कहिले बन्ला झुलाघाटमा पुल ?
झुलाघाट बैतडीः भारतमा बेलायती शासन भएका बेला बैतडी र झुलाघाटलाई जोड्न महाकाली नदीमा बनेको झोलुंगे पुल अझै पक्की बन्न नसक्दा सुदूरपश्चिम पहाडको समृद्धिमा ठूलो बाधा पुगेको छ । बैतडीको गोठालापानीलाई भारतको झुलाघाटसँग जोड्ने महाकाली नदीमा मोटरेबल पुल नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।
५० मिटरभन्दा कम लम्बाइको उक्त पुल बनाउन नेपालले कूटनीतिक पहलसम्म गरेको छैन । ‘सुदूरपश्चिम पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको ठाउँ हो । अझ भारतीय धार्मिक पर्यटकका लागि बैतडीका त्रिपुरासुन्दरी, निङ्लासैनी, डडेलधुराको उग्रतारा र डोटीको शैलेश्वरी अगाध आस्थाका केन्द्र हुन्', जुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष जयसिंह भाटले भने ।
महाकालीले छुट्ट्याएको सिमानामा नेपालतिरको बजारलाई जुलाघाट र भारततिरको बजारलाई झुलाघाट भनिन्छ । झुलाघाटमा भारतको ठूलो बजार छ । घरघरमा मोटर-कार छन् । स्तरीय होटेल छन् । उत्तराखण्ड सरकारले झुलाघाटसम्म डबल लेनको पक्की सडक पुर्याएको छ । तर नेपालतिरको सडक अझै जुलाघाट पुगेको छैन । एक किलोमिटर कालोपत्रे हुनै बाँकी छ ।
‘झुलाघाट प्रदेश नम्बर ७ को समृद्धिसँग जोडिएको नाका हो तर अहिलेसम्म सरकारले झुलाघाटमा पुल बनाउन पहल नै गरेको छैन', भाटले भने, ‘हामी सानै हुँदा हाम्रा बाउबाजे पक्की पुलको सर्भे भएको छ भन्थे । हामी बाजे बन्ने बेलासम्म पनि पुल जस्ताको तस्तै रह्यो ।'
झुलाघाट सुदूरपश्चिमका बैतडी, डँडेल्धुरा, दार्चुला र डोटीको समृद्धिसँग जोडिएको नाका हो । कुनै बेला मध्यपश्चिमको कर्णाली क्षेत्रका बासिन्दा त्यही नाका भएर कामका लागि कालापहाडतिर जान्थे । अहिले सडक सञ्जाल बढेसँगै त्यो नाका भएर जानेक्रम घटेको छ ।
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा हरेक वर्ष कात्तिक र मंसिरमा जात्रा लाग्छ । भारतका पिथौरागढ, चम्पावत र अल्मोडासम्मका कुमाउनी संस्कृति मान्ने व्यक्तिका लागि त्रिपुरासुन्दरी भगवतीको दर्शन अगाध आस्थाको प्रतीक हो । ‘तर झुलाघाटबाट आउजाउ गर्न गतिलो यातायात हुँदैन । उनीहरू दर्सनै नगरी वारितिरको नेपाली बजारबाटै फर्कने गर्छन्', सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायब निरीक्षक पदम बडाल भन्छन् ।
‘यसपालिको त्रिपुरासुन्दरीको मेलामा सयौं दर्शनार्थी झुलाघाटबाटै फर्किए । मन्दिर दर्शन गरेर सार्वजनिक सवारीसाधनले समयमा पुर्याउँछन् कि पुर्याउँदैनन् भनेर उनीहरू दर्शन नगरी फर्किएका हुन्', बडालले भने ।
अहिलेको झोलुंगे पुल मौसमअनुसार जाडोमा ६ बजे र गर्मीमा साढे ६ बजे बन्द हुन्छ । बन्द भइसकेको पुल बिरामीका लागि खुलाउनु पर्दा नेपाल प्रहरीले अनुरोध नै गर्नुपर्छ । ‘भारतीयसँग प्रायः आफ्नै मोटर हुन्छ ।
उनीहरू परिवारसहित नेपाल घुम्ने र नेपालका मन्दिर जाने भनेर आएका हुन्छन् तर झुलाघाटमा झोलुंगे पुल भएकाले उनीहरूको मोटर भारतमै रोक्नुपर्छ अनि नेपाल आएर सार्वजनिक यातायातमा यात्रा गर्नुपर्छ । यसो गर्दा निकै ढिलो र झन्झटिलो हुने भएकाले पनि उनीहरू नेपाल आउन चाहँदैनन्', सई बडालले भने ।
यति मात्रै होइन, शान्तिसुरक्षामा खटिने नेपाल प्रहरीको सीमा सुरक्षा कार्यालयले नेपाली बिरामीलाई भारतसम्म पुर्याउन चौकीमा तीनवटा स्ट्रेचर राखेको छ । हरेक रातजसो प्रहरीले एक न एक बिरामीलाई स्ट्रेचरमा बोकेर पारि पुर्याउने ड्युटी गर्छन् ।
