संकट समाधानको बाटो

संकट समाधानको बाटो

संविधान संशोधनको विषयमा संसद् लामो समयदेखि अवरुद्ध रहिरहँदा सर्वोच्च अदालतले १८ गते गरेको फैसलाको पृष्ठभूमिमा राजनीतिक दलहरूबीचको बढ्दै गएको टकराव मत्थर हुने संकेत देखा परेको छ ।

पेलेरै भए पनि संविधान संशोधनको विधेयक टेबुल गराउने दिशातिर उन्मुख देखिएको सत्तापक्ष सो फैसलापछि आफ्नो आक्रामक रणनीति बदल्न बाध्य भएको हो कि भन्ने अनुमान गरिएको छ । प्रदेश सीमांकन हेरफेरको मुद्दा प्रदेश सभाबिना सम्भव नरहेको र अहिलेको रूपान्तरित संसद्ले जबर्जस्ती सीमांकन परिवर्तन गरेमा सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाअनुसार त्यसलाई उल्टाउन सक्ने भन्ने निर्णय आएपछि सत्ता पक्षलाई नैतिक संकट आएको छ ।

अर्कोतिर संविधानविपरीत ल्याइएको सीमांकन हेरफेरसहितको संशोधन विधेयक टेबुल हुने÷नहुने भन्नेमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न नमिल्ने भन्ने अर्को फैसलाले प्रतिपक्षी दलहरूले गर्दै आएको संसद् अवरुद्धको विकल्पबारे सोच्न मार्गप्रशस्त गरेको देखिन्छ । यसखाले बदलिएको परिस्थितिमा अबको निकास के होला र देश कसरी अघि बढ्नुपर्छ भन्ने आम चासोको विषय बन्न गएको छ ।

९० प्रतिशत जनप्रतिनिधिको स्वीकार्य बढाउने नाममा नेपालको कुनै पनि माटोबाट नउम्रेको बेमौसमका माग पूरा गरेर कसलाई खुसी पार्ने नियत लुकेको छ भन्नेमा अब कुनै सन्देह रहेन । शक्तिशाली प्रतिपक्षसहित नौवटा दलहरूको शक्तिविरुद्धमा रहँदा संविधान संशोधनको पक्षको शक्ति ६६ प्रतिशतभन्दा कम बन्न पुग्छ । ९० प्रतिशतको विशाल स्वीकार्यलाई थप व्यापक बनाउने सत्ता पक्षको अभियान लगभग ६६ प्रतिशतको विशालतामा ल्याएर खुम्च्याउने परिदृश्य अनौठो छ ।

नेपाल त्यस्तो देश हो, जहाँ राजनीतिमा अगाडि बढ्न विभिन्न कालखण्डमा विभिन्न दलका विभिन्न नेताहरूले देशको भन्दा बाह्य शक्तिकेन्द्रलाई निर्णायक भूमिकामा राख्दै आए । कतिपय अवस्थामा आफ्नो निहित स्वार्थसिद्ध गर्न बाह्य हस्तक्षेप निम्त्याउने काम गरे भने कतिपय अवस्थामा बाह्य शक्ति केन्द्र जबर्जस्त हस्तक्षेपको चरणमा उत्रियो ।

देशलाई प्रजातन्त्र र जनतालाई अधिकार चाहिन्छ, यसमा कुनै शंका छैन । सँगसँगै अर्को सत्य के हो भने बाह्य शक्तिकेन्द्रको सहयोगमा प्राप्त प्रजातन्त्रको घातकता र यसले जनताको अधिकारमा ल्याउने कुपोषण कति खतरनाक हुन्छ भन्ने त ०१७ सालको महेन्द्रको कदमले प्रस्ट पारेकै छ ।

०७ सालको राजा त्रिभुवनको दिल्ली उडान र तत्काल भएको त्रिपक्षीय दिल्ली सम्झौताको वरिपरिबाट दक्षिणतिर सर्दै गएको नेपालको राजनीतिक शक्तिकेन्द्र ०६२÷६३ पछि नयाँ ढंगमा देखा पर्‍यो । २०७२ सालको संविधान घोषणाको सेरोफेरोबाट उक्त शक्तिकेन्द्र नेपाललाई खुलमखुला पूरै नियन्त्रण गर्ने तहमा उत्रियो । अहिलेको संविधान संशोधनको मुद्दाको चुरो कुरो यही हो ।

नेपालको आफू स्वतन्त्र ढंगले विश्व राजनीतिक मञ्चमा देखा पर्नुपर्छ भन्ने मान्यता र हाम्रो नजिकको मित्रको—नेपाल आफ्नो छत्रछायामा हुर्कनुपर्छ र विश्व मञ्चमा नेपालले भारतीय दृष्टिकोण बोल्नुका साथै आफूले लगाएबमोजिम गर्नुपर्छ भन्ने सोचबीचको टकराव संविधान संशोधनको विधेयकमा प्रकट भएको मात्र हो ।

यसले न कुनै मधेसी मूलका नेपालीहरूको अधिकारको प्रतिनिधित्व गर्छ न त नेपालको तराईको समृद्धिको सपना र कल्पना नै बोक्ने काम गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले भनेजस्तै यो विधेयकले किस्ता-किस्तामा नेपालको तराई र पहाडबीच भयानक खाडल खन्दै जाने र अर्को राष्ट्रियताको एजेन्डा बलियो बनाउँदै जाने र अन्ततः पहाड र तराई आपसमा मिल्नै नसक्ने वातावरण तयार गर्दै अलग गर्ने नियत लुकेको धेरैतिरबाट पुष्टि भइसकेको देखिन्छ ।

