युद्धको दौंतरी कवि

युद्धको दौंतरी कवि

कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले भर्खरै सम्पन्न गरेको '२६औं राष्ट्रिय कविता महोत्सव'मा मध्यपश्चिमाञ्चल रोल्पाका एक तन्नेरी कवि विष्णु सन्न्यासले बाजी मारे । देशभरिबाट आएका दुई सय हाराहारीमा प्राप्त कविताबाट उत्कृष्ट २० हुँदै उनले स्वर्ण पदक जितेका हुन् ।

आजका धेरै मानिस अमूर्त ईश्वरलाई श्रद्धा गर्ने बहानामा जीवित मानिसप्रतिको अनुदार चरित्रले मानवता नै धराशयी अवस्थामा पुगिसकेको छ भन्ने बडो शक्तिशाली कथ्य, शिल्प र शैलीसहितको 'आन्दोलनमा ईश्वरहरू' शीर्षकको कविता थियो त्यो । विष्णुको सफलतामा विष्णु आफैं त खुसी हुने नै भए, उनको उपलब्धिमा निकटका साथीभाइ पनि खुसी भए नै । तर, त्योभन्दा अहं कुरो सिंगो रोल्पाको साहित्यले विष्णुको खुसीमा खुसी साट्यो ।

धरानबाट रोल्पा पुगेको विष्णुलाई त्यहाँस्थित सिंगो मध्यमाञ्चल वाङ्मयको प्रतिनिधित्व गर्ने जेठो संस्था राप्ती साहित्य परिषद् रोल्पा शाखा, ललित साहित्य परिषद् रोल्पालगायत अन्य थुप्रै संघसंस्थाले उनको बधाई कार्यक्रम राखेर खुसी सेलिब्रेसन गरेको सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा देखिए । एउटा कवि प्रतियोगितामा पुरस्कृत हँदै गर्दा सिंगो कविको जिल्ला खुसी भएको मैले देखेको छैन भने पनि हुन्छ । आज तिनै कवि विष्णु सन्न्यास, जसको कविताकर्म र आफ्नो लघु जिन्दगीमा बेहोरेका दुखमसुखमका अनुभवहरू बाँड्न चाहन्छु म ।
०००
तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्दा विष्णु सन्न्यास बच्चै थियो । विष्णुकै जिल्ला रोल्पाबाट सुरु भएको युद्ध पटकपटक गरी १० वर्ष निरन्तर रह्यो । विष्णुले प्राथमिक शिक्षाको सुरुआत गर्दा माओवादीले युद्धको प्रारम्भ गर्दै थियो । विष्णुले स्कुले शिक्षा पूरा गर्दै गर्दा माओवादीले पनि आफ्नो युद्धको कोर्स सक्दै थियो । इन्डियन आर्मी हजुरबाको पेन्सनपट्टा बोकेर १० वर्षे युद्धमा गएका विष्णुका बाबा दुस्मनले प्रहार गरेका कैयौं गोलीबाट बच्दै घर फिर्दै थियो ।

जेल्बाङ एउटै गाउँबाट विष्णुकै बाबाले जस्तो युद्धलाई काँधमा बोकेर गएकाहरू ७४ जना सहिदको सूचीमा आआफ्नै नाम लेखाउँदै थियो । झरीबादल, घामपानी, नभनी उबेलाको शाही नेपाली सेनाको यातनाबाट बच्न जंगलजंगल बस्नुपर्ने दिनहरूबाट मुक्तिको श्वास फेर्दै थिए बाँचेकाहरू । यी र यस्ता कैयौं युद्धका घाउहरू सहँदै विष्णुले स्कुले जीवन छिचोले । आफ्नो बाल्यकालीन उमेर छिचोले । युद्धलाई नजिकबाट नियाले, भोगे र युद्धसँगै हुर्किए । यही १० वर्षे युद्धपछि, युद्ध सकेर माओवादीहरू थानकोट उक्लेर सिंहदरबार छिरे । विष्णु भने जेल्बाङ छोडेर अनेक सपनाहरूको कुम्लो बोकेर माडी नदी तर्दै सदरमुकाम लिबाङ छिरे ।
०००
लिबाङ बसाइको सुरुका दिनमा ज्यादै बिन्दासको जिन्दगी बिताए विष्णुले । कलेज जाने, क्यारेमबोर्ड खेल्ने, प्रेमपत्र लेख्ने र यस्तै अरू केहीले विष्णुलाई लिवाङको पहिलो वर्षले छोडिसकेको थियो पत्तै नदिई । विष्णुको बिन्दासपनसँग बाबा पनि उति खुसी थिएनन् । जब घरबाट विष्णुका लागि आउने रकम कटौती हुँदै गयो, विष्णुलाई लाग्यो- अब आफैंले केही नगरी सुख छैन ।

