धोतीको पहिचान र टोपीको राष्ट्रवाद
नेपालमा पहिचानको बहस पेचिलो बन्दै जाँदा त्यससँग राष्ट्रवादको बहस पनि जोडिन पुगेको छ । पहिचानवादीहरू राष्ट्रवादको बहसलाई पहिचानको काउन्टर सोचिरहेका छन् । राष्ट्रवादीहरू पहिचानको बहसलाई राष्ट्रवादलाई कमजोर बनाउने खेल बुझिरहेका छन् । यो विषयले यति उग्र रूप लिँदैछ कि आफूलाई खाँटी राष्ट्रवादी भन्नेहरू पहिचानको ‘प' पनि सुन्न चाहँदैनन् । अनि पहिचानवादी भन्नेहरूचाहिँ राष्ट्रवादको ‘र' पनि सुन्न चाहँदैनन् ।
पहिचानवादीहरू राष्ट्रवादलाई खतरा देख्छन् । राष्ट्रवादीहरू पहिचानवादीलाई खतरा देख्छन् । राष्ट्रवादलाई महेन्द्रपथ देख्ने आँखा र पहिचानवादीलाई विखण्डनकारी देख्ने दृष्टिदोषको कारण अहिले पहिचान र राष्ट्रवाद दुवै विवादित विषय भएका छन्, जुन विवादित हुनुपर्ने विषय नै होइन । पहिचान कसैको चिनारी हो । राष्ट्रवाद देशप्रतिको माया हो । यी दुवैमा कहाँ छ खतरा ? खतरा त मात्र सोचाइ र बुझाइको संकुचनमा छ ।
अनेकतामा एकता र एकताभित्रको अनेकता नेपालको विविधता र विशिष्टता हो । सबैका भेषभूषा एकताभित्रका अनेकता हुन् । यिनै अनेकताभित्रको एकता नै नेपालको पहिचान हो । एकताभित्र अनेकता स्वीकारिएको र अनेकताभित्र एकता भएकाले नै नेपाल अखण्ड भएको हो । भोलि पनि यो अनेकता, एकता र अखण्डता निरन्तर रहनुपर्छ ।
त्यसो भए वस्ताविक समस्या के हो त ? वास्ताविक समस्या आफू मात्र ठीक अरू बेठीक भन्ने सोचाइ हो । अरूको समस्यालाई समस्या नदेख्ने रोग हो ।
उसको समस्या मेरो पनि समस्या भए मेरो समस्या उसको पनि समस्या हुन्छ । उसको ठाउँमा आफू बसेर पनि हेर्न सक्नुपर्छ । हामीले अरूको ठाउँमा बसेर हेर्न सके अरूले पनि हाम्रो ठाउँमा बसेर हेर्छ । तब समस्या सकिन्छ । यसो गर्नुको सट्टा आफूलाई महान् राष्ट्रवादी र अरूलाई राष्ट्रघाती देख्दा समस्या उत्पन्न हुने हो । यो सानो र तुच्छ सोचाइ हो ।
पहिचान र राष्ट्रवादसँग जोडेर पछिल्लो केही वर्षयता धोती र टोपीको जुहारी चलेको छ । कसैले टोपी दिवस मनाइरहेका छन्, कसैले धोती दिवस मनाइरहेका छन् । टोपीलाई राष्ट्रियताको प्रतीक र धोतीलाई विखण्डनको प्रतीक एकाथरीले बुझिरहेका छन् ।
अर्कोथरी फेरि टोपीलाई निरंकुशताको प्रतीक पनि ठान्छन् । यो दुवै धारणा नै गलत छ । यस्तो संकुचित बुझ्नु हुँदैन । आआफ्नो भेषभूषामा देशप्रतिको सम्मान नै राष्ट्रवाद हो । टोपी नलगाउने अराष्ट्रवादी होइनन् । धोती नलगाउने पनि सबै मधेसविरोधी होइनन् ।
