अवसरको भूमि तराई-मधेस
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चुरे पहाड दक्षिण र भारतको उत्तरी सिमानामा अवस्थित समथर भूभागलाई तराई-मधेस भनिन्छ । चुरे पहाड उत्तरको समथर भागलाई भित्री मधेस भनिन्छ । सुगौली सन्धिबाट आधुनिक नेपालको सिमाना यकिन हुनुअगाडि तराई-मधेस क्षेत्र घना जंगलले ढाकिएको र मानव बसोवासविहीन नै रहेको र भित्री मधेसमा थारूहरूको बसोवास रहेको पाइएको छ ।
सुगौली सन्धिपछि नेपाल र ब्रिटिस भारतबीचको सिमाना जंगेपिलरले छुट्ट्याइएपछि नेपाल र भारत क्षेत्रमा बसोवास गर्नेको अलग पहिचानको सुरुआत हुन गयो । भारतमा प्रभुत्व कायम गरेको इस्ट-इन्डिया कम्पनीले व्यापार विस्तारको क्रममा उत्तरी भारतमा रेल वेको सञ्जाल स्थापना गर्ने क्रममा नेपालको तराई-मधेस क्षेत्रबाट साल (सखुवा) काठ रेल्वे स्लिपर ओसार्न नेपालको दक्षिण सीमासम्म रेल विस्तार हुन गयो ।
भारतको गंगा नदी किनारको मलिलो भागमा अवस्थित जनसंख्यामा वृद्वि हुनुको साथै उत्तर नेपालको सिमानानजिक जनघनत्व बढ्दै गएको पाइएको छ । त्यस्तै नेपालको पहाडी क्षेत्रमा जनसंख्याको चाप बढ्दै गएपछि क्रमशः दक्षिणतर्फ बसाइको क्रम सुरु गरेको पाइएको छ ।
जसरी कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपका वासिन्दा अमेरिका बसाइँ सर्ने क्रम सुरु भयो, त्यस्तै जनसंख्यामा भएको वृद्विले नेपालको पहाडी क्षेत्रबाट र उत्तर भारतको खास गरेर बिहार र यूपीबाट तराई-मधेसको उत्तरी भाग र दक्षिणी भागमा बसोवासको सुरुआत भएको पाइएको छ ।
जहाँबाट गए पनि अमेरिका प्रवेश गरेका सबै अमेरिकी भएजस्तै उत्तर-दक्षिण जहाँबाट आए पनि तराई-मधेसमा बस्ने सबै तराई-मधेसी मानिन्छन् । चिनी बनाउने क्रममा उखु खेती गरिन्छ । उखु कालो पनि हुन्छ र ग्यामरा वा सेतो पनि हुन्छ । रस बनाएपछि त्यसको रंग एकै हुन्छ । त्यसलाई पकाएपछि गूँद वा सक्खर भनिन्छ । त्यसको अन्तिम रूप नै चिनी हो ।
अब चिनीलाई कालो र ग्यामरा उखुमा विभाजन गर्न सम्भव हुँदैन । त्यस्तै तराई-मधेसबाट नेपाल बनिसकेपछि पुरानै अवस्थामा जानु सम्भव छैन । अहिले तराई-मधेस नेपाल भनेको केही समयअगाडि पहिले जनजातिले पहिले जाति त्यसपछि पार्टी र नेपाल भनेजस्तै हो । जबकि पहिला नेपाल र नेपाली त्यसपछि पार्टी र जनजाति हुनुपर्ने हो ।
तराई-मधेस अवसरको भूमि हो । जसरी संसारका सबै देशका जनता अमेरिका गएर अमेरिकी भएका छन् । त्यस्तै तराई-मधेसमा नेपालकै हिमाल, पहाड, भित्री मधेस, भारतको बंगाल, बिहार, यूपी, हिमाचल प्रदेश, आसाम, सिक्किम, राजस्थान, पन्जाब र अन्य देश भुटान, बर्मा, बंगलादेश, पाकिस्तान, श्रीलंका, तिब्बत-चीन जहाँबाट आए पनि तिनीहरू तराई-मधेसमा स्थायी बसोवास गरेपछि ती सबै तराई-मधेसी हुन् । अमेरिकाका रेडइन्डियन अस्ट्रेलियाका एभोर्जनिस्ट आदिवासी भएजस्तै भित्री मधेसमा बस्ने थारू नै तराई-मधेसको आदिवासी मानिएको छ ।
तराई-मधेस भन्नाले ब्रिटिसहरूले आधुनिक भौगोलिक प्राकृतिक नक्सा बनाउने सन्दर्भमा नेपालका दक्षिणी समथर मैदान जुन हिमालको फेदी सिलवालिक पहाड जसलाई नेपालमा चुरे पहाड भनिन्छको फेदीसम्मको भागलाई तराई नामकरण गरियो । मधेस नामकरणको सम्बन्धमा पनि अनेकौं किंवदन्ती सुनिन्छ ।