‘पहाडी भूगोल, दिनहुँजसो भीरबाट खसेका, रूखबाट लडेर हातखुट्टा भाँचिएका बिरामी आउँछन् । गाउँबाट गाडीमा जुलाघाटको मोटरबाटो भएको स्थानसम्म त ल्याउँछन् तर त्यहाँबाट एक किलोमिटर पुलपारि भारतमा पुर्याउनु प्रहरीको ड्युटीझैं भएको छ', बडालले भने ।
उनले बिरामीका कुरुवा एकदुईजना मात्रै आउने भएकाले पनि प्रहरीले स्ट्रेचरमा हालेर पुलपारि पुर्याउनु परिरहेको बताए । ‘भारतीय पर्यटकलाई नेपाल भित्र्याएर आर्थिक समृद्धितिर जाने त धेरै पछिको कुरा हो ।
नेपालमा उपचार नपाएर पिथौरागढ र हल्द्वानी जाने क्रम पनि रोक्न सकिएको छैन', उनले भने । ‘नेपालीहरू बिरामी भएर वा हातखुट्टा भाँचिएर आए भने मानवताका हिसाबले पनि सहयोग गर्नुपर्छ भनेर हामीले तीनवटा स्ट्रेचर किनेर राखेका छौं', उनले भने ।
झुलाघाटमा पक्की पुल नजिक पर्छ । धार्मिक पर्यटनका हिसाबले त्रिपुरासुन्दरी, त्यहाँबाट झन्डै १० किलोमिटर मात्रै टाढा पर्छ । यस्तै निङ्लासैनी पुग्न ३० किलोमिटर र डँडेल्धुराको उग्रतारा भगवतीको मन्दिर पुग्न ८० किलोमिटर मात्रै पर्छ ।
पहाडको समृद्धिको मूल ढोका मानिएको मध्यपहाडी लोकमार्गको प्रवेशविन्दु झुलाघाटमै पक्की पुल नहुनु विडम्बना भएको स्थानीय व्यवसायी बताउँछन् ।
‘पर्यटक सुविधा पाए मात्रै आउने हुन् । सुरुमा त्रिपुरासुन्दरी अनि निङ्लासैनी, त्यसपछि डँडेल्धुराको उग्रतारा हुँदै खप्तड र शुक्लाफाँटा वन्यजन्तु आरक्षसम्म ल्याउन सकिन्थ्यो तर पक्की पुल नबन्दा त्यो सपना कहिले हो कहिले ? ' उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले भने ।
उद्योग वाणिज्य संघ बैतडीले पनि जिल्लाका सभासद्, मन्त्री र प्रधानमन्त्रीहरूलाई झुलाघाटको पुल बने सुदूरपश्चिमको समृद्धि हुने भन्दै पटकपटक ज्ञापनपत्र बुझाइसकेको छ ।
बैतडी सदरमुकाम गढीदेखि जुलाघाटसम्म झन्डै १७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । तर जुलाघाट बजारमा पुग्न अझै एक किलोमिटर सडक काट्न र पक्की गर्न बाँकी छ । भारततिर सयौं बस अटाउने बसपार्क छ तर नेपालतिर ६ वटा जिप अटाउने ट्याक्सी स्ट्यान्ड पनि बनेको छैन ।
अझ झुलाघाट नाका मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु हो । सरकारले तराईको पूर्वपश्चिम राजमार्गको समानान्तर हुने गरी पहाडको समृद्धिको मूल ढोका मानेको मध्यपहाडी लोकमार्गको प्रवेशमै पुल नहुनु विडम्बना भएको जुलाघाटका व्यवसायी हेमसिंह थापा बताउँछन् ।
बैतडी जिल्ला सदरमुकाम, बैतडी भएर दार्चुलासम्मको महाकाली लोकमार्ग, उता डँडेल्धुरा जाने भीमदत्त पन्त राजमार्ग आसपास बजारमा दैनिक उपभोग्य सामानको आपूर्ति पनि झुलाघाट नाकाबाटै हुने गर्छ । ‘तर ५० किलोको भारी पुल वारिपारि गरेको मात्रै ६० रुपैयाँ तिर्नुपर्छ', व्यवसायी थापाले भने । उनले पक्की पुल नभएकाले व्यापारव्यवसाय फस्टाउन नसकेको पनि बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नेपाली नेताले महाकालीमा चारवटा पुलको डीपीआर बनिरहेको बताउँदै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पनि कञ्चनपुरका दोधारा चाँदनी, बैतडीको झुलाघाट, डँडेल्धुराको परशुराम क्षेत्र र दार्चुलाको खलंगा गरी चारवटा पक्की पुलको डीपीआरका लागि भारतसँग कुराकानी भइसकेको बताएका छन् तर त्यो डीपीआर बन्ला र झुलाघाटमा पुल बन्ला भन्नेमा बैतडीवासी आशावादी छैनन् ।
एक वर्षयता पनि झुलाघाटमा तीन स्थानमा सर्भे भएको बजार व्यवस्थापन समितिका अध्यक्ष जयसिंह भाटले बताए । पहिलोपटक जुलाघाटदेखि सेरातिरको क्षेत्रमा, त्यसपछि अहिलेको झोलुंगेपुल भएकै स्थानमा र हालै झोलुंगेपुलदेखि तल्लो क्षेत्रमा सर्भे भएको थियो ।