तन्नेरीको ‘स्ल्याङ’ प्रेम
काठमाडौं कालिमाटीको स्विटकेभ क्याफेभित्र केही तन्नेरी चिया पिउँदै थिए । तीमध्येका एकले भने, चिया त ‘कडो’ रै’छ । अर्काले सोधे, ‘के कडो, चिनी कि चियापत्ति ? फेरि अर्काे आवाज– यो कस्तो ‘ग्वाँच’ छ भने । ‘कडो’ भनेको मीठो क्या । स्वयम्भू स्तुपानजिकै बेन्चमा बसेर आगन्तुकलाई नियालिरहेका केही तन्नेरीमध्ये एकले ‘माने’ घुमाउँदै गरेकी युवतीतिर संकेत गर्दै भने, क्या ‘बुलेट’ यार । अर्काले थपे, त्यही त ! क्या ‘प्वाँट’ ।
माथि प्रयोग भएका ‘कडो’, ‘ग्वाँच’, ‘बुलेट’, ‘प्वाँट’ जस्ता शब्द पछिल्लो समय युवामाझ प्रयोग हुने साझा शब्द हुन् । यस्ता शब्दलाई अंग्रेजीमा ‘स्ल्याङ वर्ड’ भनिन्छ । नेपालीमा भने त्यस्तो ठ्याक्कै शब्द नरहेको लेखक केदार शर्मा बताउँछन् । भाषाविद् राम लोहनी पनि शर्मासँग सहमत देखिन्छन् । तर, कुनै खास समूहले आफ्नो समूहमा मात्रै अर्थ खुल्ने गरी चल्तीमा ल्याउने शब्दलाई ‘स्ल्याङ वर्ड’ भन्न सकिने लोहनीको धारणा छ । भन्छन्, ‘एउटा समूहको स्ल्याङ वर्ड अर्कोमा अर्थपूर्ण नहुन पनि सक्छ ।
एउटा समूहले प्रयोग गर्ने शब्द, अर्को समूहले नबुझ्न पनि सक्छ ।’ आफूले पनि कहिलेकाहीँ स्ल्याङ वर्ड प्रयोग गर्ने गरे पनि नेपालमै त्यसको इतिहास किटान गर्न नसकिने शर्माको बुझाइ छ । भन्छन्, ‘पहिले पनि यस्ता शब्द प्रयोग हुन्थे तर कम । अहिले मानिसबीच सम्पर्क वृद्धि भएकाले प्रयोग बढेको छ ।’ यस्ता शब्द सामाजिक, सांस्कृतिक सन्दर्भबाट आउने शर्माको धारणा छ । आजकाल सिक्ने दायरा पनि फराकिलो हुँदै गएको छ । कुनै स्ल्याङ वर्ड अन्य भाषाबाट पनि ल्याएर प्रयोग गरिन्छन् । प्रायः कुनै मूल शब्द बिग्रिएर समाजमा पच्ने क्रममा निर्माण हुने शर्माको बुझाइ छ । यस्ता शब्द अन्य भाषामा पनि प्रचलनमा रहेको लोहनी बताउँछन् ।
घरमा पनि बानी
सामाखुसीस्थित रेडन कलेज कक्षा १२ का सरोज बस्नेत पनि यस्ता शब्द प्रयोग गर्छन् । कतिपय त बोल्दा–बोल्दै जिब्रोमा झुण्डिन्छन् । ‘कहिलेकाहीँ आमाबुवासँग बोल्दा पनि यस्ता शब्द आउँछन् । अब त उहाँहरूले पनि बुझ्न थालिसक्नु भयो होला,’ उनी मुस्कुराए । मानभवनस्थित प्रसादी कलेजमा कक्षा १२ मा अध्ययनरत सृष्टि ढकाल स्ल्याङ वर्ड साथीभाइबीच मात्र बोल्छिन् ।