नेपालको पहाडी क्षेत्रमा बसोवास गरेकाहरू जीविकोपार्जन सजिलो बनाउन मधेसतर्फ झर्ने क्रममा मधेस जानेलाई मर्न जान लागेको देश भनिन्थ्यो । औलो र हावापानीको हिसाबले मधेसलाई कालापानी पनि भनिन्थ्यो । कम्पनी एक रुपैयाँले चामल किनेपछि बाँचुन्जेल खान पुग्ने र मरेपछि काजकिरिया गर्न पनि पुग्छ भनिन्थ्यो ।
मर्न जान लागेको देशको छोटकरी रूप मधेस पहाडबाट झरेकाको परिभाषा रह्यो । त्यस्तै उत्तरी भारतबाट आउनेहरूलाई आफू कहाँबाट आएको भन्दामै देस से आया हुँबाट मैदेसी र मधेस भएको भनिन्छ । नेपाली कांग्रेसबाट अलग भएर २०१७ अगाडि वेदानन्द झाले तराई कांग्रेसको गठन गरेका थिए भने राणाकालदेखि मधेस गोश्वारा ऐन लागू भएर मधेस पनि भनिन्थ्यो ।
यसरी तराई-मधेसको बसोवास सुरु हुँदा नागरिकताको सुरुआत नै भएको थिएन । नागरिकता ऐन आउनुअगाडि तराई-मधेसमा बस्नेमा नेपाली र भारतीय भन्ने नभई सबै तराई-मधेसी मात्र थिए ।
हिलोपटक नागरिकता ऐन २०२० लागू भएपछि सरकारी जागिर खानेहरूले नागरिकता बनाउने कार्यको सुरुआत भयो । जनताको चेतना स्तर कार्यान्वयन निकायको कमजोरी, हामी पुस्तौंदेखि बसोवास गर्नेलाई किन चाहियो नागरिकता भनेर हिमाल, पहाड, तराई-मधेसका रैथानेहरूले नागरिकता प्रमाणपत्र लिनमा उत्सुकता देखाएनन् । पछि वृद्वभत्ता, घरजग्गा किनबेच, शिक्षा, स्वास्थ्य, राजनीति र विदेश भ्रमणमा जानको लागि नागरिक प्रमाणपत्रको आवश्यकता हुन गयो ।
अर्कोतर्फ आप्रवासीहरूले तदारुकताका साथ नागरिकता बनाए । २०३३ सालमा नेपालको हिमाल, पहाड, तराई-मधेस सीमाभित्र भएका बसोवास गरेका सबै नेपाली जनतालाई नागरिकता उपलब्ध गराउने अभियान सुरु गरियो । यसो गर्नुको प्रमुख लक्ष त्यो बेला नेपालमा स्थायी बसोवास गर्ने सबैलाई विनाभेदभाव नागरिकता वितरण गर्ने र नागरिकता समस्या सदाको लागि अन्त्य गर्नै थियो ।
नेपालको दक्षिणी भागको समथर भागलाई मधेस भनिँदै आएको ब्रिटिसहरूले मधेसलाई उत्तरी भारतको समथर भागलाई तराई भनेजस्तै उत्तरी भारतबाट आएका भारतीय मूलका नेपाली नागरिकले मधेसलाई तराई पनि भन्न लागे । अहिले त एउटा राजनीतिक पार्टीले तराई-मधेस लोकतान्त्रिक पार्टीले दल नै दर्ता गरेको छ । त्यो पार्टीका प्रमुख बेलाबखत तराई-मधेसलाई अलग बनाउने चेतावनी र घुर्की लगाउन पनि पछि नपरेको पाइएको छ ।
तराई-मधेसमा मानव बसोवास बनाउनको लागि नेपाल अमेरिकी सहयोगमा सञ्चालित औलो उन्मूलन गर्ने डीडीटी पाउडर छरेर लामखुट्टे नियन्त्रण गर्ने र पुनर्वास गर्ने महत्वपूर्ण भूमिका रहेको छ । सन् १९६०/८० को २० वर्षमा नेपाल र भारतमा जनसंख्या वृद्वि अत्यधिक हुन गयो ।
तराई-मधेसको उन्नति, प्रगति र समृद्विको लागि कुन समयमा कसले कति कार्य गर्यो, नेपाली तराई-मधेसी जनताले सबै कार्यको बही खाता राखेका छन् । कुनै दिन यी सबैको लेखाजोखा नेपाली तराई-मधेसी जनताबाट हुने नै छ ।
औलो नियन्त्रण, पियल ४८० अमेरिकी गहुँको सहयोग, भारतमा भएको अनिकाल र खाद्यान्न अभावले उत्तर भारतबाट नेपालको तराई-मधेसको दक्षिणी भागमा जनसंख्याको बसाइँसराइ तीव्र हुन गयो । नेपालको पहाडी क्षेत्रमा भएको जनसंख्या वृद्विको चाप र पूर्व-पश्चिम राजमार्ग निर्माणले राजमार्गवरपर पहाडबाट झरेकाको अत्यधिक बसोवास भएको पाइएको छ ।
