कथा-पीडित

कथा-पीडित

तीन दिनदेखि लगातार परेको झरीले खहरेहरू उर्लिन थालेका थिए भने नदीहरू किनार नाघेर गाउँ पस्न थालेका थिए । सिरानडाँडाको फेदैमा रहेको बाह्रघरे गाउँका बाह्रैवटा घरलाई पहिरोले सोत्तर बनायो । डाँडामाथिबाट ढुंगा र हिलोमाटो बग्न थालेपछि पहिरो आउन लाग्यो भन्दै गाउँले सबै घर छोडेर भागेकाले ठूलो मानवीय क्षति हुन पाएन । तर घर भने एउटै पनि सग्लो रहेनन् । दिउँसोपख टिलिक्क टल्कने जस्तापाताले छाएका घरहरू अकस्मात् बिलाइसकेका थिए । गाउँ नै पहिरोमा हराइसकेको थिया । त्यो बाह्रघरे गाउँ कतै थिएन । हिजोसम्मको त्यो सुन्दर सिरानडाँडाको बाह्रघरे गाउँलाई पहिरोले पुरिसकेको थियो ।

पहिरोले गाउँ पुरेपछि मान्छेहरूको बिल्लीबाँठ भयो । डाँडामाथिबाट झरेको पहिरोले चिटिक्क परेका बाह्र घरलाई बगाउँदै बगाउँदै तल बेसीसम्मै पुर्‍यायो । घरका सामानहरू भने पहिरोले बाटोभरि छोड्दै गयो । घरका इँटा, ढुंगा, काठपात र जस्तापाता अनि मान्छेले प्रयोग गर्ने लुगाफाटा, भाँडावर्तन, फर्निचर र केटाकेटीका कापीकिताबहरू कुनै आधा पुरिएका र कुनै आधा छुट्टिएका अवस्थामा थिए । केटाकेटीहरू आफ्ना पुरिएका कापीकिताब हेर्दै कोही रोइरहेका र कोही भने टोलाइरहेका थिए ।

एउटी सानी नानी भन्दै थिइन्, 'अब के लिएर स्कुल जाने ? ' उसलाई घर नभएकोमा भन्दा स्कुल जाने कापीकिताब नभएकोमा चिन्ता थियो । त्यो उसको उमेरजन्य चिन्ता थियो । पाका मान्छेहरू चाहिँ पहिरोले असरल्ल पारेको आफ्नो घरको अवशेष हेरेर कोही रोइरहेका र कोही चाहिँ रुन पनि नसकेर टोलाइरहेका थिए । गाउँकै अलिकति जान्नेबुझ्ने माइला तामाङ पनि थाप्लामा हात राखेर टोलाइरहेका थिए । उनकै छिमेकी ठूली मोक्तान छाती पिट्दै रोइरहेकी थिइन्, 'भूकम्पले पनि हामीलाई हल्लाउने, पहिरोले पनि हामीलाई नै पुर्ने । हामीले के पाप गरेका थियौं र दैवले हामीलाई नै यसरी पिरेका ? ' उनको विलाप सुनेर मान्छेहरू आँखामा आँसु टिलपिल पार्दै उनलाई हेरिरहेका थिए ।

पल्लो गाउँको प्राइमरी स्कुलमा मास्टरी गर्ने वीरध्वज लामा ठूलीलाई सम्झाउँदै थिए, 'नरुनुस् आमै, जे हुनु भइसक्यो । अब रोएर केही हुँदैन ।' तर ठूली मोक्तान के सम्हालिन्थिन् र ! उनी झन् डाँको छोडेर रुन थालिन् । त्यसपछि अरू पनि सुँक्कसुँक्क गर्दै रुनथाले ।

मास्टरले फेरि सबैलाई सम्झाउँदै भने, 'अब यसरी रोएर र पीर मानेरमात्रै हुँदैन । बरु हामी सबै मिलेर केही गर्नुपर्छ । सहयोगका लागि सरकारलाई गुहार्नुपर्छ ।'