योग्यता र अनुभवका नाममा युद्धको घाउ नै घाउमात्रै भएको विष्णुसँग अनुभव अप्लाई गर्ने कुनै त्यस्तो कम्पनी थिएन, जसले उसलाई जागिर देओस् । तर, विष्णुले आउने दिनहरूसित हार्न मानेनन् । उनले गाउमै छँदा सुनेका थिए, 'कम्प्युटर जानेको मान्छेले चाँडै जागिर पाउँछ ।' विष्णुले दायाँबायाँ केही नसोची लिवाङकै एक कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर कक्षा लिन थाले र आफूलाई परिस्कृत गर्दै लगे । पछि त्यही कम्प्युटर शिक्षाको औंला समाएर सानोतिनो काम पाउन थाले ।

जसले विष्णुको न्यूनतम आवश्यकताहरूको पूर्ति हुन थाल्यो । आफ्नै श्रम र सीपको आडले ११÷१२ को पढाइ सके । पहिलेजस्तो क्यारेमबोर्ड खेल्न छाडेर बक्सिङ खेल्न थाले । दिनदिनको मेहनतले छोटो समयमा विष्णुले राम्रो प्रगति गर्दै गए । ०६६ सालमा काठमाडौंमा भएको 'नेसनल बक्सिङ च्याम्पियनसिप'का लागि विष्णुले जुनियर समूहमा रहेर मध्यपश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेका थिए । तर, आफूभन्दा झन्डै दोब्बर उचाइ भएका जुम्लेली नवीन श्रेष्ठले टाउको माथिदेखि ओरालो हानेर भुइँमै टँसाइदिएपछि विष्णुको बक्सिङ यात्रा पनि त्यतै कतै किनारामा धकेलियो ।
०००
मुस्किलले पाँच फुट उकालो लागेको उचाइ, पूरापूरा मंगोल अनुहार, शुद्ध पश्चिमे मगरको लवज र चञ्चल स्वभावका विष्णुलाई पछिल्लो समय भेट्दा लागेको थियो- बिन्दास छ विष्णु । संसारकै खुसी मानिसहरूको सूचीमा अट्नसक्छ उसको नाम । उसको स्वभावले नै त्यही भन्छ ।

हजार हन्डर खाएपछि, सपनालाई आफैंले पुरेपछि पनि ऊ बाँच्यो । मरेन । एउटै कारणले ऊ जीवनतिर फर्कियो । त्यो एउटा कारणको नाम थियो- कविता ।

उसको बिन्दासपनसँग रम्दैरम्दै, गएको साउनको दुई दिन रोल्पा लिबाङका गल्लीहरू नापीहिँड्ने क्रममा पो थाहा पाएँ, त्यति कलिलो उमेरमै जिन्दगीका कठिन उकालाहरू छिचोलिसकेका विष्णुको बिन्दासपनको रहस्य । आफ्नै आमाले दिएको लयमा विष्णु भन्थे, 'डाइ ! हिजोआज ट मलाई सामान्य पीडाले डोज नै पुग्दैन । टेई भएर डुखी हुन्न म ।' हुन पनि हो, एउटा १७÷१८ वर्षको किशोरले बेहोरेको पीडाको फेहरिस्त अढाई तीनघन्टे रिलमा देखाइने कुनै कथाभन्दा कम लाग्दैन ।

रोल्पाको लिवाङबाट शिक्षाशास्त्रमा प्रवीणता प्रमाणपत्र सकेर दाङ झर्दा विष्णुसँगै झरेकी थिइन् जेल्बाङकै मगर थरकी एक कन्या । असाध्यै राम्री । कन्याकी बाबाले कान्छी आमा बिहे गरेदेखि उनीहरू एक्लो भएका थिए । दाङमा आमाछोरी सँगै बस्न थाले विष्णुकै फ्ल्याटमा । बस्ने खाने, स्कुल जाने सबैको व्यवस्थापन उनले नै गरिदिएका थिए । विष्णु भने स्नातक पढ्दै, कविता लेख्दै, दाङमा कम्प्युटर इन्स्टिच्युट र साइबर सेवा सञ्चालन गर्न थाले ।

