डभ साइमन नेपाल आउने
काठमाडौं: हलिउड चलचित्र निर्माता डभ साइमनको कार्यशाला नेपालमा हुने भएको छ । यसअघि विश्वका ३४ देशमा यस्तो कार्यशाला सम्पन्न भइसकेको छ । डभको दुईदिने फिल्म स्कुल पछिल्ला दिनमा विश्वभरि नै चर्चामा छ ।
'द काठमाडौं स्कुल अफ सिनेमा' र अमेरिकी राजदूतावासको आयोजनामा काठमाडौंमा जनवरी २२-२३ तारिखमा उनले कार्यशाला गर्नेछन् । बिहीबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा उनले स्काइपमार्फत कुरा गर्दै नेपाली चलचित्र उद्योगको लागि एकदमै उत्साही भएको बताए । उनको कार्यशालामा चलचित्रको व्यावसायिकता मुख्य विषय हुनेछ । बजेटअनुसार चलचित्र बनाउने, चलचित्रबाट नाफा कमाउने विषयमा कार्यशालामा चर्चा हुनेछ ।
नेपालसँग राम्रो चलचित्रका लागि स्रोत भएर पनि विश्वबजारमा पुग्न नसकेको औंल्याउँदै उनले भने, 'लेट्स गो ग्लोबल' । लस एन्जलसमा डभको कार्यशालामा सहभागी भइसकेका चलचित्र निर्देशक नरेन्द्र मैनालीले नेपाली चलचित्रकर्मीका लागि यो प्रभावकारी हुने बताए ।
पर्यटन बोर्डमा आयोजना हुने कार्यशालामा 'स्क्रिन राइटिङ', 'सिनेम्याटोग्राफी', 'सुटिङ', 'फाइनान्सिङ', 'मार्केटिङ' लगायतका विषयमा छलफल हुनेछन् ।
चलचित्रलाई विश्वस्तरमा पुर्याउन कार्यशाला लाभदायक हुने उनको भनाइ छ । चलचित्रमा रुचि भएका जो कोहीले कार्यशालामा सहभागिता जनाउन सक्नेछन् । एक सय ५० जनालाई कार्यशालामा सहभागी गराइनेछ । सहभागी हुनका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सहभागिताका लागि दरबारमार्गमा राखिने अस्थायी कार्यालयबाट फारम भर्ने व्यवस्था छ ।
भिडियो हेर्नुहोस्