त्यसपछि भने केही पाका मान्छेहरूले सुँकसुँकाउन छोडे । सल्लाहका लागि एकअर्कोको मुख हेर्नथाले । बाह्रघरेवासीसँग रुनुसिवाय अरू उपाय बाँकी थिएन । केही छिन अघिसम्म उनीहरूको आफ्नै घर थियो, बारी थियो, अन्न थियो र परिवार थियो । अब परिवार त बाँकी नै छ, तर घर छैन, बारी छैन र एक गेडा अन्न पनि छैन । अब कहाँ बस्ने र के खाने भन्ने पीरले सबैलाई सताएको थियो । यही पीरले पाका मान्छे रोइरहेका थिए । साना केटाकेटी चाहिँ डरले रोइरहेका थिए । त्यसैले बाह्रघरे गाउँमा रुवावासी नै चलिरहेको थियो ।

भाग्न नसक्ने एक जोडी वृद्धवृद्धालाई पहिरोले दपेटेछ । ७५ कटेका हर्कध्वज तामाङ र उनकी जहानलाई पहिरोले पुरेछ । गाउँले र जिल्ला दैवीप्रकोप उद्धार समिति र रेडक्रसका उद्धारकर्मीले पहिरो पन्छाएर दुवैको लास झिकिदिए । गाउँलेहरू लास हेरेर टोलाइरहेका थिए । मृतकका दुइटै छोराहरू कतारमा छन् । छोराहरू नआई लास कसरी उठाउने भनेर छलफल हुँदै थियो । कतारबाट छोराहरूले कमाएर पठाएपछि पक्की घर बनाउने र छोराहरूको बिहे गरिदिने हर्कध्वजको सपना अधुरै रह्यो । हर्कध्वजकी जहानको काखमा नातिनातिना खेलाएरमात्रै मर्ने सपना पनि अधुरै रह्यो ।

सुन्दर सिरानडाँडा उजाड र उराठ बन्यो । घरगोठ र रुखबिरुवाहरू सबै पहिरोले बगाएर नांगो बनेको थियो सिरानडाँडा । पहिरोले पुरिएर मरेका हर्कध्वज तामाङ र उनकी जहानको लास पहिरोसँगैको बारीको पाटामा राखिएको थियो । पहिरोले घर पुरिए पनि बाँच्न सफल बाह्रघरेका अरू मान्छेहरू लासको वरिपरि झुम्मिएका थिए । वल्लोगाउँ र पल्लोगाउँका मान्छे पनि बाह्रघरेवासीको दुःखमा सान्त्वना दिन भेला भएका थिए । लोग्नेमान्छेहरू लास वरिपरि बसेर चुरोट, बिडी र सुल्पा तानिरहेका थिए । आइमाईहरू चाहिँ कोही चुकचुक गर्दै थिए, कोही सुँक्कसुँक्क गर्दै रोइरहेका थिए ।

सबैका अनुहार निन्याउरा थिए । कतिजना पहिरो पीडितहरू त रुन पनि नसकेर आफ्नो घर भएको ठाउँ हेर्दै टोलाइरहेका थिए । आफ्नो घर ठ्याक्कै कहाँछेउ थियो भन्न सक्ने अवस्थामा पनि थिएनन् बाह्रघरेका मान्छेहरू । तैपनि पहिरोले सोत्र्याम्म पारेको भिरालो पाखोतिर हेर्दै टोलाइरहेका थिए ।

पहिरो त आयो, गयो, सकियो । बाह्रघरेका मान्छेका दुःख भने भर्खरै सुरु भएको थियो । उनीहरू अब भरेदेखि कहाँ बस्ने, के खाने र के लाउने भन्ने समस्यामा थिए । समस्या एउटाको मात्रै थिएन, सबैको उस्तै थियो । बाह्रघरेका सबै उस्तै बनेका थिए । को धनी को गरिब । कसैको पनि घर बाँकी थिएन । कसैको पनि बारी बाँकी थिएन । त्यसैले सबै घरवारविहीन भएका थिए ।

दिनभरि हातमा पानासोनिक रेडियो बोकेर गाउँ डुल्ने लाहुरे बा र उनकै घरमा काम गर्ने कान्छा लामाको स्थिति एउटै बनेको थियो । दुवैको शरीरमा लाएको लुगा र खल्तीमा भएको दुईचार रुपैयाँबाहेक अब सम्पत्तिको नाउँमा बाँकी केही थिएन । पहिरोले बाह्रघरेका सबैलाई समान बनाइदिएको थियो । विपत्तिले जात पनि भनेन, वर्ग पनि भनेन । सबैलाई समानरूपमा दपेट्यो । आखिर जाति र वर्गको कित्ता त मान्छेले नै छुट्याउने रहेछ । पोहोरको भूकम्प र यसपालिको यो पहिरोले मानिसहरूलाई यही मूल्यवान् शिक्षा दियो ।

