यात्रामा भेटिन्छन् पात्र
सिनेमा र रेडियो–नाटक लेख्दालेख्दै कथा–किताबको आवश्यकता किन महशुस भयो ?
देखेका र भोगेका धेरै घटना हुन्छन । त्यतिमात्रै हैन कल्पना गरेका पनि धेरै कुरा हुन्छन्, जो नाटक र सिनेमामा नआउन सक्छ । सिनेमा र नाटकमा आफूमात्रै हैन लगानीकर्तादेखि धेरैको ख्याल गरेर लेख्नुपर्छ । कथामा भने स्वतन्त्रता अली बढी छ । त्यसैले कथाविधा रोजेँ ।
पहिलो कथा–किताब ‘साउने झरी’ले कस्तो अनुभूति दियो ?
औसत नै रह्यो । धेरैभन्दा धेरै पाठकमा पुर्याउन सकिएन । अझैपनि धेरै पसलमा र प्रदर्शनीमा किताब पुगेका छैनन् । त्यसैले, राम्रो बजारीकरणको आवश्यकता महशुस भएको छ । तर, जतिले पढ्नुभयो, उहाँहरूको प्रेरणादायी पृष्ठपोषणले नयाँ लेख्न हौस्याएको छ ।
सिनेमा लेख्ने मानिसले कथा लेख्दा त्यसको सिनेमाकरण गर्ने लोभ लाग्दैन ?
अवश्य पनि लाग्छ । लेख्दा पनि धेरै ठाउँमा दृश्य भाषाहरू आउने हुन्छन् । त्यसैले कसैले फिल्मको कथा लेख्न अनुरोध गरे भने किताबका कथाहरू पढ्न दिने गरेको छु । यदि कुनै कथाले छोए त्यहीँको कथाको पटकथा लेख्न सकिन्छ । तर कथाको किताबमा समेटिकएका कथाहरू अहिले चलिरहेका फिल्मी शैलीका नहुन सक्छन् ।
तपाईंका कथाका लागि कसरी पात्रहरू खोज्नुहुन्छ ?
यात्राले लेखकलाई धेरै फाइदा गर्छ । म त्यस्तै धेरै यात्रा गर्ने र यात्राका धेरै कुरा टिपोट गर्नेमा पर्छु । त्यसै क्रममा अनेकौं पात्र र घटनासँग साक्षात्कार हुन्छ । जसले कथा लेखनमा मलाई सहयोग पुगेको छ । हरेक मान्छेसँग गहिराईमा पुगेर कुरा गर्दा एउटा पात्र पाउने गर्छु म ।
तपाईंको अर्को किताब कुन विधाको हुनेछ ?
अर्को किताब तयारी नै त छैन । तर, कथा र उपन्यासमध्ये एक हुन्छ त्यो । १५ वटा कथाचाहिँ तयारी अवस्थामा नै छन् ।