बढ्दो पार्लर क्रेज
गल्कोपाखा सामाखुसी बस्ने अनिता सिंह (२५)लाई जाडोयाम निकै मनपर्छ । तर, उनलाई मौसमले रमाउने अवसरचाहिँ कमै दिन्छ । जाडो सुरु हुनेबित्तिकै उनको अनुहारको छाला एकदमै सुख्खा हुने, एलर्जी देखिने, विस्तारै उप्किएर निकै कुरूप हुनथाल्छ ।चिसोको एलर्जी सुरु भएपछि गहुँगोरो वर्णको उनको छाला कालो हुँदै जान्छ । भन्छिन्, ‘डाक्टरले भित्री रोगका कारण नभई जाडोको एलर्जी हो भनी औषधी दिएपछि केही राहत मिल्यो । त्यसपछि छालाको नियमित स्याहार गराउन ब्युटिपार्लर जान थालें । पहिलेभन्दा अहिले निकै कम हुँदै गएको छ ।’ उनी अहिले गल्कोपाखास्थित रोज ब्युटिपार्लरमा नियमित फेसियललगायत सौन्दर्य उपचार गराउँछिन् ।
बानेश्वर संगमचोकस्थित एन्जल ब्युटिपार्लरमा फेसियल गराइरहेकी गृहिणी सरिता शर्मा (३४) पनि जाडोमा हातखुट्टा र अनुहार फुट्ने समस्याले हैरान हुन्छिन् । कोल्ड क्रिमहरूको प्रयोग गर्दागर्दै पनि उनका हातखुट्टा चिरिन छाड्दैनन् । मनतातो पानीले हातखुट्टा नियमित सफा गर्दै ग्लिसिरिन र कोल्ड क्रिम लगाउन थालेपछि भने समस्याबाट निकै राहत मिल्ने गरेको उनी बताउँछिन् ।
अरूबेला सानो खटिरासम्म देखा नपर्ने उनको अनुहारमा पनि जाडो सुरु हुनेबित्तिकै अनुहार सुख्खा हुने समस्याले दुःखी बनाउँछ । भन्छिन्, ‘सर्वप्रथम सौन्दर्य आफ्ना लागि हो । आफू सुन्दर हुनुको अनुभूतिले मन आनन्दित हुन्छ । त्यसैले अचेल कम्तीमा महिनामा एकपटक अनुहारको स्याहारका लागि पार्लर जान्छु ।’ भक्तपुर लोकन्थली बस्ने उमेश लामा (२३)लाई जाडो मौसम मनै पर्दैन । जब जाडो सुरु हुन्छ, उनको मुलायम अनुहारमा एलर्जीले सताउने गर्छ । अनुहार तात्ने, पोल्ने र विस्तारै खटिरा बन्ने समस्याले उनलाई केही वर्षदेखि सताउन थालेको हो ।
सुरुका दिनमा त उनले कोल्ड क्रिम लगाउने प्रयास गरे । तर, क्रिमले पनि उनको समस्यामा खासै सकारात्मक प्रभाव देखाएन । चिकित्सक र एक जना अग्रजको सल्लाहले उनले जाडोमा पनि मनतातो पानी प्रशस्त पिउन थाले । छालाको हेरचाहका लागि गत वर्षदेखि उनी नियमितजसो सौन्दर्य सैलुन जान थाले । यस वर्ष आफ्नो समस्या ८० प्रतिशत कम भएको उनले महशुस गरेका छन् ।
जाडोका कारण छालामा समस्या भोग्ने यी केही पीडितका कुरा हुन् । चर्को घाम र खल्खली पसिना काढ्ने गर्मीभन्दा धेरैलाई जाडो मौसम मन पर्छ । तर, जाडोका कारण छाला तथा स्वास्थ्यमै असर गर्ने समस्याले हैरान भएका मानिस पनि कम छैनन् । नेपाल स्किन हस्पिटलका डा. ललन खतिवडाका अनुसार जाडोयाममा बाहिरको तापक्रम चिसिने, मानिसको शरीरको तापक्रम तातो रहनुपर्ने हुन्छ ।
यसले गर्दा मानिसको शरीरमा पानीको मात्रा कम हुन गई छाला सुक्खा हुन्छ । यस्तो बेला छालाको रक्षात्मक क्षमता कम हुन्छ । त्यसले गर्दा हावा, धुलो धुवाँलगायत बाहिरी वातावरणको प्रभाव छिटो पर्छ । चिसोमा खासगरी बालबालिका र वृद्धवृद्धामा बढी प्रभाव पर्छ । मधुमेह, थाइराइडका पीडितमा जाडोका कारण छालामा समस्या देखिन सक्छ । त्यस्तै, छालासम्बन्धी इप्थाइलोसिस (कत्ले रोग) समस्या जाडोमा झनै बढ्छ ।
जाडोमा छालाको दाद पनि बढी देखापर्छ । यो मौसममा छाला सुक्खा भएर जाने, कत्ला हुने, चिलाउने समस्याका पीडित अस्पतालमा बढ्ने गर्छन् । जाडोमा धेरै मानिस समयमा नुहाउन अल्छी गर्ने हुनाले फोहोरका कारण पनि छालामा समस्या देखापर्ने डा. खतिवडा बताउँछन् । कपालमा चाया पनि जाडोमा बढी देखापर्छ । यो मौसममा हातखुट्टाका औंला सुन्निने, निलो हुने, घाउ हुने र पाक्ने समस्याले पनि सताउँछ ।