पहिरोको खबर पाउनासाथ सदरमुकामबाट रेडक्रसका स्वयंसेवकहरू उद्धार र राहत सामग्रीसहित आइपुगे । रेडक्रसले बाह्र घरका परिवारलाई पुग्नेगरी बाह्रवटै त्रिपाल दियो । स्वयंसेवक र उद्धारकर्ताहरूले पहिलाको बाह्रघरे गाउँसँगैको चउरमा ती बाह्रवटा त्रिपालहरू फरकफरक ठाउँमा टाँगिदिए । बाह्रमध्ये ११ परिवारका सदस्यहरू एकएकवटा त्रिपालमुनि बसे । एउटा त्रिपालमा चाहिँ त्यही वृद्ध दम्पतीको लास राखे । दुई जवान प्रहरी त्यो लास कुर्न बसे । लासले चाहिँ छोराहरूलाई कुरेको थियो । कतारमा खबर पुगिसकेको थियो ।

तर कहिले आइपुग्छन् उनीहरू, पत्तो थिएन । के बित्दै होला कतारमा काम गर्दै गरेका छोराहरूमा ? आमा र बुबाको एउटै चिहान हुँदा उनीहरूमाथि बज्रपात नै परेको थियो । उनीहरूका सारा सपनाहरू पुरिदिएको थियो पहिरोले ।

सिरानडाँडाको पहिरोले बाह्रघरे गाउँको मानचित्र मेटिएको खबर सदरमुकाम हुँदै सहर र देशभरि नै फैलिइसकेको थियो । त्यसैले उद्धारकर्ता, संवाददाता र सहयोगी दातादेखि तमासेहरूको भीड लागिसकेको थियो । सबैजना त्यो बाह्रघरे गाउँ नै बिलाएको देखेर छक्क पर्थे । त्यहाँका मान्छेको बिचल्लीले सबैलाई गम्भीर बनाएको थियो भने गाउँ नै बिलाएको दृश्यले सबैलाई आश्चर्यमा पारेको थियो । क्यामेरा बोकेर आएका संवाददाताहरूले बाह्रघरे गाउँ भनेर टीभीमा देखाउने ठाउँ पनि देखेनन् । पहिरोले नांगिएको भीरमात्रै बाँकी थियो । संवाददाताहरू त्यही नांगो र भिरालो डाँडाको पनि तस्बिर खिच्दै थिए ।

आफ्नो वरिपरि सदरमुकाम र सहरदेखि आएका उद्धारकर्ता, संवाददाता, सहयोगी दाता र तमासेहरूको चहलपहल देखेर पनि सधैं हातमा पानासोनिक रेडियो बोकेर गाउँ डुल्ने लाहुरे बा भने रित्तो हात हराएको गाउँ हेरेर टोलाइरहेका थिए । उनलाई कसैसित बोल्ने मन पनि भइरहेको थिएन ।

पहिरोपीडितलाई सहयोग गर्ने दाताहरू सहयोगको सामान लिएर आइपुगे । सहयोगीहरूको सहयोगमा प्रत्येक पहिरोपीडित परिवारलाई ओढ्ने, ओछ्याउने र खानेपिउने सामग्री वितरण भयो । प्रत्येक परिवारका एकएकजना सदस्यले रुँदै सहयोगको सामग्री हात थापेर लिए । लाहुरे बाले पनि उसैगरी राहत सामग्री बुझिलिए । राहत सामग्री थाप्दा लाहुरे बाका हात थर्थरी काँपेका थिए भने आँखामा आँसु टिलपिलाएका थिए ।

तर उनले केही बोल्न सकेका थिएनन् । आफ्नै कमाइमा रमाउँदै आएका बाह्रघरेवासीले यसरी अर्काको सहयोग हात थाप्नुपर्दा मुटुको भक्कानोलाई मुस्किलले थामे । तैपनि आँखाको डिललाई छिचोल्दै बग्ने आँसुलाई थाम्न सकेनन् । असार-साउनको झरीजस्तै झरिरहे तिनका आँखाबाट आँसु । तर त्यो आँसुले बगाउन सकेन बाह्रघरेवासीको पीर र वेदनालाई ।

