सम्झनामा दादाजी

सम्झनामा दादाजी

 

'एकदिन नारदमुनि सत्यलोक पुगिगया लोकको गरूँ हित भनी,
ब्रह्मा ताहीँ थिया पर्र्‍या चरनमा खुसी गराया पनि'


पाटनढोकास्थित रातो बंगला स्कुलमा पढेका यी हरफ अझै पनि मेरो मस्तिष्कमा राम्ररी गढेर बसेकोे छ ।
भानुभक्त आचार्यरचित 'रामायण'को यो पहिलो श्लोक बेहोशीमै गुनगुनाउने बानी मलगायत सयौं विद्यार्थीमा परिसकेको थियो । अचेल अंग्रेजी माध्यमद्वारा पढाइ हुने निजी स्कुलका भित्ताभित्तामा 'स्पिक इन इङ्लिस ओन्ली' लेखिएको हुन्छ । तर, हामी भने स्कुले जीवनमै समाजबाट प्रायः लोप हुन लागेको संस्कृत भाषाका अमूल्य शब्दहरू ओठमै झुन्ड्याएजस्तो गुनगुनाइहिँड्थ्यौं । यसको श्रेय जान्छ मात्र दादाजीलाई ।

दादाजी अर्थात् कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा भएको असामयिक निधनको खबर पाउनेबित्तिकै मैले मेरो मुखपत्र (फेसबुक) मार्फत शोकका केही शब्द व्यक्त गरेकी थिएँ, 'तपाईंको आत्मालाई चिर शान्ति मिलोस् दादाजी ।' । मेरा भारतीय साथीहरू अलमलमा परेछन् किनभने 'दादाजी'को अर्थ हिन्दी भाषामा 'हजुरबुवा' हुन्छ । मेरो आफ्नै प्रिय हजुरबुवा बित्नुभएको पनि भर्खरै एक महिना भएको थियो । त्यो अपूरणीय घाउ अझै निको भएको छैन । सायद यही कारणले हो, दादाजीको देहान्तको खबरले म एकदम भावुक र विह्वल भएँ ।

निकै बेर आँखा भिजिरहे । गुडिरहेको गाडीभित्र अरू केही बोल्दै नबोली एकपछि अर्को छन्दमा दादाजीले सिकाउनुभएका भाकाहरू गुनगुनाइरहेँ । एकदुई ठाउँमा अड्किएँ पनि । सँगै रहेकी बहिनीले सम्झाउन निकै सहयोग गरिन् तर सकिनन् । झट्ट सम्झिएँ- कसरी गुन्गुनाउँदा गुन्गुनाउँदै अड्किएपछि छुटेको पंक्ति सम्झाइदिनुहुन्थ्यो दादाजीले । अब कसलाई सोध्ने ती पंक्तिहरू ?

नौबीसेदेखि चितवन पुगुन्जेल हामीले हाम्रो बाल्यकालको पूरै एक चक्कर लगाइसकेका थियौं । त्यति बेलै हामीले सम्झियौं, दादाजीले हामीलाई कति ठूलो गुण लगाउनुभएको रहेछ- आफ्नो भाषासँग, भाषाको जरासँग पिरती गाँस्न सिकाएर । अविस्मरणीय थियो दादाजीले हामीलाई लगाउनुभएको गुण ।

मैले नेपाली भाषामा यो लेख लेख्ने आँट गर्नु नै उहाँले लगाउनुभएको गुणको पहिलो उदाहरण हो । 'रातो बंगला स्कुल'मा कक्षा ४ मा भर्ना हुँदा मेरो आत्मविश्वास एकदमै कमजोर थियो । सुनेको थिएँ, त्यहाँ सबैले एकदम राम्रो अंग्रेजी बोल्छन् । मलाई त्यति राम्रो अंग्रेजी बोल्न आउँदैनथ्यो । त्यसमाथि सोचेको थिएँ, मैले जानेबुझेको नेपाली भाषा त अब पक्कै बिलाउने भयो । सम्झेरै दुःख लागेको थियो ।

