दुई पुस्ता जोड्दै नेपथ्य
काठमाडौं: लामो समयदेखि फरकफरक पुस्ताका युवा ढुकढुकीलाई जोड्दै आएको नेपथ्य नयाँ कृतिसहित प्रस्तुत हुने भएको छ । शनिबार नयाँ वर्ष वर्षको स्वागतसहित लोकरक सांगीतिक लिएर नेपथ्य समूह काठमाडौंको टुँडिखेलमा प्रस्तुत हुन लागेको हो ।
काठमाडौं श्रोतालाई नेपथ्यले पहिलोपटक नयाँ कृति पस्किने भएको हो । नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तको विद्यार्थीकालीन भावनालाई नेपथ्यले वर्तमानका तन्नेरीमाझ घन्काउने भएको छ ।
‘कुरूप अनुहार हो, यहाँ कोही साथी छैन
बेरूप अनुहार हो, यहाँ कोही साथी छैन’
स्नातकोत्तरको अध्ययन गर्न २०३९ सालमा सरुभक्त कीर्तिपुर आउँदाखेरि यो गीत तयार भएको थियो । ‘गीत त मैले पोखरा छाड्नै लाग्दा लेखेको थिएँ,’ उनले भने, ‘काठमाडौं आएपछि यसले संगीत पनि पायो ।’ त्यसबेलाका तरुणका वेदनालाई दुई लाइनमा अभिव्यक्त गरेको उनले बताए । सरुभक्तका अनुसार संसारमा एक्लै फ्याँकिएकाहरूको जीवनगाथा यो गीतमा समेटिएको छ ।
‘समाजबाट अस्वीकृत वा समाजबाट प्रताडितका निम्ति जीवनमा सबैभन्दा चाहिने कुरा प्रेम नै हो’, सरुभक्तले भने, ‘निराशावादी चिन्तनबाट व्यक्त भएको त्यही प्रेम यो गीत अटाएको छु ।’ बाल्यकालदेखिकै साथी विक्रम गुरुङले संगीत गरिदिएको गीत जुन मुडमा लेखिएको थियो गाउँदा त्यही मुड थप मुखरित भएको सरुभक्त बताउँछन् ।
पाँच कक्षादेखि सँगै पढेका विक्रम र सरुभक्त त्यो ताका कीर्तिपुरको नयाँबजारमा एउटै कोठामा बसिरहेका थिए । त्यतिबेलै अरुण थापाको संगत गरेका विक्रमले ‘आँखाको निद खोसी लाने’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’ र ‘कतै टाढा तिमीबाट पुगेँभने म’ बोलका गीतहरू दिएका थिए । सरुभक्त र विक्रम गुरुङको त्यही मित्रताको प्रतिफल यो गीत बन्यो । २०३४ सालमा उनीहरूलगायत मिलेर पोखरेली युवा सांस्कृतिक परिवार स्थापना गरेका थिए ।
पढाइ सकेर कीर्तिपुरबाट फर्केपछि पनि विक्रमले पोखराका कार्यक्रमहरूमा आफैंले धेरैपटक यो गीत गाएको सम्झना गर्छन् । ‘खुद गीतकार, संगीतकार र गायकसमेत रहेका विक्रमले आफ्ना गीतहरू अन्य गायकगायिकालाई दिए पनि यो चाहिँ खै किन आफैँ गाउँथे’, सरुभक्त भन्छन्, ‘एक किसिमको आत्मीयता यसमा देखाएको थियो ।’ अहिलेको जस्तो अवस्था नभएकाले यो गीत त्यत्तिकै थन्किएर बसेको थियो ।
आफैंले पनि बिर्सन लागेको तन्नेरी क्षणको गीतलाई नेपथ्यले छनोट गरेर पुनर्जागरण गराइदिएकोमा सरुभक्त कृतज्ञता व्यक्त गर्छन् । ‘अब नयाँ पुस्ताले यसलाई कसरी लिन्छन् जिज्ञासा छ’, शनिबार टुँडिखेलमा आफू पनि उपस्थित हुने जानकारी दिँदै सरुभक्त भन्छन्, ‘चालीसको दशकका तन्नेरीको तर्फबाट सत्तरीका दशकका तन्नेरीलाई यो कोसेली हो ।’
कुनैबेला उपन्यास ‘पागलबस्ती’ लेख्दा अनौठो मान्ने पाठकहरू पछि त्यसैले मदन पुरस्कार पाएपछि चाँसो राख्न थालेको अनुभव उनको छ । धेरै कृतिहरूले उपयुक्त समय तत्काल नपाएर पर्खनुपरेको र यो गीतको नियति पनि त्यस्तै भइदियो उनलाई लाग्छ । ‘कुरूप अनुहार हो र बेरूप अनुहार हो गरेर केवल दुईवटा स्थायी भएकाले यो गीतमा संगीत भर्न अलिक अप्ठेरै परेको थियो’, गीतका संगीतकार विक्रम गुरुङ भन्छन्, ‘सरुभक्त स्वयंलाई गुनगुनाउन लगाएपछि त्यसैलाई आधार बनाएर उतिबेला प्रारम्भिक ट्युनिङ गरेको थिएँ ।’
नेपाल आएको बेला बढीजसो संगत नेपथ्यका गायक अमृत गुरुङसँगै हुने गरेकाले जमघटमा एकाधपटक गाएको यो गीत अब नेपथ्यको आवाजमा आउन लागेकोमा विक्रमले खुसी व्यक्त गरे । ‘अमृतले नेपथ्यको आफ्नै शैलीमा यस गीतलाई ढाल्न खोजेका छन्’, उनले भने । एकताका हङकङमा रेकर्ड भएको यो गीतलाई आफूले २० वर्षअघि सुनेको गायक अमृतले बताए ।
‘सात वर्षअघि आफैं गाउँछु भनेर विक्रम दाइसँग अनुमति लिएँ’, उनले थपे, ‘यसको अभिव्यक्ति अलिक साइकेडेलिक र अमूर्त भएका कारण थप काम गरेर नेपथ्यले प्रस्तुत गर्न लागेको हो ।’ सरुभक्तको रचनामा यसअघि पनि नेपथ्यले ‘खान्न म त लामपाते सुरती’, ‘यानीमाया’ र ‘सरुमा रानीको आँसुको कसम’ गाइसकेको छ ।
‘पल्सर डेयर भेन्चर ग्रान्ड फिनाले’कै अवसरमा आयोजित कन्सर्टमा नेपथ्यले पहिलोपटक टुँडिखेलमा यो गीत गाउँदैछ ।