मदिराको साटो आलु
रोटी, रक्सी आदि कोसेली दिने बागलुङका पश्चिमी गाउँ ढोरपाटन, तारा निसीलगायतका बासिन्दाले पछिल्लो समय पाहुनालाई कोसेलीस्वरूप आलु दिन थालेका छन् ।उल्लेख्य मात्रामा आलु उत्पादन भएपछि उनीहरूले छोरीचेलीदेखि नेता, हाकिमसम्मलाई धेरथोर कोसेलीका रूपमा थैलीमा आलु टक्र्याउँछन् । तारा गाउँका कृषक मनरूपा शेरपुञ्जाका अनुसार सहर बजार र आफन्तकहाँ जाँदा पहिले रोटी, रक्सी लिएर जानु अनिवार्य जस्तै थियो ।
उनी भन्छिन्, ‘आजकाल रक्सीले बिगार गर्छ भनेर बरु अलि धेरै आलु कोसेलीस्वरूप दिएर पठाउने संस्कार नै बस्न थालेको छ ।’तारा गाउँमा एकै व्यक्तिले एक सय मुरीसम्म आलु उत्पादन गर्छन् । कम उत्पादन गर्नेले पनि कम्तीमा १० मुरी आलु उत्पादन गर्ने सामाजिक अगुवा दण्डपानी कँडेलले बताए ।
‘एक व्यक्तिले न्यूनतम १० हजारदेखि २/३ लाखसम्मको व्यापार गर्ने गर्छन्,’ उनी भन्छन्, ‘यही पैसाले घर खर्च चलाउन र छोराछोरी पढाउन पुगेको छ ।’ रासायनिक मल प्रयोगमा निषेध गरेकाले यस क्षेत्रको आलु अर्गानिक छ । तारा गाविसमा जिल्ला कृषि विकास कार्यालयले बीउ संरक्षणका लागि ‘रोस्टिक स्टोर’समेत बनाएको छ, जसमा २० टनसम्म आलु बीउका लागि राख्न सकिन्छ ।
ढोरपाटन र निसीको आलुको माग पनि उस्तै बढ्दो छ । चिसो ठाउँ भएकाले स्वादिष्ट र ओसिलो हुने भएकाले पकेट क्षेत्रका रूपमा रहेका यी गाउँमा बेसीबाट धान, कोदो र पैसा लिएर आलु साट्नका लागि गाउँमै पुग्ने गर्छन् । पकेट क्षेत्र मानिएको तारा, ढोरपाटनलगायत जिल्लाभरमा गरी यस वर्ष ४० करोड ९० लाख रुपैया“ बराबरको आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तीन हजार हेक्टरमा गरिएको वर्षे आलु खेतीबाट ११ हजार ६ सय ९४ मेट्रिक टन उत्पादन भएको छ । दुई हजार हेक्टरमा हिउँदे आलु लगाइने गरिएको छ ।कृषि प्रसार अधिकृत विप्लव अधिकारीका अनुसार जिल्लामा उत्पादित आलुको ५० प्रतिशतभन्दा बढी बजारीकरणमा अझै समस्या देखिएको छ । जिल्लामा उत्पादित आलु होलसेलमा प्रतिकेजी ३५ देखि ५० र खुद्रामा ५० देखि ७० रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुन्छ ।
निर्भरतामुखी खेती प्रणालीमा सुधार भएर पछिल्लो समय आलु खेती व्यावसायिक रूपले अगाडि बढ्न थालेको वरिष्ठ कृषि विकास अधिकृत मदन थापाले बताए । कृषक व्यावसायिक बन्नु, उन्नत जात भित्रिनु, पुरानो खेती प्रविधि आधुनिक बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण हुनु, बजारको पहुँच विस्तार हुनु, अन्य बालीको तुलनामा सजिलो र नगद आम्दानी हुने भएकाले आलुखेतीतर्फ कृषकको आकर्षणसँगै उत्पादन बढ्दै गएको उनको भनाइ छ ।
चिसो हावापानीमा प्रांगारिक मलबाट मात्र उत्पादन भएको अर्गानिक आलु स्वादिलो र गुणस्तरीय हुने भएकाले बागलुङको ताराखोला, ढोरपाटन क्षेत्रमा उत्पादित आलुको माग बढ्दै गएको छ । बजार माग बर्सेनि बढ्दै जान थालेपछि कृषक उत्साहित छन् । ढोरपाटनमा दिनभर र तारामा करिब चार घण्टाको जिपको यात्रामा पुगिने भएकाले ढुवानीमा अझै समस्या र झन्झट रहेको ढोरपाटनका कृषक धनबहादुर विक बताउँछन् । भन्छन्, ‘यहाँका पकेट क्षेत्रमा भण्डारण केन्द्र स्थापना गरेर व्यावसायिक सोचका साथ काम गर्न प्रोत्साहित गर्ने र ढुवानी व्यवस्थापन गर्नसके यो क्षेत्र अझ आलुमय बन्नेछ ।’
आलु खेती प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले ‘बीउ आलु आत्मनिर्भर कार्यक्रम’का साथै सुरक्षित भण्डारणका लागि विभिन्न ठाउँमा शीतभण्डार निर्माणमा सहयोग गर्छ । ‘उत्पादन व्यवसायिक हुन थालेपछि नमुनाका रूपमा यस वर्ष तारा र ढोरपाटनको आलु ब्रान्डिङ गरेर बिक्री गर्ने तयारीमा छौं,’ वरिष्ठ कृषि विकास अधिकृत थापा भन्छन्, ‘यसबाट जिल्लाको स्वादिष्ट आलुको थप प्रचार–प्रसार र बजारीकरणमा टेवा पुग्नेछ ।’
ि