बिस्तारै थाहा पाएँ, हरेक बुधबार नेपालीमात्र बोल्नुपर्ने चलन रहेछ स्कुलमा । त्यसले अलिकति भए पनि आशा पलायो, आफ्नो भाषा बिलाउँदैन भन्नेमा । नेपाली कक्षा खुब मन पथ्र्यो । स्कुल जान थालेको केही दिनमै वन्दना मिसले सबैजनालाई 'दादाजी आउँदै हुनुहुन्छ, छिटोछिटो नेपाली पुस्तकालय जाऊ' भनेर हामीलाई कक्षाकोठाबाट लखेट्नुहुन्थ्यो । ढोकाबाहिर जुत्ता फुकालेर पुस्तकालयको कार्पेटमा पालैपालो चकटी बिछ्याएर कक्षाका सबै साथी एउटै गोलो घेरामा बस्थ्यौं र एकै स्वरमा भन्थ्यौं, 'नमस्ते दादाजी ।' दादाजी निकै मीठोसँग नमस्ते फर्काउनुहुन्थ्यो । हामी सबैले सँगसँगै एउटै श्लोक वाचन गथ्र्यौं । साह्रै मीठो सुनिन्थ्यो त्यो सामूहिक वाचन ।

नयाँ विद्यार्थी भएकाले मलाई ती श्लोक कण्ठ थिएनन्, मनमा हल्का ईष्र्या पनि जाग्थ्यो र अर्को सातासम्म कण्ठ पारेर स्कुल आउने अठोट पाल्थेँ । दादाजीको नरम बोल्ने भाका, माया गरेर सम्झाउने तरिका, मुस्कुराइरहने बानी र छन्दको गायन सुनेर मन आनन्दित र प्रफुल्लित हुन्थ्यो । त्यसपछि म हरेक हप्ता दादाजीको कक्षा कुरेर बस्थेँ । हामी चारपाँचजना नेपाली भाषाका लोभीहरू दौडँदै दादाजीको कक्षामा पुग्थ्यौं, अरू विद्यार्थीभन्दा पहिल्यै । दादाजी कविताहरू छन्दमा सिकाउनुहुन्थ्यो र सबैलाई पालैपालो वाचन गर्न लगाउनुहुन्थ्यो ।

कक्षा २ देखि ८ सम्म पुग्दा कविताको विषयवस्तु, छन्दका प्रकार, भाका, शैली अझै जटिल हुँदै गए । छन्द र नेपाली भाषालाई जीवित राख्नकै निमित्त कविता वाचन प्रतियोगिता हुन्थ्यो बेलाबेलामा । मेरो कक्षामा स्वरसम्राट् नारायणगोपालको जस्तै आवाज भएका एकदुईजना साथी थिए । म भने छन्द छिट्टै पक्डन्थेँ तर आवाज त्यति सुरिलो थिएन । तैपनि शुद्ध नेपाली भाषामा प्रस्टसँग वाचन गर्नसक्ने हुनाले होला, दादाजी मलाई खुब मन पराउनुहुन्थ्यो । म पनि उहाँको स्याबासी पाउने आशाले आफ्नो पालो पर्खिबस्थेँ । उहाँकै हौसला र प्रेरणाले मैले मञ्चमा पहिलोपटक कविता वाचन गरेँ । 'काम्यो लुगलुग त्यो गरिब विचरा...' वाचन गर्दा आफू पनि लुगलुग कामेको अझै याद छ मलाई । समय बित्दै जाँदा खुट्टा काम्न छाड्यो । 'गोठालो र बाघ' कविता वाचन गर्दा त आफू नै बाघ भएछु कि जस्तो लाग्थ्यो मलाई ।


निकै बेर आँखा भिजिरहे । गुडिरहेको गाडीभित्र अरू केही बोल्दै नबोली एकपछि अर्को छन्दमा दादाजीले सिकाउनुभएका भाकाहरू गुन्गुनाइरहेँ । एकदुई ठाउँमा अड्किएँ पनि । सँगै रहेकी बहिनीले सम्झाउन निकै सहयोग गरिन् । तर, सकिनन् । झट्ट सम्झिएँ- कसरी गुन्गुनाउँदा गुन्गुनाउँदै अड्किएपछि छुटेको पंक्ति सम्झाइदिनुहुन्थ्यो दादाजी । अब कसलाई सोध्ने ती पंक्तिहरू ?

