बुद्धि बेगारीहरू
सानो छँदा कुनै काम बिगार्दा आमा भन्नुहुन्थ्यो, ‘एउटा काम पनि राम्ररी गर्न सक्दैन यो केटा । जुन काम अह्रायो, बिगारेको बिगारेकै छ । जहिले पनि बिगारेकै हुन्छ ।’ आमाको थप टिप्पणी हुन्थ्यो, ‘आफूले नसक्ने भएपछि किन काममा हात हाल्नू । म त हैरान भइसकेँ । यसको बुद्धि कहिले आउने होला ?’अचेल म छोरालाई भन्न थालेको छु, ‘कुनै कामको जिम्मा दियो कि बिगार्न मात्रै जानेको छ, यल्ले ।
यसलाई कुनै कामको जिम्मा दिनु बेकारै छ । कुनै कामको जिम्मा दियो भने त्यो बिग्रियो भनेर जाने हुन्छ । आखिर, यसको बुद्धि कहिले आउँछ होला ?’ तर, बुद्धिले कुन बच्चा, कुन वृद्ध केही पनि नपहिल्याउँदो रहेछ । मेरो टोलकै उदाहरण दिन्छु । कतिपय केटाकेटीमा यति धेरै बुद्धि पलाएको हुन्छ कि उनीहरूसँग कुराकानी गर्नुअघि सोचविचार नै पुर्याउनु पर्छ ।
तर, कपाल फुलाएका कतिपय मानिससँग भने म आजित हुन्छु । उनीहरूमा अहिलेसम्म पनि बुद्धि नपलाएको देख्दा कतै उनीहरूको बुद्धि बाँझो भूमिमा त परेन भन्ने आशंका पनि उत्पन्न हुन्छ ममा । अस्ति भर्खरै एक जना मेरो टोलवासीले आफ्ना छिमेकीलाई झपार्दै थियो । ऊ भन्दै थियो, ‘म त आजित भइसकेँ । तपाईंको बुद्धि कहिले आउने होला ।
कपाल फुलेर सेतै भइसक्यो । त्यत्रो वर्ष संघर्ष गर्नुभो, जेलनेल खप्नुभो, पटक–पटक ठूलै ठाउँमा पनि पुग्नुभो । तर, तपाईंमा केटौलेपन कहिल्यै गएन । कहिले के प्याच्च बोलेको छ, कहिले थुतुनो खकालेको छ । यस्तै पारा हो भने तपाईंको बुद्धि पलाउन अझै कैयौं वर्ष कुर्नुपर्छ ।’ अर्को दिन, त्यही टोलवासीले टोलकै अर्का बासिन्दालाई खगार्दै थियो, ‘तपाईंलाई के भन्ने ? यदि यो टोलको नेता बन्ने हो भने, कुर्सीमा जाने हो भने यही टोलका बासिन्दाहरूसँग कुराकानी गरे हुँदैनथ्यो ? यो टोलमा उत्पन्न समस्याहरू यहीं बसेर टुंग्याउँदा हुँदैनथ्यो ? आखिर, अर्कै टोलवासीसँग सल्लाह गर्न किन दौडिनुपर्यो, पटक–पटक ।
अरूले के भन्लान् भन्ने कुनै पीर नै छैन । यसरी अर्कै टोलवासीहरूसँग हारगुहार गर्न जान सुहाउँछ ? खै ! के भन्ने तपाईंलाई ? यत्रो उमेर भइसक्यो, कपाल फुलिसक्यो, नपुग्दो केही छैन । तर, तपाईंको बुद्धि अझै पनि आएन ।’ त्यही टोलवासीले अर्को दिन एउटा मान्छेलाई झाँट्दै थियो । उसले भन्दै गयो, ‘मैले त तपाईंलाई झनै परिपक्व मान्छे ठानेको थिएँ । त्यत्रो वर्ष जंगल, खेत, खलिहानहरूमा रहेर लड्नुभयो । लड्दा–लड्दै थाकेपछि यो टोललाई सम्हाल्ने जिम्मेवारी बोकेर आउनुभयो ।
तपाईंबाट धेरैले धेरै अपेक्षा राखेका थिए । अहिले त सुखसयलकै जिन्दगी बिताइरहनु भएको छ । तर, तपाईंको बुद्धि पनि अझै छिप्पिसकेको रहेनछ । कहिले के बोल्या छ, कहिले के बोल्या छ । आफ्नै बोलीको भर छैन । बोल्नमा ठिक्क, काममा दिक्क । आखिर, तपार्इंको बुद्धि कहिले आउने होला ?’ मेरो टोलमा बुद्धि बेगारीहरूको अचेल भीड नै लाग्न थालेको छ ।
जति सम्झाए पनि, बुझाए पनि ती बुद्धि बेगारीहरू एक चिम्टी पनि सच्चिन चाहँदैनन् । म पनि आजित भइसकेको छु अचेल त । तर पनि, मैले भन्न छाडेको छुइनँ, ‘महोदय, पिण्ड खाने बेला भइसक्यो, तपाईंहरूमा कहिले पो बुद्धि आउने होला ?’