धोती पनि हाम्रै हो, टोपी पनि हाम्रै हो । धोती र टोपी मात्र किन ? दौरा, सुरुवाल, कोट, लबेदा, कछाड, बख्खु सबै हाम्रै हुन् । नेपालीले लगाउने र प्रयोग गर्ने सबै चिज हाम्रा साझा हुन् । त्यो तेरो, यो मेरो, मेरो राम्रो, तेरो नराम्रो भन्ने सोच नै गलत हो । सबैका आआफ्ना भेषभूषा, रहनसहन, संस्कृति र परम्परा छन् ।
धोतीवालाले धोती दिवस, टोपीवालाले टोपी दिवस, बख्खुवालाले बख्खु दिवस मनाउन पाउनुपर्छ, तर यो दिवस राष्ट्रियतासँग जोडेर होइन आफ्नो समुदायको संस्कृति र परम्परासँग जोड्नुपर्छ ।
नेपाली हुनुको पहिचान टोपी मात्र हो भन्नु जति संकुचित हो, मधेसी हुनुको पहिचान धोती मात्र हो भन्नु पनि त्यति नै संकुचित हो । आजको दुनियाँमा पहिचान र राष्ट्रियता लुगामा हुँदैन, भावनामा हुन्छ । टोपी दिवस मनाउँदैमा राष्ट्रवादी र नमनाउँदैमा अराष्ट्रवादी हुने पनि होइन ।
हाम्रो सबैभन्दा ठूलो पहिचान मानव हो । मानवपछि हामी नेपाली हौं । हाम्रो सबैभन्दा ठूलो वाद मानवतावाद हो । विश्वबन्धुत्व हाम्रो सबैभन्दा ठूलो आदर्श हो । मनलाई फराकिलो बनाऔं, सबैलाई आफ्नो देखौं । पनि सुन्न चाहँदैनन् । अनि पहिचानवादी भन्नेहरूचाहिँ राष्ट्रवादको ‘र' पनि सुन्न चाहँदैनन् ।
फेरि कसैले टोपी दिवस मनाउँदैमा धोती लगाउनेले आत्तिनु पर्दैन । न धोती दिवस मनाउँदा नै टोपीधारीले आपत्ति गर्नुपर्छ । धोती र टोपी विरोधी होइनन्, हाम्रै संकृतिका परिपूरक हुन् । त्यसैले धोतीवाद र टोपीवादको द्वन्द्वमा देशलाई फसाउनु हुँदैन । यो निरर्थक हो ।
नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनिएको छ । संविधानले विविधता स्वीकार गरेको मात्र होइन, त्यो विविधता नै राष्ट्र हो भनेको सन्दर्भमा पहिचान विवाद किन ? यस्तो विविधतायुक्त मुलुकमा छुट्टै राष्ट्रिय पहिचानको अर्थ छैन ।
हाम्रो पहिलो पहिचान नेपाली हो, धोती र टोपी मात्र नेपालीको पहिचान होइन । त्यो समुदायविशेषको भेषभूषा मात्र हो । नेपाली संस्कृति र परम्परामा यस्ता धेरै भेषभूषा छन् । टोपी लाउन पाउनु टोपी मन पराउनेको अधिकार हो, धोती लाउन पाउनु धोती मन पराउनेको अधिकार हो । तर आफूले लगाएको चाहिँ राष्ट्रिय पहिचान अरूको चाहिँ राष्ट्रिय होइन भन्नु हुँदैन ।
आजको युग विश्वव्यापीकरणको युग हो । यो युगमा देश, भाषा, संस्कृति, भेषभूषा सबै मानव समुदायका लागि हुन् । मानव जातिको हितका लागि हुन् । हरेक कुरा मानवलाई तुच्छ देखाउन होइन, बरु मानवीय उच्च मूल्य, मान्यता र आदर्शका लागि हुनुपर्छ । आजको युगमा मानवभन्दा ठूलो कुरा अरू केही पनि छैन ।