ल्याङल्याङ, तोर्पे, खेपाजस्ता शब्द उनको जिब्रोमै झुण्डिएका छन् । घरमै पनि भाइहरूसँग झगडा पर्दा उनी यस्ता शब्द प्रयोग गर्दै गाली गर्छिन् । भन्छिन्, ‘घरमा यस्ता शब्द नबोलौँ भन्छु तर आइहाल्छ । बानी लागेपछि कसैको केही नलाग्ने । आमाले सुन्नु भयो भने ‘के बोलेको यस्तो’ भन्दै गाली गर्नुहुन्छ ।’
चिया पसलमा बस्दा होस् या कक्षामा शिक्षकले पढाउँदा तन्नेरीहरू स्ल्याङ वर्डको प्रयोग गर्छन् । बालै भएन, सोम, च्वाँक, तोप, सिक, ढ्याब्रे, गिलास वाणी, गोटिया, गिदी, ल्याङल्याङ, पात, घण्टा, तोरी लाउरे, टेरिया, मुरली बजाउने, आँपे, ठूल्कान्छा, भेजा, टिटी, गोलखाडी, पाचके, घच्ची, कच, मामा, चार्ज, पत्रु, लम्फू, हरिलठ्ठक, बाबाजीको ठुल्लुजस्ता शब्द जहाँतहीँ सुन्न सकिन्छ ।
प्रायः साथीसर्कल र ग्याङमा सुनिने यस्ता शब्दको अर्थ धेरैले बुझ्दैनन् । कतिपय अवस्थामा साथीभन्दा बाहिरकाले नबुझुन् भनेरै स्ल्याङ वर्डको प्रयोग गर्ने गरेको बताउँछिन् सृष्टि ।कहिलेकाहीँ त आफ्नो सर्कलमै नबुझिने हुन्छ । अन्नपूर्ण स्कुल, गैरीगाउँका प्राध्यापक स्वागत केसी साथीहरूसँग केही समयअघि कोटेश्वरको एउटा होटेलमा गए।
खाजा खाएर उठ्ने बेलामा एक साथीले बोले, ‘आज त आफू ‘ठनठन गोपाल’ हो यार ।’ उनले बुझेनन् । स्वागतले भने, ‘जेसुकै गोपाल भए नि पैसा तिर् । आज तेरो पालो हो, नाटक नगर् ।’ साथीले कानमा आएर भन्यो, ‘मसँग पैसा छैन क्या ।’ बल्ल स्वागतले थाहा पाए, पैसा छैन भने ‘ठनठन गोपाल’ भनिँदोरहेछ । भन्छन्, ‘ज्याक हान्ने (चोर्ने), सुइरे (पातलो), छ्याकन (दलाली), राजदल्याभीमे (बढेमानको मान्छे) आदि । मान्छेको हुलमा यस्ता शब्द बोल्न पनि मजा नै हुन्छ ।’
पहिले पनि यस्ता शब्द प्रयोग हुन्थे तर कम । अहिले मानिसबीच सम्पर्क वृद्धि भएकाले प्रयोग बढेको छ । केदार शर्मा , लेखक /पत्रकार
आलु जस्तो (काम नलाग्ने), कच (कचकच गर्नु), गाँडे (रिस उठ्दो), चार्ज हान्यो (प्रहार गर्याे ), खोया जस्तो (काम नलाग्ने), लन्ठु (काम नलाग्ने), घामट (असजिलो), बतासे हान्ने (जिस्क्याउने), सर्के (गाँजा खाने मान्छे), बुलेट (राम्रो), हन्तकाली (धेरै खाने), पङ्गु (खत्तम), गिल्ला गर्नु (जिस्काउनु), बङ्क हान्नु (छाड्नु), लफडा (तनाव दिनु), भुकड (पैसा नभएको), चोराखन्ती (बद्मास), साइको (अरूभन्दा फरक हुन खोज्ने) जस्ता शब्द पछिल्लोे समय तन्नेरीका मुखबाट सुनिन्छन् ।
प्रयोग किन ?