मधेसी मोर्चा र चुरेभावर राजनीतिक दल यसैका उपज मानिएका छन् । विगतमा तराई-मधेसमा स्थापना गरिएका औद्योगिक कलकारखाना, खास गरेर चिया, जुट, चुरोट, कागज, कपास, खयर, कत्था, रोजिन, टर्पेन्टाइन जस्ता उद्योग र कृषि, सिँचाइ, सडक, शिक्षा, स्वास्थ्यमा भएका पूर्वाधारहरू जोगाएर बेलाबेलामा भएको राजनीतिक परिवर्तनले त्यसमा थपथाप गर्न सकेको भए तराई-मधेस अझ चाँडो विकास र समृद्वितर्फ लाग्ने थियो ।
विगतमा तराई-मधेसमा स्थापित सबै उद्योग, कलकारखाना र नगदे बाली नाश गरेर कौडीको भाउमा बेचेर भागशान्ति जय नेपाल कसले गर्यो, सबैले देखेकै छन् । सम्पन्न तराई-मधेसलाई विपन्न तराई-मधेसमा कसले पुर्यायो ? अरूलाई दोष लगाउनेले आफूले त्योभन्दा राम्रो काम गरेर देखाउन सक्नुपर्दथ्यो ।
अहिले तराई-मधेसमा देखिएको समृद्वि नेपाली तराई-मधेसी जनताले खाडी र अन्य मुलुकमा बगाएको रगत-पसिनाले कमाएको रेमिटेन्सले हो, त्यसमा सरकार र व्यवस्थाको केही हात छैन । विगतको जनकपुर र अहिलेको जनकपुरको भौतिक अवस्थाको उदाहरण नै काफी छ । तराई-मधेसको उन्नति, प्रगति र समृद्विको लागि कुन समयमा कसले कति कार्य गर्यो, नेपाली तराई-मधेसी जनताले सबै कार्यको बही खाता राखेका छन् । कुनै दिन यी सबैको लेखाजोखा नेपाली तराई-मधेसी जनताबाट हुने नै छ । सूर्यलाई हत्केलाले कतिन्जेल छेक्न सकिएला र ?
जब अल्पसंख्यकहरूको कुनै एक क्षेत्रमा बाहुल्य हुन्छ अनि त्यहाँ बहुमतलाई हाँक दिने घमण्ड उत्पन्न हुँदो रहेछ । क्यानाडाको क्युबेक भन्ने प्रान्तमा फ्रेन्चभाषीको बाहुल्य भएपछि क्युबेक प्रान्त वा प्रदेश क्यानाडाबाट अलग स्वतन्त्र राष्ट्र बन्ने आन्दोलन चल्यो ।
त्योबेलाका फ्रान्सका राष्ट्रपति चाल्र्स देगालले क्यानाडाको राजकीय भ्रमणको अवसरमा क्युबेकलाई समर्थन गरेकोमा क्यानाडा सरकारले उनको भ्रमण रद्द गरिदियो । पछि क्युबेक प्रान्तमा जनमतसंग्रह गराउँदा फ्रेन्चभाषीले नै क्यानाडामा रहने पक्षमा भारी मतले जिताए ।
निर्वाचन हुँदा अहिले उत्तर भारतको तराईबाट बसाइँ सरेर नेपालको नागरिकता लिएका भारतीय मूलका नेपाली नागरिकले नै नेपाल राज्यको पक्षमा मतदान गर्नेछन् । वीरगन्जबाट सुरु भएको भारतीय मूलका नेपाली नागरिकको यो नेपाल बचाओ आन्दोलन सम्पूर्ण तराई-मधेसमा फैलिइसकेको छ ।
सारा नेपाली तराई-मधेसी जनता स्थानीय निकाय र संसद्को निर्वाचनको लागि अधैर्यका साथ प्रतीक्षामा रहेका छन् । गत निर्वाचनमा पराजित मधेसी मोर्चाका नेताहरू निर्वाचन नगराउन अनेक बखेडा झिकिरहेका छन् । निकट भविष्यमा हुन गइरहेको निर्वाचनले क्यानाडामा क्युबेकको समस्या समाधान भएजस्तै नेपालमा मधेस समस्याको समाधान हुने विश्वास गरिएको छ ।
अवसरको भूमि तराई-मधेसले सम्पूर्ण नेपाली तराई-मधेसीहरूलाई स्वाभिमानपूर्वक सुख र समृद्विको समान अवसर प्रदान गर्नेछ । ‘हिमाल, पहाड र तराई कोही छैन पराई' भन्ने नारा सार्थक हुन गई प्रचुर अवसरको भूमि तराई-मधेसले नेपाल राष्ट्र र नेपाली जनताको हित र कल्याण हिमाल, पहाडले जस्तै महत्वपूर्ण भूमिका निर्वाह गरी राष्ट्रिय एकताको सन्देश दिनेछ ।