पानी बढी प्रयोग गरिरहने हुनाले जाडो याममा महिलामा यो समस्या बढी देखिने गर्छ । अर्को, चिसोमा निस्क“दा वा नुहाउँदा शरीरमा रातो लोला वा जाबे देखापर्छ, त्यसलाई ‘कोल्ड अटिकारिया’ भनिन्छ । जाडोमा सरसफाइमा ध्यान नदिनाले छालासम्बन्धी धेरै समस्या निम्तिने चिकित्सकहरू बताउँछन् । यसै पनि हाम्रो वरपरको वातावरण धूलो, धुवाँयुक्त र निकै प्रदूषित छ । यसको प्रभाव सिधा छालामा पर्न जान्छ ।
त्यसले गर्दा कम्तीमा पनि साताको एक वा दुई पटक मनतातो पानीले नुहाउनुपर्छ । नुहाइसकेपछि भ्यास्लिन वा बडी लोसन लगाउनुपर्छ । जाडोको मौसममा शरीरलाई न्यानो राख्न तातो कपडा लगाइराख्नुपर्छ । छालामा छुने गरी सुतीको कपडा लगाएर मात्र ऊनीको कपडा प्रयोग गर्नुपर्छ । दैनिक कार्यमा तातोपानीको प्रयोग गर्ने, सकेसम्म हिटर तापिराख्ने, तातो सुप वा झोल बढी पिउनु लाभदायक हुन्छ ।
‘भिटामिन सी’ उपलब्ध हुने सुन्तला, मौसमलगायत मौसमी फलफूल प्रशस्त मात्रामा खानुपर्छ । सबैभन्दा राम्रो बिहान उठेर पसिना निस्कने गरी हिँड्नु वा व्यायाम गर्नु उत्तम हुने डा. खतिवडा बताउँछन् । जाडोमा घामको न्यानो प्रिय लाग्नु स्वाभाविकै हो । त्यसले गर्दा घामबाट हुने एलर्जी बढेको थाहै हुँदैन । जाडो मौसममा धेरै मान्छेको अनुहारमा पोतो र कतिपयको डन्डिफोर पनि बढ्छ ।
त्यसकारण यस याममा घाम ताप्दा, छालालाई छोपेर, सनब्लक लोसनहरू लगाएर वा कम्तीमा मुख घाममा नपर्ने गरी ताप्दा नकारात्मक असर नगर्ने डा. खतिवडाको सुझाव छ । जाडोमा मौसमी प्रतिक्रिया जनाउने क्षमता ‘मेटाबोलिक रेट’ उच्च हुन्छ । यो दरका कारण जाडोमा शरीरलाई गर्मी मौसमको तुलनामा जिंक, आइरन र प्रोटिनको उच्च आवश्यकता पर्छ ।
त्यस्ता खानाको मात्रा नपुगेमा कपाल झर्नेलगायत समस्या देखापर्छ । त्यसकारण जाडोमा शरीरमा यी तत्वको सन्तुलन राख्न ‘मल्टी भिटामिन’ पनि खान सकिने डा. खतिवडा सुझाउँछन् । जाडोमा कडा प्रकृतिको साबुनको प्रयोग गर्नुको सट्टा नरम प्रकृतिको साबुन प्रयोग गर्नु उचित हुन्छ । सावर जेल प्रयोग गर्नुपर्छ । डन्डिफोरको समस्या भएकाहरूले डन्डिफोर प्रतिरोधी मोस्चराइजर लगाउनु उचित हुन्छ । मुख धोएपछि मोस्चराइजर वा कोल्ड क्रिम लगाएर मात्र सनब्लक लगाउँदा राम्रो हुन्छ ।
यो मौसममा कम्तीमा दिनमा दुई पटक सनब्लक लगाउनै पर्छ । डा. खतिवडा भन्छन्, ‘शरीरका आन्तरिक प्रणाली चुस्त राख्न सके मात्र बाहिरी सौन्दर्य जोगाउन सकिन्छ । त्यसकारण स्वस्थ जीवनशैली अपनाउन हरदम प्रयास गर्नुपर्छ ।’पछिल्लो समय मानिसहरू आफ्नो सौन्दर्यप्रति सचेत बन्दै गएका छन् । खासगरी महिला बढी सचेत देखिन्छन् । तर, आजकल पुरुष पनि यसप्रति त्यत्तिकै सचेत हुँदै गएको नयाँबानेश्वरस्थित अनानेक ब्युटी सैलुन एन्ड स्पाका सञ्चालक सुरविन राई बताउँछन् ।
जाडोमा छाला सुक्खा हुने हुँदा अरू बेलाभन्दा बढी स्याहारको खाँचो पर्ने अनानेककी ब्युटिसियन विमला खाम्चा बताउँछिन् । उनका अनुसार शतप्रतिशत पार्लरको उपचारले मात्र छालाको सौन्दर्य बढ्छ भन्ने सोच गलत हो । छालामा चमक ल्याउन सर्वप्रथम भित्री स्वास्थ्य ठीक हुनुपर्छ । त्यसपछि यस्ता उपचारले त्यसमा थप चमक भर्ने काम मात्र गर्ने हो । साथै, घरेलु उपचार पनि छालाको चमक बढाउन प्रभावकारी हुने उनको भनाइ छ ।
छालाकाे स्याहार