आफ्नै ज्यानको असुरक्षा देखेर उद्धार र राहतका लागि आएका स्वयंसेवक र सहयोगीहरू ज्यान जोगाउनका लागि त्यहाँबाट भागे ।

बडो मुस्किलले बित्यो पहिरोपछिको पहिलो रात । आफ्नै घरभित्र सुरक्षित महसुस गरेर बस्दै आएका र नयाँपुरानो जे जस्तो भए पनि आफैंले बनाएको बिछ्यौनामा आनन्दको निद्रामा मीठो सपना देख्दै आएका बाह्रघरेवासीलाई अर्कैले दिएको त्रिपालमुनि चिसो भुइँमा रात काट्नुपर्दा निदाउन पनि मुस्किल पर्‍यो । निदाएकाहरूले पनि निद्रामै ऐंठन महसुस गरे र चिच्याउँदै उठे । दमकी बिरामी जुठी तामाङ चिसोमा निदाउन सकिनन् । उनी रातभरि ख्वाङ्ख्वाङ् गर्दैै खोकिरहिन् । उनले लगातार खोकिरहँदा अरू पनि निदाउन सकेनन् ।

डेढमहिने सुत्केरी अप्सरा गुरुङको बच्चा आमाको छाती चुस्दै रातभरि रोइरह्यो, सायद दूध नै आएन । बाह्रघरेवासीका प्रायः सबै चौपायासँगै कुखुराहरू पनि पहिरोमा पुरिए । जगमान घलेको एउटा भाले भाग्यले बाँचेको थियो । त्यो पनि जगमानसँगै सुतेको छ । उज्यालोको संकेत नपाएर हो कि बास्ने इच्छा नभएर हो, त्यो भाले पनि चुपचाप निदाएको बहाना गरिरहेको छ । पारि गाउँबाट पनि कुनै भाले बासेको सुनिएको छैन । त्रिपालभित्र चिसो भुइँमा सुतेका बाह्रघरेवासीहरू बिहानीको प्रतीक्षामा छन् ।

बल्ल पारिबाट भाले बासेको सुनियो । त्रिपालभित्र सुतेकाहरूले लामो निश्वास छोडेर भने, 'बल्ल उज्यालो हुन लागेछ ।'

सधैंझैं पूर्वबाट विस्तारै उज्यालो आयो । त्रिपालभित्र सुतेका पहिरोपीडित बाह्रघरेवासीहरू क्रमशः आङ तन्काउँदै त्रिपालबाट बाहिर निस्कन थाले । कहाँको चर्पी, कहाँको धारा । केही बाँकी थिएन । सबै लगिसकेको थियो पापी पहिरोले । त्यसैले मान्छेहरू रूख र झाडीमा छेलिँदै पेट हल्का पार्न थाले । आइमाईलाई साह्रै ननिको लाग्यो त्यसरी पेट हल्का पार्न ।

कसैले देख्ला कि भन्ने पीरले पेटभित्रको बाहिर आउनै गाह्रो पर्‍यो । केटाकेटीले त बाटैमा काम सके । अरूबेला कुकुरले खान्थे । त्यतिखेर कुकुर पनि पहिरोको डरले भागेर अर्कै गाउँ पुगिसकेका थिए क्यारे । एउटा पनि कुकुर देखा परेनन् । सबैलाई आफ्नो ज्यानको माया हुँदोरहेछ ।

'अब पीर मानेर बसेरमात्रै त भएन । बचेखुचेका सामान त खोजखाज र बटुलबाटुल गर्नुपर्‍यो नि ।' लाहुरेबाले एकाबिहानै सबैसामु आफ्नो कुरा राखे ।
सबैलाई मनासिब लाग्यो लाहुरेबाको कुरा ।

हिलो, माटो र ढुंगा पन्छाउँदै आआफ्ना घरका सामान खोज्न जुटे मान्छेहरू । उद्धारमा खटिएका स्वयंसेवक टोलीले पनि सघाए सामान खोज्न । हिलो र माटोमा पुरिएका कुन सामान कसको भन्ने छुट्याउने कसरी ? हिलो, माटो र ढुंगा पन्छाउँदै खोज्दा भेटिएका सबै सामान आफ्नै जस्तो लाग्न थाल्यो सबैलाई ।

