कमलबाबु: अथक साधक

कमलबाबु: अथक साधक

राष्ट्रमा होमिनेलाई बिर्सिन्न सृष्टिले कतै ।
सम्झन्छ इतिवृत्तैले कीर्तिका गीत गाउँदै ।

यो शाश्वत् सत्य हो राष्ट्र र समाजको हितमा होमिने व्यक्तित्वलाई सृष्टिले कहिल्यै बिर्संदैन । जतिजति कालक्रम अघि बढ्छ, उसको कीर्तिगाथा झन्झन् संस्मरणीय र अनुकरणीय हुँदै जान्छ । कमलबाबुको ऐतिहासिक व्यक्तित्व त्यसै अध्यायको एउटा पाटो हो ।

विसं १९८६ को उषाकालमा पिता केदारमणि दीक्षित र माता विद्यादेवीबाट माहिला सुपुत्रका रूपमा कमलमणि दीक्षित संसारमा पैदा भए । एउटा मननीय संयोग, यसै मुहूर्तमा वा कुशेऔंसीमा नेपाली भाषालाई अग्रगामी बनाउने सेतुका सर्जक मोतीराम भट्टले नेपालको धर्तीलाई आलिंगन गरेका थिए । नेपाली भाषाका आदिकवि भानुभक्तले रचेको भानुभक्तीय रामायणलाई जनसमक्ष ल्यमएर नेपाली भाषा र साहित्यको श्रीवृद्धिको श्रीगणेश गरेका थिए । नेपाली भाषा र साहित्यलाई अझ अगाडि बढाउँथे होला तर, संसार छोडे । उनको उत्कट अन्तरंग भाव नेपालको धर्ती वरपर परिभ्रमण गरिरहेकैले हो कि त्यसै कुशेऔंसीमा कमलको जन्म भयो ।

एउटा बालक पाठशाला जाँदा आमाबाबुबाट खाजा खर्च पाउँदा कति छिटो जेरी, स्वारी खाऊँ भनी हतारिन्छ तर कमलबाबुले पाठशाला जाँदाको खाजाखर्च जोगाएर नेपाली भाषाका पुस्तक किनेर त्योभित्र जेरी स्वारीको आश्वादन गर्दै एउटा पुस्तकालयको प्रारूप तयार गर्दै त्यही प्रारूप मदन पुरस्कार पुस्तकालयजस्तो महोदधिमा मिसाए ।

अप्रत्याशित यी सबै कुराको परिणति देख्दा अवश्य पनि मोतीरामकै त्यो उत्कट अभिलाशाको अधुरो कार्य पूर्ण गर्न नेपाली भाषा साहित्यले कमलबाबुजस्ता निष्ठाका कर्मिष्ठ व्यक्तित्वलाई जन्मायो होलाजस्तो लाग्छ ।

पुर्खाको भावना वा प्रयास पनि अन्तस्थ थियो कमलमणिको रगतमा । वातावरण अनुकूल हुँदै पनि आएको थियो । मदन र रानी जगदम्बाको संगमका साथ कमल त्रिवेणी भएर उभिए । सम्पन्नताले मात्र व्यक्ति काजयित्वतिर जानसक्छ भन्ने कुरा यथार्थ होइन । यथार्थ त्यो हो विवेक र दूरदृष्टि राखेर जीवन र जगत् बुझ्नसक्ने व्यक्तित्वले नै कालजयी राजमार्ग तयार गर्नसक्छ । कसैले बनाएको बाटो कता छ भनेर खोज्दै नहिँडेर आफ्नो लक्ष्यसम्म पुग्न आफैं बाटो बनाएर अगाडि बढ्ने यात्रीमा पर्छन् कमलबाबु ।

चन्द्रशमशेरजस्ता राणा प्रधानमन्त्रीका छोरा मदन र बुहारी जगदम्बाको अथाह सम्पत्ति, मदन अल्पायुमै बित्नु, रानी जगदम्बा एकल महिलाकै रूपमा भारत बनारस प्रवासमा बस्ने दृढता राख्नु सारै कठिन अवस्था थियो । केदार विद्या र कमलको अथक् प्रयासले पुनश्च नेपालमा भित्रिइन् । सद्यप्रज्ञाकै फलस्वरूप कमलमणिलाई रानी जगदम्बाले आफ्नो सेक्रेटरीका रूपमा रोजिन् । कमलले पनि निष्ठाका साथ आफ्नो कर्तव्य निर्वाह गरी रानी जगदम्बाको सम्पत्तिलाई सत्मार्गतिर डोर्‍याए । नेपालमा नेबेल पुरस्कार सम्झिने मदन पुरस्कारको स्थापना गरे ।