म अहिले नाट्य मञ्चमा पटकपटक विभिन्न भूमिकामा अभिनय गर्छु । कहिलेकाहीँ लाग्छ, सायद बाल्यकालमा डगमगाएको मेरो आत्मविश्वासलाई त्यति बेला दादाजीले प्रोत्साहन नगरिदिनुभएको भए म अहिले एउटा कलाकार बन्न सक्दिनथेँ । मजस्तै धेरैजनामाथि दादाजीको प्रभाव गहिरो रूपमा परेको छ । दादाजीको सम्झनामा फेसबुकमा उहाँका विद्यार्थीले 'दादाका लागि छन्द' भनेर कविता वाचन गरेका भिडियो पोस्ट गरिरहेका छन् । त्यसमध्ये एकदुईजना विद्यार्थीले 'दादाजीतर्फ, उहाँको सिकाइले आफू विनयशील भएको र नेपाली भाषाप्रति आदर, रुचि जागेकोमा हार्दिक आभार र कृतज्ञता' भनी लेखेका छन् ।

दादाजीको योगदान स्कुलका विभिन्न भावनात्मक क्षणसँग पनि जोडिएका छन् । बिहानको भेलामा आँखा मिच्दै गाएको 'बनुँ सत्यवादी, पढुँ नित्य विद्या' होस् वा मीठो आवाजमा मर्मस्पर्शी भावसहित गाइएको 'गौरी' र 'दागबत्ती' वा ए-लेभलको समापन समारोहमा वाचन गरिएका चिन्तनशील बिदाइ कविता- छन्दले छोएको कुनै पनि क्षण सम्झँदा मुटु भक्कानिएर आउँछ ।

स्कुलका कुनै अनुहार त छन्दमा कविता वाचन गरेकै कारण सम्झनामा आइरहन्छन् । स्कुल छाडेको धेरै वर्षपछि दादाजीसँग भेट भयो । उहाँसँग भेट्दा 'नाम बिर्सनुभयो कि' भनी अप्ठ्यारो मान्दै सोध्थेंँ । तर, उहाँलाई सधैं मेरो नाम सम्झना हुन्थ्यो ।

अन्तिममा मैले दादाजीसँग भेट्ने अवसर पाइनँ । तर, स्कुलपछिका वर्षहरूमा मैले दादाजीबारे उति धेरै सोचेको पनि थिइनँ । सायद भेट भएको भए पनि पुराना सम्झनाका यी प्रसंग निस्किँदैन थिए ।

अब त उहाँ कुनै पनि प्रसंग नसम्झाउने गरी जानुभयो । दादाजीप्रति म जीवनभर आभारी रहनेछु । सानो हुँदा नेपाली भाषाप्रतिको मोह कायम राख्न दादाजीले निकै ठूलो भूमिका खेल्नुभयो । स्कुलको वातावरण 'घर'जस्तो बनाउन धेरै मद्दत गर्नुभयो । हाम्रो संस्कृतिलाई संरक्षण गर्न सधैं प्रोत्साहन दिनुभयो ।

दादाजीले मलाई आफ्नो बाल्यकाल र पहिचानबारे अझै गहिराइसम्म सोच्ने मौका दिनुभयो । दादाजीको यो देन जीवनभरि सम्झनेछु । मैले दादाजीबाट सिकेको छन्द सकेसम्म अरूसमक्ष पनि बाँड्ने प्रयास गर्नेछु ।
दादाजीप्रति श्रद्धासुमन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.