ओम पुरीकाे अनुहार

ओम पुरीकाे अनुहार

ओमको जीवनमा केही लज्जाका विषय थिए । उनी आफैंलाई सार्वजनिक गर्न अफ्ठेरो लागेका किशोरवयका घटनाहरू थिए ती । त्यही भेद खोलिदिएको कारणले पनि कान्छी श्रीमतीसँग उनको सम्बन्ध बिग्रिएको थियो । ५५ वर्षकी महिलासँग १४ वर्षको हुँदा ओमको पहिलो पटक शारीरिक सम्पर्क भएको थियो । त्यसपछि उनलाई उमेरले जेठा महिलाहरूले आकर्षित गरे । उनी अरू दुई पारिवारिक नाताका महिनाहरूसँग सम्बन्धमा रहे । उनी यो यथार्थ सार्वजनिक गर्न चाहँदैनथिए । तर, जब उनीकी कान्छी श्रीमती नन्दिता सिंह पुरीले लेखेको उनको बायोग्राफी 'अन लाइक्ली हिरोः ओम पुरी'मा यो भेद खोलिदिइन, उनी निक्कै दुःखी भए ।

किताबमा सानै उमेरमा ओम छिमेकी पुजारीको यौन शोषणमा परेको प्रसंग पनि उल्लेख छ । उनलाई लाग्यो, उनीमाथि केही गडबढ भइरहेको छ । त्यसपछि उनले पुजारीको घर जान छोडिदिए । ओमले विभिन्न अन्तर्वार्ताहरूमा भनेका छन्- मेरा व्यक्तिगत प्रसंगहरू सार्वजनिक गरेर नन्दिताले मलाई गिरेको मान्छेको हैसियतमा पुर्‍याइन् ।

ओम पुरीको पहिलो विवाह कलाकार अन्नु कपुरकी बहिनी सीमा कपुरसँग सन् १९९१ मा भएको थियो तर आठ महिनापछि उनीहरू छुट्टिएका थिए । सीमा केही टेलिभिजन सिरिजकी निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म 'हाट-दि विक्ली' बजार प्रशंसित फिल्म हो ।

सन् १९९३ मा उनको विवाह कथाकार तथा पत्रकार नन्दितासँग भएको थियो । सीमाका अनुसार कोलकाताको एउटा होटेलमा ओमको अन्तर्वार्ताको लागि पुगेकी थिइन् नन्दिता । उनी ओमसँग त्यही होटेलमा बसेको खबर सीमाले पाइन् । सीमालाई लागेको थियो, त्यो एउटा क्षणिक घटना थियो । तर बुझ्दै जाँदा उनीहरूबीच लामो सम्बन्ध रहेछ । सीमाका अनुसार त्यही तनावका कारणले उनले पेटमा भएको बच्चा गुमाइन् । त्यतिखेर ओम र नन्दिता विवाह अगाडिको हनिमुनका लागि नेपाल आएका थिए ।

नन्दितासँग पनि ओमको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । सन् २००९मा नन्दिताको लेखनमा ओमको बायोग्राफी 'अनलाइक्ली हिरोः ओम पुरी' बजारमा आएपछि उनीहरूको सम्बन्ध झन् बिग्रिएको थियो । त्यसपछि ओम आफ्नी पहिली श्रीमती सीमासँग बस्न थालेका थिए । सन् २०१३ मा नन्दिताले ओम विरुद्ध घरेलु हिंसाको मुद्दा लगाएपछि कानुनी रूपमा उनीहरूको सम्बन्धविच्छेद भएको थियो । सीमाले 'मुम्बई मिरर' नामक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन् - 'नन्दिताले ओमको जीवन बर्बाद गरिदिई । उसले ओम पुरीको बायोग्राफीलाई यौन पुस्तकको रूपमा प्रस्तुत गरिदिई, मानौं ओम ओछ्यानका लागिमात्रै जन्मिएको हो ।'

नन्दितासँगको सम्बन्धविच्छेदपछि ओम फेरि केही समय सीमासँग बसे तर तनाव उस्तै थियो । नन्दिताको तर्क छ, बायोग्राफीमा पाठकलाई कसैले ढाँट्न मिल्दैन । पुस्तकमा नन्दिताले ओम र अरू धेरै महिलाहरूको सम्बन्धबारे लेखेकी छन् ।