कुच्चिएका र दोब्रिएका जस्तापाताहरू यत्रतत्र हिलोमा आधा पुरिएको अवस्थामा थिए । जस्तावाला घरका सबैले 'यो मेरो हो' भन्दै दाबी गर्न थाले । घरका थाम, दलिन र निदालहरू पनि हिलो, माटो र ढुंगाको कापमा च्यापिएको अवस्थामा भेटिए ।

हिलोमा आधा गाडिएको काठको एउटा दराज सग्लै भेटियो । भूमिराज गुरुङले बुरुक्क उफ्रेर भन्यो, 'यो त मेरो हो ।' सुनेर लाहुरे बा कड्किए, 'अर्काको सामानमाथि आँखा लाउँछस् जैरे ।'

भूमिराज के कम, ऊ पनि कड्कियो, 'किन र, राम्रा सामान जति सबै तिम्रैमात्र हुन्छन् र ? '
'बढ्ता मुखमुखै लाग्छस् जैरे ।' यसो भन्दै लाहुरे बाले आफैंले टेक्ने लौराले झटारो हानिहाले । लौराले लागेर भूमिराजको पिँडुला दर्फरायो । उसले रिसले आँखै देख्न छोड्यो । बुरुक्क उफ्रेर लाहुरे बाको लौरोले उनैलाई बजाए । बूढा लाहुरेबा थुचुक्कै भुइँमा बसे । भूमिराज लाहुरे बालाई आँखा तर्दै गयो । लाहुरे बा लामोलामो सास फेर्दै भूमिराज गएको हेरिबसे । फेरि भूमिराजमाथि जाइलाग्ने साहस लाहुरे बामा आएन ।

भूमिराज र लाहुरे बाको झगडा हेर्ने र छुट्याउने फुर्सद पनि कसैलाई भएन । सबै सामान हात पार्नमै व्यस्त रहे ।
घरका झ्याल र ढोकाहरू पनि भेटिए । ती झ्याल र ढोका पनि सबैलाई आफ्नैजस्ता लागे । हुन पनि गाउँमा सबैका घरका झ्याल र ढोका उस्तै त थिए । झ्याल र ढोकामा लगाइएको रंगको आधारमा कुन कसको हो भनेर छुट्याउन सकिन्थ्यो ।

हिलोमा लतपतिएको हुँदा त्यसो गर्न पनि सम्भव भएन । यसले गर्दा 'यो मेरो हो' भन्दै बलियाबांगाहरूले तानातान गर्न थाले । तानातान र खोसाखोसमा पहिरोले थुपारेको हिलोमाटोमा मान्छेहरू लडिबुडी गर्न थाले । आफैं लडेकोलाई पनि अर्कोले लडाइदिएको ठानेर रिसले एकले अर्कोलाई हानाहान गर्न थाले । हिजोसम्म मिलेर बसेको बाह्रघरेका मान्छेहरू आज सबै दुश्मन र प्रतिद्वन्द्वीमा परिणत भएर आपसमा लड्न र भिड्न थाले ।

खोज्ने क्रम जारी रह्यो । खोजीमा अघिअघि जाने प्रतिस्पर्धा पनि चल्यो । अगाडि पुगेर जसले जे भट्टायो उसले 'यो मेरै हो' भन्न थाले । यसरी बलियाले भेटे जति सामान यो मेरै हो भन्न थालेपछि कमजोरहरू हेरेको हेर्‍यै भए ।
एकदुईवटा दराज र कन्तुर पनि भेटिए । तिनमा लुगाफाटो, गरगहना र नागरिकता, लालपुर्जा र प्रमाणपत्रहरूका कागजपत्र पनि होलान् । तिनमा पनि एकअर्काले दाबी गर्न छोडेनन् ।

सुत्ने खाट र मेचटेबुलहरू पनि कुनै सद्दे र कुनै भाँचिएको अवस्थामा भेटिए । तिनमा पनि धेरैले दाबी गरे । दुईचार वटा हँसिया, कुटो र कोदालो पनि भेटिए । तिनमा पनि सबैले यो मेरो हो भन्न छोडेनन् । डोका, डाला र नाम्ला काम नलाग्ने अवस्थामा भेटिए । दुईचार वटा डेक्ची, ताप्के, कसौंडी र थाल पनि कुच्चिएको अवस्थामा भेटिए । त्यसमा पनि सबैले यो मेरो हो भन्ने दाबी गरे ।

हिजो पहिरोपीडित हुँदा सदरमुकामदेखि सहरसम्मका सहयोगी र दाताहरूले सहानुभूतिपूर्वक सहयोग गरे । उनीहरू आज आफ्नै बुद्धिले द्वन्द्वपीडित बनेका छन् । थाहा छैन अब बाह्रघरे गाउँका यी पीडितहरूले आफूलाई केको पीडित भनेर सहयोग माग्छन् ?