रानी जगदम्बाको निधनपछि जगदम्बा श्री पुरस्कार स्थापना गरे । मदन पुरस्कार पुस्तकालय स्थापना गरी आज त्यहाँ एउटा व्यक्तिको परिकल्पनामा र प्रयासमा ३८ हजारभन्दा बढी पुस्तक संगृहीत छन् । अन्य सैकडौंको संख्यामा पुरातात्त्विक महत्त्वका कागजपत्र छन् । पुस्तकालय नै कमलमणिको आलय वा कमलमणिको आलय नै पुस्तकालयको अवस्था छ । कमलमणिले दर्जनौं पुस्तक आफैं लेखे तथा कैयन् कृतिहरू अनुदित गरे । सैकडौं लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित भए ।

मदन पुरस्कार पुस्तकालयलाई नेपालको सन्दर्भमा युनेस्कोको विश्वसम्पदा झैँ उभ्याए । पुस्तकालयलाई इन्टरनेटमैत्री बनाए । आज सो पुस्तकालयमा महत्त्वपूर्ण कृतिहरू डिजिटलाइज्ड हुने पाइपलाइनमा छन् । कमलमणि नभएको भए नेपाली भाषा साहित्यको अथाह ज्ञानलाई भण्डारण गर्ने मदन पुरस्कार पुस्तकालय स्थापना र सञ्चालन गर्ने कुरा दिवास्वप्नझैं रहने थियो ।

म प्रायः देख्ने गर्थें, कमलबाबु जुनसुकै कार्यक्रममा पनि समयमै आउँथे र आफ्नो कुरा राखेर हतारहतार बीचमै फर्केर जान्थे । उनले बुझेका थिए कालक्रमलाई, त्यसैले हतारोले उनले कालजयी कार्य गरेर जानसके । अतः उनी युगौंयुगसम्म अजर र अमर रहनेछन् । कदी नामले पनि उनी नेपाली भाषा साहित्यका मूर्धन्य स्रष्टा र धरोहर बन्न पुगेका छन् । उनको यो योगदान कालान्तरसम्म संस्मरणीय र अनुकरणीय रहनेछ ।

जीवनको उत्तराद्र्धमा गत वर्षदेखि कमलमणि प्रकाशन दर्ता गराएर नेपाली साहित्यको बृहत् इतिहास लेखन अघि बढाएका थिए । देशविदेशका ८४ जना मूर्धन्य विद्वान्बाट एक हजार दुई सय पृष्ठका दरले पाँचवटा ठेलीमा यो इतिहास लेख्ने काम प्रारम्भ गराएर कमलबाबुले इहलोक छोडेका छन् । उनका सुयोग्य सन्तती कुन्दन, कनक र रूपाले यो अभीष्ट पूरा गर्ने नै छन् भन्ने विश्वास छ ।

मेरा तमाम याद जोडिएका छन् कमलबाबुसँग । १४ गते पुसको बिहानी जब मैले उहाँ दिवंगत हुनुभएको खबर सुनेँ, म स्तब्ध र हतप्रभ भएँ । उहाँ मेरो मित्रका साथै अभिभावकझैं हुनुहुन्थ्यो । दशकौं पुरानो मित्रता हो उहाँको र मेरो । लेखनमा उहाँ मलाई समयसमयमा सचेत गराइरहनुहुन्थ्यो ।

उहाँ र मबीचको पत्राचारको जमानामा पत्राचार भई नै रहन्थ्यो । इन्टरनेटपछि ईमेलमा । पत्राचारका एकदुई नमुना यहाँ उद्धृत छन्- म आफ्नै धुनमा भनौं कि के भनौं ! उहाँको संकेत बुझ्नै सकिनँ मैले, दिग्भ्रमित भएछु म । जो गयो गयो तर गहिरो सम्झना रहिरह्यो ।

सुदूरपश्चिमाञ्चलको ओझेलमा परेको केही इतिहास लेख्ने क्रममा म र राजलक्ष्मी चटौत थियौं । झन्डै ६ सय वर्ष पुराना अभिलेखहरू साहै्र सावधानीपूर्वक जोडजाम गरेका थियौं । सबैले बुझ्न सकून् भनेर हुबहु त्यही कुरा उतारेर तयार पारी पुस्तक छाप्ने क्रममा थियौं ।