आम्दानी राम्रै हुने । दाङमै झरेदेखि हो विष्णुले कलेजमा कविताका सारथिहरू नवीन अभिलासी र घनश्याम अस्तित्वलाई भेटेको । यी तीन भाइ भएर कविताको एउटा अभियान नै सुरु गरे । उनीहरूले यस अभियानलाई कलेज कविता अभियान नाम दिएका थिए । यस अभियानमार्फत उनीहरू दाङ, प्यूठान र रोल्पाका गाउँगाउँका स्कुल कलेजहरूमा कविताको कार्यक्रम लिएर जान्थे । कविता वाचन र बहस गराउँथे । यो अभियानले कविता लेखनमा उनीहरूलाई त राहत भयो नै, सँगै अरू धेरै कविताका पारखीहरू जोडिन आए । उनीहरूलाई पछ्याउँदै कविता लेखनतिर लागे ।

०००
विष्णुलाई पत्तै भएन । कति सजिलै गरी बितेर गए दाङ बसाइका ती दिन ? तीनवर्षे कलेजका दिनहरू सकिसकेछन् । कक्षा ८ मा पढ्दै गरेकी विष्णुकी प्रेमिकाले १० कक्षाको अन्तिम परीक्षा भ्याइसकिछन् । तीन वर्षको लिभिङ टुगेदरले उनीहरू एउटै भइसकेका थिए । तीन÷तीन वर्षे साथसाथको बसाइपछि विष्णुले विवाह गर्ने निर्णय गरे । कन्याकी आमाले उनीहरूको सम्बन्धबारे भलिभाती थाहा पाइसकेकी थिइन् । त्यो सम्बन्धलाई नकार्नुपर्ने त्यस्तो कुनै कारण पनि थिएन । मात्र वैधानिकता आवश्यक थियो ।

अन्ततः संसारकै सबैभन्दा राम्री लाग्ने प्रेमिकालाई विष्णुले आफ्नो नाम दिएरै छाडे । अर्थात् उनीहरूले बिहे गरे । बिहेपछिको एक महिना उनीहरू सँगै रहे । अर्को एक महिनापछि एसएलसी दिएर बसेकी विष्णुकी श्रीमती उत्तीर्ण भएको खबर आयो । विष्णु आफैंले सञ्चालन गरेको साइबर क्याफेको इन्टरनेटले त्यो खबर दिएको थियो । सम्भवतः यही खबरपछि विष्णुले सञ्चालन गरेको त्यो साइबर क्याफेसित उसको नाता टुट्यो । विस्तारै विष्णुको जिन्दगीको टुट्ने क्रम यही साइबर क्याफेबाट सुरु भएर गयो ।

जेल्बाङमा मोबाइल चल्दैन, टेलिफोन चल्दैन, इन्टरनेट केही पनि चल्दैन । चल्छ त केवल हावा, हुरी र बतास । त्यही हावाका झोक्काहरूसँग विष्णु सन्न्यासहरू श्वास फेर्छन् ।

२०६९ को बर्खे झरीमा विष्णुले दाङ छोड्ने निर्णय गरे । श्रीमतीलाई कलेज भर्ना गराएर विष्णु भने आफैंले अक्षर छिचोलिहिँडेको गाउँको स्कुलमा कम्प्युटरको मास्टर भएर फर्के । विष्णु आफ्नो मास्टरी करिअरसँगै अनेक सपना बोकेर गाउँ फर्किएका थिए । पाँच वर्षअघि आफैंले कम्प्युटर शिक्षा लिएर आत्मनिर्भरताको दैलो उघारेका उनले कम्प्युटर शिक्षाको महत्त्व बुझिसकेका थिए ।

