले उनलाई ‘विष्णुभक्त बा’ भन्थे । कलाकारितामा ठूलो उचाइ हासिल गरेका होइनन् तर एक कलाकार जसले साढे पाँच दशकसम्म निरन्तर रंगमञ्च यात्रा गरे । रंगमञ्चमै प्राण त्याग्ने चाहना भए पनि सोचेका थिएनन् होला यस्तो मरण । यति भव्य शवयात्राले आफूलाई बिदा गर्ला भन्ने उनलाई के थाहा ?

रंगमञ्चमा अभिनय गर्दागर्दै प्राण त्यागेका विष्णुभक्त फुयाँलको मंगलबार साँझ अन्त्येष्टि गरिएको छ । कलाकारदेखि राजनेताहरूले उनलाई श्रद्धाञ्जलि दिए । पूर्वप्रधानमन्त्री केपी ओली, नेताहरू प्रदीप ज्ञवाली, रामचन्द्र पौडेल, माधवप्रसाद नेपाललगायतका नेताले उनलाई श्रद्धाञ्जलि दिए । प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि दिइसकेपछि उनलाई पशुपति आर्यघाट पु¥याइएको थियो । फुयाँलले रंगकर्ममा सुनील पोखरेलबाट धेरै सिक्न पाएको बताउँथे । प्रिय दाजु फुयाँलको निधनपछि सुनीलको आँखा मंगलबार बेलुकासम्म ओभाएका थिएनन् ।

आर्यघाटमा ढलिरहेका फुयाँलको मृत शरीरको निधानमा चुम्बन गरेर सुनील हिँडिहाले । अलि वर आएर भने, ‘हेर्नै मन लागेन ।’ पाको मान्छे विष्णुले सुनीललाई ‘सर’ भनेर सम्बोधन गर्थे । तिहारमा सेलरोटी र अचार बोकेर सुनीलको घरमै पुग्थे । उनीहरूबीच व्यावसायिकभन्दा पारिवारिक सम्बन्ध थियो । असल कलाकारसँगै उनी असल मान्छे थिए । ‘मरेर गएको मान्छेलाई चाकडी गर्न भनेको होइन, उहाँ साँच्चै राम्रो मान्छे हो’, सुनील भन्छन्, ‘मैले उहाँसँग नाटक खेल्न पाएँ, यो मेरो भाग्य हो ।’

धेरैलाई मीठो सम्झना छोडेर बिदा भए । तीतो सत्यमा ‘योर माई लभ बा’को रूपमा चर्चा कमाएका फुयाँल दीपकराज गिरीका लागि उत्तिकै सम्मानीत थिए । यही टेलिचलचित्रबाट चर्चित भएपछि उनले दीपकलाई भन्ने गर्थे, ‘बाबु मलाई के बनाइदियौ तिमीहरूले बाटोमा निस्कनासाथ सबैले चिन्छन् ।’ सुटिङमा आउँदा उनले कहिल्यै कुनै कुराको माग गरेनन् । एक कप चिया पिउँथे, काम सकेर फर्कन्थे । ‘बिरामी भएर आउँदा पनि गीत बज्नासाथ फूर्तिका साथ ‘योर माई लभ’ भन्नुहुन्थ्यो’, दीपक सम्झन्छन् ।

विद्युतीय शवदाह गृहमा उनको अन्त्येष्टि गरियो । सांस्कृतिक संस्थानले प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलि सभा आयोजना गरेपछि आर्यघाटमा एमाले पार्टीले सभा आयोजना ग¥यो । उनका दुई छोराले उनको अन्त्येष्टि गरे । एक छोरा अमेरिकामा छन् । बुवालाई अनावश्यक संस्कार मन नपर्ने भएकाले छोराहरू १३ दिन किरिया नबस्ने भएका छन् । माहिला छोरा कमल फुयाँलले सात दिनमा काजकिरिया सक्ने बताए ।

सांस्कृतिक संस्थानले १३औं दिनमा श्रद्धाञ्जलि सभा आयोजना गर्ने जानकारी महाप्रबन्धक राजेश थापाले दिए । थापाले फुयाँलको स्मृतिग्रन्थ निकाल्ने तयारी सुरु गरिसकेका छन् । ‘याज्ञवल्क्य’ नाटकमा अभियन गर्दागर्दै निधन भएका फुुयाँललाई हृदयाघात भएको थियो । ७९ वर्षीय फुयाँलले दर्जनौं नाटक र टेलिचलचित्रमा अभिनय गरेका छन् । उनका दुईवटा नाट्यकृति प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.