पहिचान भेषभूषामा भन्दा बढी जन्ममा हुन्छ । जन्ममा भन्दा बढी भावनामा हुन्छ । मनमस्तिष्कदेखिको राष्ट्र प्रेममा नै नेपालीत्व झल्किन्छ । नेपाली हुनुको भाव जोसँग छ, त्यो नै नेपाली हो नकि टोपीवालचाहिँ खाँटी नेपाली धोतीवालचाहिँ इतर नेपाली हो ।
संसार युटोपियाको परिकल्पना गर्दैछ । हामी भएको सानो भूमिभित्र पनि छुट्टै पहिचान खोज्दै धोती र टोपीको लडाइँ गरिरहेका छौं । यो गलत हो त्यसैले अब सबै नेपालीले समुदायविशेषको टुक्रे पहिचान होइन, सबै नेपालीको लागि स्वीकार्य हुन सक्ने साझा पहिचान खोज्नुपर्छ । सबै नेपालीको साझा पहिचान भनेकै नेपाली हो । हाम्रो वास्तविक पहिचान नेपाली हो । हामी नेपालमा बस्ने सबै नेपाली हौं ।
नेपालमा बस्ने सबै जातजाति र भाषाभाषीको हाम्रो साझा पहिचान योबाहेक अर्को हुन सक्तैन । नेपाली भन्नुमा गर्व नहुने तर ब्राह्मण, खस क्षेत्री, जनजाति, मधेसी, दलित, अल्पसंख्यक भन्नुमा गर्व गर्नु संकुचित मानसिकताको उपजबाहेक अरू के हुन्छ ? यस्तो संकुचित मानसिकताले नेपालीलाई र नेपाललाई कुन दलदलमा फसाउँछ, सबै नेपालीले बुझ्नुपर्ने विषय हो ।
आजभोलि फेसबुके राष्ट्रवाद र टोपी दिवसहरू धेरै देखिन थालेका छन् । यस्ता राष्ट्रवाद समय बिताउनेबाहेक केही होइन । विदेशमा पुगेर टोपी लगाएर देशका लागि रुने पनि धेरै देखिए । विदेशमा बसेर देशका लागि रुनेहरूको कोलाहलले देश बन्दैन । त्यस्ता रुन्चे सम्राट्को राष्ट्रवादको कुनै काम छैन । सच्च राष्ट्रवादी, देशभक्त र देशका मालिक त ती हुन्, जो यो देशमा पसिना बगाउँछन् । जो आफ्नो पसिनाले नेपाली भूमि सिञ्चित गर्छन्, तिनै राष्ट्रवादी हुन्, चाहे ती धोती लाऊन् या टोपी लाऊन् ।
अहिले धोतीको टोपीमाथि अविश्वास र टोपीको धोतीमाथि अविश्वासले गर्दा राष्ट्रियता कमजोर हुँदैछ । फुटेर वा एकले अर्कोलाई कमजोर बनाएर अविश्वास गरेर राष्ट्रवाद बलियो हुँदैन । बरु झन् कमजोर हुन्छ । राष्ट्र कमजोर बनाउने कि बलियो त्यो हाम्रै हातमा छ ।
निष्कर्षमा भन्दा हाम्रो सबैभन्दा ठूलो पहिचान मानव हो । मानवपछि हामी नेपाली हौं । हाम्रो सबैभन्दा ठूलो वाद मानवतावाद हो । विश्वबन्धुत्व हाम्रो सबैभन्दा ठूलो आदर्श हो । मनलाई फराकिलो बनाऔं, सबैलाई आफ्नो देखौं । सबैको आफ्नो बनौं । राष्ट्रवादबाट पनि एक कदम अगाडि बढेर अन्तर्राट्रियवादतर्फ पाइला चालौं । मानव सभ्यताको महानतालाई संकुचित होइन, अझ फराकिलो बनाऔं ।यसैमा सम्पूर्ण मानव जगत्को हित छ ।