स्कुलमा कम्प्युटर पढ्नबाट वञ्चितहरूका लागि भनेर विष्णु गाउँमा छुट्टै कम्प्युटर स्कुल सञ्चालन गर्ने व्यवस्थामा थिए । यसका लागि गाउँकै एक वित्तीय संस्थाबाट ऋण लिएर आवश्यक पर्ने ल्यापटप, डेस्कटप र सोलार प्यानलको बन्दोबस्त गरिसकेका थिए । कक्षाकोठाको साजसज्जा गर्दै थिए । र सोच्दैथिए- यो कम्प्युटर स्कुलको प्रमुख मान्छे दाङमै छोडिएकी संसारकै सबैभन्दा राम्री लाग्ने उनैको जीवनसंगी हुनेछिन् ।
०००
विष्णुको गाउँ जेल्बाङमा कुनै किसिमको जरुरी खबर पुर्‍याउन परे अहिले पनि समस्या छ । त्यहाँ मोबाइल चल्दैन, टेलिफोन चल्दैन, इन्टरनेट केही पनि चल्दैन । चल्छ त केवल हावा, हुरी र बतास । त्यही हावाका झोक्काहरूसँग विष्णु सन्न्यासहरू श्वास फेर्छन् । त्यही श्वासको लयमा उनीहरूका पाइलाहरू चल्छन् र बाँच्नका लागि श्रमका हिमालहरू चढ्छन् । उनीहरू वर्षौंवर्षदेखि यसरी नै बाँचिरहन अभिशप्त छन् ।

माओवादीले १० वर्षे गृहयुद्ध सुरु गर्दा जेल्बाङजस्तै विकट भूगोल र विष्णु सन्न्यासहरूजस्तै सीमान्तमा पारिएका मानिसहरूको सपनालाई हतियारका रूपमा अघि सारेका थिए । युद्धपछि पटकपटक माओवादीहरू सत्तामा पुगे, महत्त्वपूर्ण मन्त्रालयहरू सम्हाले । तर, युद्धमा सबैभन्दा बेसी सहिद र बेपत्ता भएको जेल्बाङ भने उस्तै छ आज पनि ।

त्यही नफेरिएको जेल्बाङको नियतिमा करिब दुईमहिने उकाला दिनहरू गाउँबाहेक सबैसँग बेखबर बाँचे विष्णुले । यतिसम्म कि भर्खरै वैवाहिक बन्धनमा बाँधिएका आफ्नै मायालुसँग पनि बेखबर बाँचे । मात्रै भोलिका सपनाहरू सजाउँदै दैनिकीहरूमा घोत्लिइरहे । जब आफैंले पढाउने स्कुलको भित्तामा झुन्डिएको क्यालेन्डरमा दसैं छुट्टीको राता थोप्लाहरूको दिन सुरु भयो, बाटैभरि आफ्नै पाइतालाले थोप्लोहरू बनाउँदै दौडिए संसारको सबैभन्दा राम्री लाग्ने प्रियसी भेट्न ।

०००
ज्यादै उत्साहका साथ उनी दाङ पुगे । तीन वर्षभन्दा बेसी ओहोरदोहोर गरेका गल्लीहरू त्यहीँ थिए । त्यहाँका घरहरू पनि सब ठीकठाक थिए । आफू बस्दै आएको घर पनि पहिलेजस्तै ठीक ठाउँमा थियो । कोठा, चोटा, सब ठीकठाक थियो । र्‍याकमा भएका कविताका किताबहरू दुरुस्तै थिए । सबकासब ठीकठीक ठाउँमै थिए । मात्र एक थोक थिएन त्यहाँ । उनलाई संसारमै सबभन्दा राम्री लाग्ने प्रिय मानिस थिएन । उनले न कसैलाई सोध्न सके, न कसैले भन्न नै सक्यो कि विष्णुको प्रिय मान्छे कहाँ छ ?

आमा त थिइन् तर आफैं पीरहरूले थिचिएकी । साथीसंगी थिए तर उनीहरू आफैं थिए हतास । एक दिन, दुई दिन गर्दै हप्ता बिते, दसौं दिन बिते । तर, आफ्नो मान्छे भेटिने कतै केही लक्षण देखिएन । अन्ततः विष्णुले प्रिय मानिस हराएको बेहोरासहित जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिए । फेरि त्यसरी नै दिन बिते, हप्ता बिते, दसौं दिन बिते तर उनको प्रिय मानिस केही गरी भेटिएन । पीडा, छटपटी र हतासले विष्णु आफैं सकिन लागेपछि एउटा अन्तिम जुक्ति निकाले उनले ।