ठूली मोक्तानले फेरि उसैगरी वेदना पोख्न थालिन्, 'एउटा ताप्केसम्म भेट्टाउन पाए त पल्ला गाउँलेसँग दुई माना पीठो मागेर भए पनि एक डल्ला ढिँडो मस्काएर खान पाइन्थ्यो ।'

घरका सामान खोज्दै जाँदा एउटा बन्दुक पनि हिलोमा पुरिएको अवस्थामा भेटियो । त्यो देखेर सामान खोज्नेहरू सबै झस्के । त्यसमा भने कसैले पनि यो मेरो हो भनेर दाबी गरेनन् । बरु बन्दुक देख्नेबित्तिकै सबैजना पछिपछि हट्न थाले । बन्दुक बोक्ने कि माओवादी हुन्थ्यो कि प्रहरी र सेना कि लाहुरे बा । गाउँमा कोही प्रहरी र सेना थिएनन् । लाहुरे बाको बन्दुक उहिल्यै बिग्रिएर फालिसकेका थिए । तब त त्यो बन्दुक पक्कै कुनै माओवादीले लुकाएको हुनुपर्छ । को होला बाह्रघरे गाउँमा माओवादी ?

उद्धारकर्ताहरूलाई पनि समस्या पर्‍यो, भेटिएका सामान कसलाई, कसरी जिम्मा लगाउने ? सबैले सबै सामानमाथि आफ्नो दाबी गरिरहेका थिए ।

खोज्दै जाँदा थप केही सामान भेटिँदै गए । सामान भेटिँदै जाँदा त्यसमाथिको दाबी पनि बढ्दै गयो । यो मेरो हो... यो त मेरो हो... भन्दै मान्छेहरूले भेटिएका सामान खोसाखोस गर्न थाले । खोसाखोस गर्दागर्दै लुटालुट पनि गर्न थाले । खोसाखोस र लुटालुट गर्दागर्दै मान्छेहरूले एकले अर्कोलाई हानाहान पनि गर्न थाले ।

अचम्मलाग्दो दृश्य के देखियो भने हिजो पीरले रोइरहेकी ठूली मोक्तान र अरू गाउँलेलाई पनि नरुन सम्झाउने र सबै मिलेर आफ्नै लागि केही गर्नुपर्ने अर्ती उपदेश दिइरहेको मास्टर नै लड्नेभिड्नेमा सबैभन्दा अगाडि थियो । केही सामान खोज्ने र भेट्टाउने क्रममा भिडन्त नै हुन थालेपछि मान्छेहरूको भागदौड हुन थाल्यो । लोग्नेमान्छेहरू सामानका लागि एकआपसमा लड्न र भिड्न थाले । आइमाईहरू पनि एकले अर्कोलाई लछारपछार गर्दै रुन, कराउन र चिच्याउन थाले ।

पहिरो झर्न लागेको थाहा पाएर दुइटा छोराछोरीलाई बोकेर बेतोडले भाग्दा लडेर खुट्टा मर्केको साइँला लामाले हिलो र ढुंगा पल्टाउँदै आफ्नो सामान खोज्न सकेको थिएन । त्यसरी खोज्न सक्नेले भेटे जति सामान आफ्नै हो भनेर थुपार्न थालेपछि रित्तो हात बसेको साइँलालाई खपिनसक्नु भयो । रिसको झोंकमा उसले 'लौ थुपार तिमीहरू नै सबै सामान' भन्दै एउटाको त्रिपालमा आगो लगाइदियो । त्यो त्रिपाल जगतेको परेछ । 'को हो मेरो घरमा आगो लाउने ? ' भन्दै उसले पनि सँगैको त्रिपालमा आगो लाइदियो ।