०००

ओम पुरी एक आम मानिस थिए गुण र दोषले भरिएका । आफ्नो कमजोरीलाई नै सबैभन्दा अब्बल क्षमतामा रूपान्तरित गर्नु उनको जादुगरी क्षमता हो। उनले आफ्नो व्यक्तिगत जीवनका धेरै प्रसंग लुकाउन चाहेका थिए । तर सकेनन् । आखिर ती उनका जीवनका रहस्यहरू र उनका सम्बन्धका हल्लाहरू पनि शुभचिन्तकहरूको लागि रोचक कथा बन्यो । दागैदागले भरिएको उनको खबटे अनुहार त उनले लुकाएर लुक्ने अवस्थामै थिएन । फिल्म कलेजमा अनुहारकै कारणले झन्डै पढ्न नपाएका थिए उनले ।

त्यतिखेर भारतीय फिल्म उद्योगले कहिल्यै नस्वीकारेको अनुहार बोकेर फिल्म पढ्न पुने पुगेका थिए उनी । तर, त्यही अनुहार कालान्तरमा आएर भारतीय मूलधारका फिल्मलाई अपरिहार्य बन्यो । वर्षौंदेखि समाजले स्थापित गरेको तथाकथित कमजोरीलाई ओमले प्रतिभामा बदलिदिए । त्यो पनि नायकको रूपमा । यो उनको जीवनको अर्धसत्य हो । उनका कमजोरी र उनले पाएको सफलता, समाजले स्थापित गरेको नायक र उनले भत्काएर पुनर्निर्माण गरेको नायकको परिभाषा । सायद यही अर्धसत्यका कारणले उनको जीवनमा यस्तो फिल्म आयो जसले उनको जीवनलाई कायापलट गरिदियो । 'अर्धसत्य' नै त्यो फिल्म थियो ।

ओम पुरीको जीवन र संघर्षलाई हेर्ने हो भने उनी आम मानिसका कमजोरी, दुःख, सुख, सफलता यौन, आशक्ति र आवेगका बिम्ब हुन् । जुन हरेक मानिसमा पाइन्छ । उनको मृत्यु हुनुअघि उनको ट्विटर हेन्डिलबाट गरिएको ट्विटका आसय यस्तो छ - 'कसैसँग मेरो केही अपेक्षा छैन । जब हामी बृद्ध हुन्छौं, हाम्रा दिनहरू सिद्धिँदै जान्छन् । सबैको जीवनको नियति यही हो ।' ओमले ६६ वर्षको उमेरमा आफ्ना दिनहरू सक्किएको मनोदशामा पुग्नुका कारणहरू छन् ।

केही वर्षअघि, एकातिर अन्ना हजारे अनसनमा थिए । अर्कोतिर ओम पुरी टेलिभिजन च्यानलहरूमा कुर्लिरहेका थिए । भएछ के भने, सोमरस पिएकै अवस्थामा ओम समर्थनका लागि अन्ना अनशन बसेको ठाउँमा पुगेछन् । टेलिभिजन च्यानलहरूले त्यहीँ ओमको अन्तर्वार्ता लिए । ओम आक्रोशित भएर नेताहरूलाई गाली गरिरहेका थिए । भारतीय टेलिभिजनका लागि ओमको गाली 'ब्रेकिङ न्युज' बन्यो । पछिल्ला वर्षहरूमा ओम निक्कै पियक्कड भएका थिए । सम्बन्धहरूबीचको तनाव र आर्थिक झमेला उनको लामो समस्या थियो ।

पैसाकै लागि उनले हात लागेका सबै फिल्ममा काम गरिरहेका थिए । उनको जीवनकै अनन्य मित्र तथा चर्चित अभिनेता नसिरुद्धिन शाहले यसबारे बोलेका छन् । नसिरका अनुसार पछिल्ला वर्षहरूमा ओमको स्थिति निक्कै नराम्रो थियो । उनको व्यक्तिगत जीवनमा नसिरले कहिल्यै हस्तक्षेप गरेनन् । तर, नसिरका अनुसार, 'ओमको असामयिक निधन उनी आफैंले पाएका अनेकौं दुःखहरूबाट छुटकारा हो । धेरै खराब चलचित्र खेल्नु पर्ने झन्झटबाट मुक्ति पनि ।' ओम आर्थिक संकटमा थिए र उनले पैसाको लागि सामान्य फिल्म पनि खेल्नुपर्ने बाध्यता थियो ।

