अभिषेकको फिल्ममा ऐश्वर्या 'अनफिट' !
अभिषेक बच्चन र ऐश्वर्या राय बलिउडमा रुचाइएको जोडी हो । उनीहरूले धेरै चलचित्रमा सँगै काम गरेका छन् । विवाह गर्नुभन्दा पहिला धेरै चलचित्र खेले पनि विवाहपछि भने 'रावण', 'सरकार राज'जस्ता चलचित्रमा उनीहरूले सँगै काम गरे । भर्खरै 'ये दिल हे मुस्किल'मा अभिनय गरेकी ऐश्वर्याले अब श्रीमान् अभिषेकका साथ काम गर्न उत्सुक भएको बताएकी छन् । तर, अभिषेकले भने ऐश्वर्यासँग चलचित्रमा काम गर्न नचाहेको बताएका छन् ।
अभिषेक चलचित्र 'लेफ्टी' बनाउने तर्खरमा छन् । आफ्नै होम प्रोडक्सनमा बन्ने चलचित्र भएकाले ऐश्वर्याले यसमा अभिनय गर्न चाहेको बताएकी छन् । तर, अभिषेकले लिड रोलका लागि भर्खरकी हिरोइन खोजिरहेका छन् । अभिषेकका अनुसार चलचित्रको रोलअनुसार ऐश्वर्याको उमेर बढी भयो भन्ने छ । उनी अलि म्याच्योर देखिन्छिन् । चलचित्रका लागि योङ स्टार चाहिएको उनको भनाइ छ । चलचित्रका निर्देशक प्रभुदेवा रहेका छन् ।
श्रीमान्ले सँगै चलचित्र गर्ने चाहना नदेखाए पनि उनीहरूले सँगसँगै गुरु, रावण, कुछ ना कहो, ढाई अक्षर प्रेमके, उमराव जानलगायत चलचित्रमा सँगै काम गरिसकेका छन् । चलचित्र रावणमा ऐश्वर्या र अभिषेकको जोडी दर्शकले खुब मन पराएका थिए । टोरन्टोमा भएको चलचित्र 'गुरु'को प्रिमियरपछि होटलको बाल्कोनीमा ऐश्वर्यालाई प्रेमप्रस्ताव राखेको र आफू त्यति बेला निकै नर्भस भएको एक अन्तर्वार्तामा अभिषेकले बताएका थिए ।
'मुटु धड्काउँदै ऐश्वर्यालाई प्रेमप्रस्ताव राखेको थिएँ, एक सेकेन्ड पनि नबित्दै ऐश्वर्याले प्रेम प्रस्ताव स्वीकारेकी थिइन्', उनले भनेका थिए । सन् २००७ मा विवाह गरेको यी दुई एक छोरीका अभिभावक हुन् । -एजेन्सी