यो अवस्थामा सत्तापक्ष किन एकोहोरो रूपमा संविधान संशोधन गर्नैपर्ने रटान लगाउँदै आएको छ भन्ने पनि अब दोधारको विषय भएन, किनकि सत्ता पक्षले नेपालको एजेन्डा नै बोकेको देखिएन ।
त्यसो भए के नेपालको स्वाधीनताको संकट टार्नै नसक्ने बिन्दुमा पुगेको हो ? के नेपालीले देशको अस्तित्व जोगाउनै नसक्ने अवस्था छ ? छैन ।

नेपालीको गौरवमय विगत र ओझपूर्ण वर्तमानले त्यसो हुन दिने छैन । त्यसको लागि मुख्य राजनीतिक शक्तिहरू छातीमा हात राखेर आफैंले आफैंलाई सोध्ने बेला आएको छ कि आफ्ना कदमहरू साँच्चै राष्ट्रहितको पक्षमा छन् वा कोही अमूक पात्रलाई खुसी तुल्याउने खालका छन् ? राजनीतिक जीवनमा आइसकेपछि सयौंपटक सयौंलाई साक्षी राखेर खुला तथा बन्द रूपमा खाएको देशप्रतिको शपथको मर्म खोज्नुपर्ने बेला आएको छ ।

संविधान संशोधनको बेलामा एक भएका मुख्य राजनीतिक शक्तिहरू फेरि एकपटक एक ठाउँमा उभिने दायित्व इतिहासले मात्र होइन, सर्वोच्च अदालतको फैसलाले समेत सुम्पेको छ । सीमांकन अहिलेको संसद्ले हुनै नसक्ने भनिदिएपछि सत्ता पक्षले यही विधेयकलाई अगाडि बढाउन खोज्नु राजनीतिक, नैतिक र संवैधानिक हिसाबले समेत बेइमानीबाहेक अर्को हुने छैन ।

सर्वोच्चको फैसलाको मर्मअनुसार सीमांकनबाहेकको मुद्दामा छलफल गर्न सक्ने भनी मुख्य प्रतिपक्ष दलले निर्णय गरेको स्थितिमा सत्ता पक्ष अहिलेकै विधेयकलाई अगाडि बढाउने मूर्खता गर्‍यो भने त्यो नयाँ संकटको बीउ बन्नेछ ।

नेपाललाई निकास दिनु, घोषित संविधानको कार्यान्वयनलाई तीव्रता दिनु, दसकौंदेखिको जनप्रतिनिधिविहीनको स्थानीय निकायको अवस्थाको अन्त्य गर्नु र देशलाई निर्वाचन प्रक्रियामा लैजाने बाटोमा देखा पर्ने सबैखाले चुनौती र हस्तक्षेपको विरुद्धमा दह्रो ढंगले आफ्नै खुट्टा टेक्नु मुख्य राजनीतिक शक्तिहरूको प्रधान दायित्व हो ।

यो राष्ट्रिय दायित्वबाट पछि हट्ने कुनै पनि राजनीतिक दललाई जनताले राम्रोसँग चिन्नेछन् र उचित समयमा जनताले राष्ट्रिय हित र स्वार्थको पक्षमा फैसला गरी राष्ट्र बचाउनेछन् भन्नेमा कुनै शंका छैन । आवेगको मात्रालाई कम गर्दै सबै पक्ष विवेक प्रयोगको दिशामा अघि बढ्नुपर्छ ।

सत्ता पक्षले प्रयोग गर्ने विवेक भनेको अहिलेको संविधान संशोधनको विधेयकबाट सीमांकनको विषय थाँती राखेर बाँकी कुरा संसद्मा पेस गर्ने भन्ने हो । प्रतिपक्षको विवेक भनेको सीमांकन मुद्दालाई कुनै पनि हालतमा अघि बढ्नबाट रोक्ने र बाँकी मुद्दा संसद्को छलफलमा लैजान दिने भन्ने हो ।

मधेसी दलहरूको विवेक भनेको सारा जनताले अस्वीकार गरेको, प्रतिपक्षले संसद् र सडकमा शक्ति प्रदर्शन गरिरहेको र सर्वोच्च अदालतले समेत भोलि उल्टिन सक्ने भनी सचेत गराएको सीमांकनको विषय थाँती राखेर अन्य विषयमा संसद्बाट आउने जस्तोसुकै परिणामलाई निःसर्त स्वीकार गरी चुनावमा जाने प्रतिबद्धता जाहेर गर्ने भन्ने हो ।

राजनीतिक शक्तिहरू आआफ्नो विवेकबाट पछि हटे भने त्यसले तिनीहरूको राजनीतिक यात्रा थप दुषित बन्ने मात्र होइन, राष्ट्र नै कहिल्यै नटुंगिने गोलचक्करमा फस्दै जानेछ र अन्ततः यो राष्ट्रको अस्तित्वमा समेत प्रश्नचिन्ह खडा हुने परिस्थिति पैदा गरिनेछ ।

सीमांकनबाहेक बाँकी विषयले पनि देशको राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर पार्ने र यसको परिणाम आउँदा दसकहरूमा झन् बढी अप्रिय हुन सक्ने सम्भावना भएकोले संशोधन विधेयक पूर्णरूपमा असफल पार्नु र पर्नुमा नै देशको हितमा हुनेछ ।
शाह एमाले केन्द्रीय सदस्य हुन् ।
हाइलाइट
सर्वोच्चको फैसलाको मर्मअनुसार सीमांकनबाहेकको मुद्दामा छलफल गर्न सक्ने भनी मुख्य प्रतिपक्ष दलले निर्णय गरेको स्थितिमा सत्ता पक्ष अहिलेकै विधेयकलाई अगाडि बढाउने मूर्खता गर्‍यो भने त्यो नयाँ संकटको बीउ बन्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.