स्ल्याङ वर्डले आफूलाई ‘प्लेजर’ दिने गरेको बताउँछन् सरोज । भन्छन्, ‘कहिलेकाहीँ भीडभन्दा भिन्न रहनका लागि पनि यस्ता शब्दको प्रयोग गरिन्छ । यही कारणले प्रयोग गर्छु भन्नलाई प्रस्ट आधार छैन ।’ कलेजमा सरोज साथीहरूसँग गफिँदै थिए । एक जनाले उनलाई चित्त नबुझ्ने कुरा बोले । उनले रिसाउँदै भने, ‘चुप माइला । बढ्ता जान्ने नहो ।’ कान्छा भन्ने शब्द धेरैले प्रयोग गर्न थालेकाले पछिल्लो समय ‘माइला’ शब्द चल्तीमा आएको उनको भनाइ छ ।
यस्ता स्ल्याङ वर्ड अरुभन्दा फरक रहन र हँसीमजाक गर्नका लागि आफूले बोल्ने गरेको बताउँछन् क्यापिटल हिल कलेज कक्षा १२ मा पढ्ने शाहिल केसी । उनको भनाइमा प्रायः ‘फन्नी’ किसिमका हुन्छन् । भन्छन्, ‘मलगायत साथीहरू लिंडे, तोरी, पातजस्ता शब्द प्रयोग गर्छौँ । यस्ता शब्द सुन्दा एक त हाँसो उठ्छ, अर्काे सामान्य मान्छेले बोल्नेभन्दा फरक पनि छ ।’ कसै–कसैले यस्ता शब्द अर्काको ध्यान आकर्षित गर्न पनि प्रयोग गर्छन् ।
युवाले अपशब्दको सट्टामा पनि यस्ता बोल्ने गरेको पाइन्छ । साँझपख वसन्तपुर डबलीमा जम्मा भएर बसेका केही तन्नेरीबीच केहीबेर बस्ने कि घर जाने विषयमा बाझाबाझ हुँदै थियो । एउटाले भन्यो, ‘घण्टाजस्तो, रातभरी यहीँ बस् ।’ घण्टा शब्दले पुरुषको यौनांगलाई जनाउने बानेश्वरका सुमन अधिकारी बताउँछन् ।
प्रयोग हुने स्थान
साथीहरू जम्मा हुँदा स्ल्याङ वर्ड प्रायः सबै ठाउँमा प्रयोग हुन्छ । कलेज, क्याफे, पार्कजस्ता ठाउँहरूमा यस्ता शब्द धेरै सुनिने गर्छन् । घर परिवारमा भने यस्ता शब्द कमै सुनिन्छन् । शहिल पनि यस्ता शब्द आफूले घरपरिवारमा प्रयोग नगर्ने बताउँछन् । भन्छन्, ‘घर बाहिर निस्केपछि आफैं मुखबाट निस्किन थाल्छन् ।’
बीजीएम सैनिक महाविद्यालय, स्वयम्भूमा कक्षा १२ मा पढ्ने प्रसिद्धि शर्मा कतिपय स्ल्याङ वर्ड घरमै पनि प्रयोग गर्छिन् । ल्याङल्याङ, तोर्पिनी, खेपाजस्ता शब्दले नराम्रो अर्थ नदिने भएकाले परिवारकै अगाडि बोल्दा पनि खासै फरक नपर्ने उनले बताइन् । यी शब्दले के अर्थ राख्छन् त ? शर्मा भन्छिन्, ‘ल्याङल्याङ भनेको किचकिच गर्नु, तोर्पिनी भनेको काम नलाग्ने, खेपा भनेको पाखे ।
भाइहरूसँग झगडा पर्दा यस्ता शब्द लिँदै गाली गरिन्छ । गलत अर्थ लाग्ने भए पो बोल्नु हुँदैन है भन्नु । आफू त जहाँ पनि बोलिन्छ ।’ सृष्टि पनि घरमा यस्ता शब्दको प्रयोग गर्छिन् । भाइहरूसँग झगडा गर्दा विभिन्न स्ल्याङ वर्ड आउँछन् । एकपटक उनले भाइलाई गाली गर्दै ‘कस्तो खेपा रैछ ! ल्याङल्याङ गर्छ धेरै’ भनिन् । ‘बुबाआमाले यस्ता शब्द सुने भने बालै भएन,’ उनले हाँस्दै भनिन् ।
त्यसो त, कलेजमा पनि यस्ता शब्दको प्रयोग हुन्छ । विशेषगरी शिक्षकलाई गाली गर्न विद्यार्थीहरू स्ल्याङ वर्डको सहारा लिन्छन् । सृष्टि भन्छिन्, ‘सरहरूले झूर पढाए भने पछाडि बसेर कस्तो तोर्पे सर रैछ भन्दै साथीहरूसँग कुरा काटिन्छ ।’
अपेक्षा के ?