त्यति बेला एउटा संकट आयो, किताब छपाउँदा मौलिक कागजपत्रबिना त्यो इतिहास प्रमाणित गर्ने के आधार होला ? ती कागजपत्रसमेत राखी पुस्तक छपाउँदा निकै व्ययभार पर्ने भयो । भाग्यले २०७०÷१÷८ गतेको कोठे कविगोष्ठी कार्यक्रम मेरो आवासमा पर्ने पालो भयो । त्यो कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा सूचीबद्ध पनि भइसकेको छ । यसका संरक्षक कमलमणि र संयोजक रमेश खकुरेल थिए । मेरो आवासमा भएको गोष्ठीमा साहित्यकार मूर्धन्य व्यक्तित्वहरू कमलमणि, डा. वासुदेव त्रिपाठीलगायत झन्डै तीन दर्जन कवि कवयित्रीको उपस्थिति थियो ।

त्यसै बेला उक्त इतिहास (बेलाको बोली बखतको इतिहास) छपाउँदा आइरहेको कठिनाइको चर्चा कमलबाबुको सामुमा राखेँ । उहाँले तुरुन्तै भन्नुभो, 'त्यस्ता मौलिक कागजपत्रहरू मदन पुरस्कार पुस्तकालयमा पठाइदिनुहोस्, त्यहाँको अर्काइभमा सुरक्षित रहनेछन् ।' सोहीबमोजिम ती कागजपत्र मदन पुरस्कार पुस्तकालयमा पठायौं र मिति २०७० जेठ १३ गते ती मौलिक पत्रहरू अर्काइभमा सुरक्षित रहेको कुरा लेखी मदनबाबुको हस्ताक्षरसहितको पत्र हामीलाई प्राप्त भयो । सो कुरा 'बेलाको बोली बखतको इतिहास' ग्रन्थको पृष्ठ १७५ मा उल्लेख छ ।

मदन पुरस्कार गुठी ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण वर्ष सम्मानद्वारा विभूषित गर्नेमा तपाईंको नाम पनि छ ,स्वीकृति पाउन फोन गरेको हुँ भन्दै यज्ञविक्रम राणाजीले फोन गर्नुभयो र मैले स्वीकृति दिएँ । साहित्य र संस्कृतिका मूर्धन्य व्यक्तित्व सत्यमोहन जोशीका हातबाट सम्मानित हुने सौभाग्य पाएँ । २०७२ जेठ ६ गते बेलुकी ४ बजेतिर घुम्न जाँदा मोटरसाइकलद्वारा एक जनाले मलाई हान्यो । म बेहोश भई लडेको अवस्थामा प्रहरीले सिभिल अस्पतालको आकस्मिक कक्षमा पुर्‍यायो ।

साहित्यिक त्रैमासिक पत्रिका 'नेपाली'को स्थापनाकालदेखि नै कमलबाबु आफैं सम्पादक रहिआउनुभएको थियो । लेखकीय साधनाका निम्ति उहाँको सम्पर्कमा आउने प्रत्येक व्यक्तिलाई लेख्न हौस्याइरहनुहुन्थ्यो ।

पछि परिवारजनलाई खबर भयो र बीएन्डबी अस्पतालमा लगियो । भोलिपल्ट तीन घन्टा लगाएर मेरो अपरेसन भयो । दुई हप्ताजति अस्पतालमै रह्यौं र महिनौं फिजियोथेरापीमा ।

यो दुर्घटनाको कुरा पछि कमल बाबुले थाहा पाउनुभयो र २०७२ जेठ २२ गते मलाई फोन गर्नुभयो । यति ठूलो घटना भएर पनि खबरसम्म गर्नुभएन भनी रिसाउनुभयो र स्वास्थ्यको ख्याल राख्नुहोस्, म भोलि भेट्न आउँछु भन्नुभयो । उहाँको मप्रतिको स्नेहको यो स्तुत्य उदाहरण हो ।

भोेलिपल्ट २३ गते साहित्यकार भुवनहरि सिग्देललाई साथमा लिएर कमलबाबु मेरो आवासमा आइपुग्नुभयो । झन्डै एक घन्टा बसेर भलाकुसारी गर्नुभयो । उहाँको यो सौम्य स्वभाव महानताको परिचायक हो ।

साहित्यिक त्रैमासिक पत्रिका 'नेपाली'को स्थापनाकालदेखि नै कमलबाबु आफैं सम्पादक रहिआउनुभएको थियो । लेखकीय साधनाका निम्ति उहाँको सम्पर्कमा आउने प्रत्येक व्यक्तिलाई लेख्न हौस्याइरहनुहुन्थ्यो । उहाँकै प्रेरणामा त्यसमा मैले पनि लेख्ने अवसर पाएको छु । एउटा लामो कालखण्डको अन्तरालमा कमलबाबुजस्ता साधकको जन्म हुन्छ । दिवंगत कमलबाबुमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै नमन हुन्छु ।

मान्छे हो रचना श्रेष्ठ कर्म गर्ने समुज्ज्वल ।
बाँची रहन्छ त्यै मान्छे, जस्को कीर्ति छ निर्मल ।।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.