जिल्ला प्रहरी कार्यालयका एक पुनमगर थरकै डीएसपीलाई ७० हजार रुपैयाँको बिटो पछारिदिए । त्यही ७० हजार रुपैयाँ फालेको करिब आधा घन्टाको बीचमा विष्णुको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । त्यो फोन अरू कसैको नभएर उही डीएसपीको फोन थियो । बडो नाटकीय ढंगबाट केटी भेटिएको खबर थियो त्यो फोनमा । खुसी र विस्मात्ले भरिएको मन बोकेर जिल्ला प्रहरी कार्यालय दाङको आँगन टेक्दा केटी झोक्राएर एउटा कुनोमा बसिरहेकी थिइन् । अर्कोतिर विष्णुलाई तिनै डीएसपीले धम्की र निर्देशनको ठाडो भाषामा भने- प्रहरीसित कुनै पनि किसिमको सवालजवाफ गर्ने होइन ।

त्यसो गरेमा बालविवाहअन्तर्गत मुद्दा दर्ता गर्दिन्छु भनेपछि विष्णुले चुपचाप एउटा गाडीको बन्दोबस्त गरे । केटीलाई गाडीमा हाले र सीधै हिँडे आफ्नै जिन्दगीजस्तो अक्कर र घुम्ती भएर जाने रोल्पाको उकालो बाटो ।
०००
घर पुग्दा ०६९ को तिहार मुखैमा आइसकेको थियो । एक दिन घर बसेर ससुराली र माइती गए लोग्नेस्वास्नी दुवैजना । ससुराल गएको तेस्रो दिन अचानक ओछ्यानबाटै हराई विष्णुको संसार । रातको ११ बजे बिउँझँदा खाली ओछ्यानमात्रै थियो । मध्यरातमा विष्णुले हल्ला गरे, 'भर्खरै आफ्नो दुनियाँ फेरि बेपत्ता भयो ।' यताउता खोजी गर्दासमेत नभेटिएपछि एउटा धिपधिप बल्ले लाइट बोकेर अर्धनिद्रामै घर छाडे उनले ।

जेल्बाङदेखि माडी सुलीचौरसम्मको बाटो आफैंमा साँघुरो र अप्ठ्यारो छँदैथियो, अझ मध्यरातको समय कस्तो थियो होला ? त्यो विष्णुलाई मात्र थाहा छ । हराएको मान्छेको खोजीमा मध्यरातको बाटो हिँड्दाहिँड्दै पूर्व उज्यालो भइसकेको थियो । माडी खोला तरेर रोल्पाको सुलीचौर बजार आइपुग्दासमेत मान्छे नभेटिएपछि निराशाले भरिएको मन, अँध्यारामा ठोक्किएर रगतपच्छे भएका खुट्टाका औंलाहरू र रातभरिको थकाइले लखतरान शरीर लिएर घर फर्किए विष्णु । तर, चैनले कहाँ बस्न सक्नु ?

आफ्नै आमाले दिएको लयमा विष्णु भन्थे, 'डाई ! हिजोआज ट मलाई सामान्य पीडाले डोज नै पुग्दैन । टेई भएर डुखी हुन्न म ।'

पूरै गाउँका मानिस उठाएर भीरपाखा, जंगल, खोलानाला सबसब चाहारे । सास नभेटिए पनि लास भेटिएला भनेर कैयौं दिन छाँगाछहरा र खोलाका बगरहरूमा खोजिरहे । तर न सास भेटियो न लास, भेटियो त केवल उसैले दिएको पीडा, सास्ती, हैरानी र यादहरूमात्रै । दिनहरू भाग्दैभाग्दै जान थाले । अझैसम्म केही आशा बाँकी नै थिए विष्णुसँग । हराएको मानिस भेटिएला कि भन्ने केही शेषहरू भने बाँकी नै थिए ।

पन्ध्र दिनपछि अकस्मात् केटीकी आमाले फोन गरिन् । ग्लानि र पश्चात्तापले जेलिएको आवाज लिएर भनिन्, 'छोरी अर्कैसित हिँडी ।'
०००
विष्णुका सारा सपना माडी नदीसँगै बगेर गए । पहिलोपटक बिल्कुल सपनाविहीन बने उनी । कति दिन र रात एउटै भएर बिते । मृत्युको नजिक नजिक पुगे । बाँच्नुको अर्थ आफूसामु नहुँदा उनी मृत्युको सँघारमा पुगे पनि । जसका लागि कम्प्युटर स्कुल खोल्ने अन्तिम तयारीमा जुटेका थिए, आज उही नभएपछि जोडजाम गरेको कम्प्युटरका सम्पूर्ण सामग्री टुक्राटुक्रा बनाए ।