०००

ओमको जीवन संघर्ष र सफलताको एउटा रोचक अध्याय हो । बच्चैदेखि दुःखमा हुर्किएका ओमले पाँच वर्षको उमेरदेखि मेहनतलाई आफ्नो मित्र बनाए । पाँच वर्षको उमेरमा खाना पकाउने कोइला बटुल्न रेल्बे स्टेसन चहार्ने ओमले परिवारको गरिबीकै कारण सानैमा आत्मनिर्भर हुनुपर्‍यो । नसिरका अनुसार उनी कडा मेहनतले बनेका कलाकार हुन् ।

उनको जन्म अम्बाला भन्ने सहरमा एउटा पञ्जाबी परिवारमा भएको थियो । हविव तनविर, भीष्म साहनी, नसिरुद्दीन शाहजस्ता धेरै भारतीय कलाकारहरू झैं ओमको पनि ठ्याक्कै जन्ममिति कसैलाई थाहा छैन । उनकी आमाले उनलाई भनेकी थिइन् - 'दसैंको दुई दिनपछि तँ जन्मिएको होस् ।' त्यसैले उनले अन्दाजमा आफ्नो जन्म मिति १९५० अक्टोवर १८ लेख्न थाले । यो उनको जीवनको अर्को 'अर्धसत्य' हो । नाममा पनि अर्को अर्धसत्य छ । उनलाई बाबुआमाले दिएको नाम ओमप्रकाश पुरी हो । मुम्बई पुगेर उनी ओम पुरी भए ।

अम्बालादेखि मुम्बईसम्म आइपुग्दा उनको परिवारले जीविकोपार्जनको क्रममा धेरै पटक सहर फेर्नु परेको थियो । ओमका बुबा टेकचन्द रेलवे स्टोरमा काम गर्थे । उनलाई चोरीको आरोपमा जेल हालिएपछि ओम र उनकी आमा तारादेवीलाई रेलवे कर्मचारी आवासगृह छोड्न भनियो । त्यतिखेर ओम सात वर्षका थिए । उनले आम्दानीको लागि स्थानीय चिया पसलमा ग्लास सफा गर्ने काम थाले ।

उनका दाजु वेदप्रकाश रेल स्टेसनमा कुल्लीको काम गर्न थाले । जब चिया पसलेले ओमका बुबा जेलमा भएको थाहा पायो ओमकी आमाप्रति आकर्षित भयो । एक दिन घरमा आएको चिया पसलेप्रति ओमकी आमा जाइलागेपछि चिया पसलेले रिसाएर - 'यो केटालाई अबदेखि काममा नपठाउनू' भनेको ओम सम्झन्छन् । पछि टेकचन्द निर्दोष साबित भएर जेलबाट निस्किए । ओमलाई माया गर्थे टेकचन्द तर गरिबीको कारणले उनी प्रायः दिक्क थिए । तारादेवीले आफ्ना सम्पन्न भाइहरूसँग सहयोग नमागेकोमा उनी रिसाइरहन्थे ।

ओम पुरी यस्ता भारतीय कलाकार मानिन्छन् जसले बलिउडको आर्ट, कमर्सियल र हलिउडलाई जोड्ने काम गरे । धेरै कलाकारहरूको आदर्श पात्र ओम पुरी जसले चरित्र निर्वाह गर्दा कुनै कसर बाँकी राखेन । उनको मृत्यु एउटा भ्रम हो ।

यही निहुँमा एकदिन टेकचन्दले तारादेवीलाई कुटेका थिए । रोक्न खोज्दा ओमले पनि बुवाको हातको दह्रो झापड भेटेका थिए ।

छोराछोरीमा कान्छा ओमका आठ दाजु दिदी थिए । तर विभिन्न रोगका कारणले वेद र ओमबाहेक अरू सबैको सानै उमेरमा मृत्यु भयो । त्यसैको कारणले आमा मानसिक रूपमा विक्षिप्त थिइन् । उनलाई लामो समयसम्म मानसिक अस्पतालमा राखियो । सानै उमेरमा बिफर रोगबाट पीडित ओमको अनुहारमा खाल्डैखाल्डोको दाग बस्नुको कारण त्यही हो । तर, त्यही दाग उनलाई संसारमा चिनाउने सुन्दर परिचय बनिदियो ।

