संशोधन प्रस्ताव अघि बढाउने सरकार र मोर्चाबीच सहमति
काठमाडौंः सरकार र मधेसी मोर्चाबीच व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने सहमति भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा वालुवाटारमा बसेको बैठकमा सरकार र मोर्चाबीच यस्तो सहमति भएको हो ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताबीचको बैठकमा संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने निर्णय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ ।
वालुवाटारमा भएको बैठकमा संविधान संशोधन प्रस्तावबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक गतिरोध अन्त्य गर्न सकारात्मक भूमिका खेलेको निष्कर्षमा पुगेका छन् ।
बैठकले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई मधेशी मोर्चाले समर्थन गर्ने, सरकारले प्रस्ताव अघि बढाउन नेतृत्व लिने, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन बुझेर छिटै निर्वाचनको प्रक्रियामा अघि बढ्ने समझदारी भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, मधेशी मोर्चाका नेता महन्त ठाकुरलगायत शीर्ष नेता सहभागी थिए ।