अर्कोले पनि त्यसैगरी अर्को त्रिपालमा आगो लाइदियो । यसैगरी क्रमशः सबै त्रिपालमा आगो लाग्दै गयो । एकैछिनमा सबै त्रिपाल खरानी भए । हर्के दम्पतीको लास राखिएको त्रिपाल पनि बाँकी रहेन । लास कुर्न बसेका प्रहरी जवानले आगो लागेको त्रिपाललाई हटाएर लास जोगाए ।

पहिरोग्रस्त त्यो बाह्रघरे गाउँ लडाइँको मैदानजस्तै भयो । पहिरोपीडितहरू आपसमा मर्न र मार्न तम्सिँदा हिजो वर्षाको भेल बगेको बाह्रघरे गाउँमा आज मान्छेको रगत बग्यो । बन्दुक कसले पड्कायो भन्ने थाहा नहुँदै दुईचार जना रगताम्मे हुँदै भुइँमा ढले । एकै छिनमा त्यो बन्दुक पनि पड्किन छोड्यो ।

पछि देखियो-बन्दुक हिलोमा आधा गाडिएको थियो र आधा देखिएको थियो ।
सानोतिनो लडाइँकै झल्को दिने दृश्य देखेर आइमाई र केटाकेटीहरू चाहिँ डरले अत्तालिएर रुन र कराउन थाले । पहिरोग्रस्त बाह्रघरे गाउँमा कोलाहल नै मच्चियो ।

घरका सामान खोज्दै जाँदा एउटा बन्दुक पनि हिलोमा पुरिएको अवस्थामा भेटियो । त्यो देखेर सामान खोज्नेहरू सबै झस्के । त्यसमा भने कसैले पनि यो मेरो हो भनेर दाबी गरेनन् । बरु बन्दुक देख्नेबित्तिकै सबैजना पछिपछि हट्न थाले ।

आफ्नै ज्यानको असुरक्षा देखेर उद्धार र राहतका लागि आएका स्वयंसेवक र सहयोगीहरू ज्यान जोगाउनका लागि त्यहाँबाट भागे ।

खोज्दा भेटिएका केही सामानहरू थुप्रिएका छन् । ती सामानसँगै दुईचारवटा लास पनि यत्रतत्र छरिएका छन् । तर ती लासलाई कुर्ने कोही छैनन् । हर्कध्वज दम्पतीको लासलाई कुर्ने प्रहरी जवान पनि डरले पहिल्यै भागिसकेका थिए ।

अब बाँचेका मान्छेहरू स्तब्ध भए । कोही रुन, कराउन र चिच्याउन सकेनन् । केही बाँकी नरहेको बाह्रघरे गाउँमा सन्नाटा छायो । मान्छेको आवाज छैन । पशुहरूको आवाज छैन । पन्छीहरूको आवाज छैन । खहरेको आवाज पनि छैन । हावाको सर्सराहट पनि छैन । बिजुली चम्केको छैन । मेघ पनि गर्जेको छैन । घनघोर वर्षा पनि छैन । उर्लिंदै आएको त्यो पहिरोको हुँकार त हिजोअस्ति नै थामिइसकेको थियो । बाँकी छ त सन्नाटामात्रै । पहिरोपछिको सन्नाटा ।

सिरानडाँडाको फेदैमा रहेको बाह्रघरे गाउँ कतै छैन । रेडक्रसले जोडिदिएको बाह्रैवटा त्रिपालको घर पनि छैन । बाँचेका केही मान्छेहरू एकले अर्कोलाई पीठ फर्काएर चिसो भुइँमा टाक्राकटुक्रुक्क बसेका छन् । कसैसित कसैको बोलचाल भएको छैन ।

हिजो पहिरोपीडित हुँदा सदरमुकामदेखि सहरसम्मका सहयोगी र दाताहरूले सहानुभूतिपूर्वक सहयोग गरे । उनीहरू आज आफ्नै बुद्धिले द्वन्द्वपीडित बनेका छन् । थाहा छैन अब बाह्रघरे गाउँका यी पीडितहरूले आफूलाई केको पीडित भनेर सहयोग माग्छन् ? अनि ती पीडितहरूलाई अब कसले सहयोग गर्छन् र के भनेर सहयोग गर्छन् ?

पहिरोपीडितले मच्चाएको द्वन्द्वको खबर सदरमुकाम र सहरसम्म कसैले पुर्‍याए कि पुर्‍याएनन्, अहिलेसम्म त्यो द्वन्द्वको निसानी हेर्न उताबाट कोही पनि आएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.