चीनको केरुङ नाका हुँदै भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ
काठमाडौं: चीनको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले ना १ ज ४९६४ नम्बरको टाटा सुमोबाट १५ किलो सुन बरामद गरेको हो। १५ किलो सुनसहित गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।
गाडीको इन्जिनमा रहेको भागमा ब्याट्रीको फलाममा लुकाएर राखेको अवस्थामा प्रहरीले सुन बरामद गरेको तामाङले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
केही दिन अघिमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले काठमाडौंबाट ३३ किलो सुन बरामद गरेको थियो।