सोलार प्यानल, ल्यापटप, डेक्सटपलगायत डेकोरेसनका सम्पूर्ण सामग्री फुटाए, केही जलाए । बाँकी थियो त गाउँको सहकारीबाट लिएको साढे तीन लाख रुपैयाँ ऋण । चार वर्षपछि पछिल्लो समय भेटिँदा पनि विष्णु भनिरहेको थियो, 'डाइ ! उबेला लिएको ऋण अझै पन्ध्र हजार टिर्न बाँकी नै छ । अब आउने चौमासिक स्यालरीले टिरिदिन्छु ।'
०००
हजार हन्डर खाएपछि, सपनालाई आफैंले पुरेपछि पनि ऊ बाँच्यो । मरेन । एउटै कारणले ऊ जीवनतिर फर्कियो । त्यो एउटा कारणको नाम थियो- कविता । र, विष्णुलाई आजसम्म बाँच्न प्रेरित गरिरहेको छ भने त्यो कविताले नै हो । फुटाउन, जलाउन सबै सकिसकेपछि कोठामा बाँचेको एउटा बाकस थियो ऊसँग । त्यही एउटा बाकससमेत फुटाइछाड्यो ।

सायद विष्णुको जीवनका लागि बाकस फुट्नैपथ्र्यो । बाकस फुट्यो र ऊ मृत्युको नजिक पुगेर फर्कियो । बाकसमा विष्णुले कविता लेख्न रहर गर्दागर्दै रहरले नै प्रकाशन गरेका पुस्तकहरूको केही प्रति लुकाएर राखेका थिए । बाबाले विष्णुले लेखेको पटक्कै मन पराउँदैनथे । त्यसैले बाबाको आँखा नपरोस् भनेर विष्णुले ती पुस्तकहरू बाकसमा लुकाएर राखेका थिए । अन्ततः बाबाको डरले लुकाएर राखेका त्यही आफ्नै कविताका किताबले जीवनतिरै फर्कायो उनलाई । ती पुस्तकहरू भेटिएपछि नै आफ्नो कलेज कविता अभियानका सारथिहरू नवीन र घनश्यामहरूलाई बेस्सरी सम्झे विष्णुले ।

कलेज पढ्दा कविताका लागि गरेका दुःखहरू सम्झिए र फेरि कवितातिरै फर्किए । विष्णुको दुःखमा नवीन अभिलाषीहरूले दिएको ढाडसले पनि ऊ फर्कियो जिन्दगीतिर, कवितातिर । विष्णुले त्यही ट्रेजेडीलाई नै आफ्नो लेखनको आदर्श मानेर कविताकर्म गरिरहेको छ अहिले । ट्रेजेडी उनको कविताको आदर्श भए पनि मृत्युलाई बल दिने प्रकृतिका कविताहरू उनको रोजाइमा पर्दैनन् ।

विराट् दुःखहरूबाट पनि जीवनतिरै फर्केर कसरी आशाका गीत गाएर जिन्दगीलाई प्रेम गर्न सकिन्छ भन्ने उनको कविताका मूल स्वरहरू हुन् । जीवनको उपल्लो छेउबाट फर्किएर आशा र प्रेमको कविता लेखिरहने विष्णुको एउटा कविताको एउटा अंश राखेर छुट्छु-

'ओ भान्जी-
आइपुग्नेछु म एक दिन
फाँटहरूले बनेको त्यो हजुरको गाउँ
हिँडेर यो भीरैभीरको बाटो
आउँदा लिइआउनेछु
पखेटामा इन्द्रेणी बोकेर उडिहिँड्ने
पुतलीको एक पंक्ति गीत
र साथमा हजुरलाई नै भनी लिई आउनेछु
बटोको सिरानीमा मुस्कान बेचिबस्ने
भीरफूलको एक थुंगा आलो अनुहार ।'
(भान्जीको गाउँ र भीरको बाटो)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.