आफ्नै साथीले मात्र बुझुन् भनेर स्ल्याङ वर्डको प्रयोग गर्ने बताउँछन् स्वागत । उनी आफूलाई मन नपरेको मान्छेलाई ‘झारपात’ भन्छन् । त्यस्तै मन परेका मान्छेलाई ‘जिग्री’ भन्छन् । कतिपय शब्द अरूले बुझे भने अप्ठ्यारो पर्न सक्छ । त्यसैले अरूले अर्थ थाहा नपाऊन् भनेरै स्ल्याङ शब्द प्रयोग गर्नुपर्छ भन्छन् उनी ।
गुच्ची, चिक्स, छप्की, सेल्फी, ज्याक हान्ने, बोकाजस्ता शब्द सामान्य अर्थमा समाजमा प्रयोग गरिँदैन । सुमन भन्छन्, ‘गुच्ची, चिक्स र छप्कीले युवतीलाई जनाउँछ, सेल्फीले हस्तमैथुन, ज्याक हान्नेले चोर्ने, बोकाले स्त्री लम्पटजस्ता अर्थ बोक्छन् ।’
बुझ्नै गाह्रो
फेसबुकको चल्तीको एउटा ग्रुपमा एक युवकले पोस्ट गरे, ‘यहाँ एक बट्टा चुरोट भेट्टाइयो । सामान्य होला भनेको त ‘लोडेड’ पो रहेछ । आउनुस् खान ।’ लोडेड भनेको बुझ्नेहरूले कमेन्ट गर्न थाले । एउटाले भन्यो– ‘लोडेड भए त भेटौँ न हो’ । अर्काेले भन्यो– ‘लोडेड भनेको चैँ के हो ?’ स्वागत भन्छन्, ‘लोडेड भनेको चुरोटबाट आधा सुर्ती निकालेर त्यहाँ गाँजा भर्ने भनेको हो ।’
तन्नेरीका यस्ता वर्ड नबुझ्ने धेरै हुन्छन् । इटहरीका सुमनले घरमा हुने गरेको एउटा घटना सुनाए, ‘मेरो भाइ चुरोट खान्छ । म पनि खान्छु । घरमा चुरोट खाने कुरा गर्याे भने त मार्छन् । तर, खान मन लाग्छ के गर्ने ? भाइले आमाकै अगाडि भन्छ, दाइ सिक छैन । आमालाई सिक भनेको चुरोट हो भन्ने थाहा नै छैन । कहिलेकाहीँ थाहा नपाउनु पनि राम्रै हुन्छ ।’ मध्यबानेश्वरस्थित जस्तापाताले घेरेको सानो चिया पसलमा केही तन्नेरी छिर्दै भने, दिदी ! तीन वटा ‘घच्ची’ को चिया बनाउनु त ।
चियावाला दिदी अलमलमा परिन् । केटाहरूले बुझे, दिदीलाई ‘घच्ची’ भनेकै थाहा भएन । त्यसैमध्यको एउटा अलि पुड्को केटाले भन्यो, ‘तीन वटा मीठो चिया बनाइदिनु भनेको के दिदी ।’बाह्रमासे (तास खेल्ने), पासा (साथी), खलास (सकियो), च्याँसी (पातली), जिग्री (साथी), सर्के (गाँजा खाने), बामे (डल्ले), गल्लरी (रक्सी खाइरहने), झकास (राम्रो), ट्युबलाइट (ढिलो बुझ्ने), मामा (पुलिस), खोया (काम नलाग्ने), पाचके (दही चिउरे), गिदी गर्ने (दिमाग खाने), पात (काम नलाग्ने) जस्ता शब्द धेरैले मान्छेले बुझ्दैनन् ।