०००

सन् १९८० मा पुनाको फिल्म कलेज (फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट) बाट ओम पुरीलाई एउटा चिठी आयो । चिठीमा लेखिएको थियो - 'कलेजलाई तिर्न बाँकी दुई सय ८० रुपैयाँ चुक्ता गर्नु । ब्याज मिनाहा गरिएको छ ।' चिठीको सुरुमा लेखिएको थियो - 'भगवान्को कृपाले तिमी राम्रो गरिरहेका छौ ।' त्यतिबेलासम्म उनले मुम्बईमा आफ्नो फिल्मी करिअर सुरु गरिसकेका थिए । तर, उनले त्यो पैसा तिरेनन् ।

कलेजको अन्तिम वर्षको अन्त्यमा लेखापालले ओम पुरीले तिर्न बाँकी दुई सय ८० रूपैयाँ तिर्न अनुरोध गरे । भने- नत्र तिमीले स्नातकको प्रमाणपत्र पाउने छैनौं । ओमले निःसंकोच भने - मलाई कुनै चिन्ता छैन किनभने मैले कोर्स पूरा गरिसकेको छु ।

ओमले सन् १९७६ मा फिल्म कलेजबाट दुईवर्षे स्नातक गरिसकेका थिए । व्यवस्थापकीय हिसाबमा यतिखेर उनले नतिरेको पैसाको ब्याज ४० वर्ष पुगिसकेको छ । यसै कारणले उनले फिल्म स्नातकको आफ्नो प्रमाणपत्र कहिल्यै लिएनन् । तर, ओम पुरीले तिर्न बाँकी फि र त्यसको ब्याजको बदलामा भारतलाई अथाह दिए । हिसाबै गर्न नसकिने गरी उनको प्रतिभाको कारणले उनले पढेको थिएटर र फिल्म स्कुलले गौरवले लिने नाम भए ओम पुरी ।

राष्ट्रिय नाट्य विद्यालय, दिल्लीबाट तीनवर्षे स्नातक गरेका ओम र नसिरुद्दिनमात्र यस्ता भारतीय कलाकार हुन् जसले नाटक र फिल्म दुवै विधामा स्नातक कोर्स पूरा गरेका छन् । यी दुवैले नाटक र फिल्म स्कुलको अध्ययनलाई जीवनभर पृष्ठभूमिमा बोकेर हिंडे । ओमको लागि फिल्म स्कुलभन्दा नाटक स्कुलको गहिरो प्रभाव रह्यो ।

०००

भारतीय फिल्म उद्योगमा आउनुअघि ओम पुरी नामको समस्यामा थिए । उनलाई प्रायःले अमरिज पुरीको छोरा वा भाइ भन्थे । अर्को नाम ओम शिवपुरी ओमका लागि थप समस्या थियो । नसिरुद्दिनले उनलाई नाम परिवर्तनका लागि केही नयाँ नाम दिए पनि । तर ओमप्रकाश पुरी नामको बीचबाट प्रकाश हटाएर यसरी चम्कियो उस्तै लाग्ने अरू नामका बीचमा उनी प्रस्टै चिनिए ।

नाटक स्कुलमा नसिरुद्दिन शाह निर्देशनका विद्यार्थी थिए । ओम पुरी अभिनयका । नसिरुद्दिन मध्यमवर्गीय परिवारबाट आएका थिए । क्रिश्चियन मिसनरी स्कुल पढेको हुनाले उनको अंग्रेजी राम्रो थियो । तर अंग्रेजी खराब भएकै कारणले ओमलाई नाटक स्कुलमा गाह्रो भइरहेको थियो । भाषा र सक्रिय स्वभावका कारणले निर्देशनका विद्यार्थी भएर पनि नसिरुद्दिन नै नाटकमा राम्रो भूमिका पाउँथे ।

ओम लजालु स्वभावका थिए । क्लासमा पनि पछाडि बस्थे । अति भएपछि ओमले आफ्ना गुरु इब्राहिम अल्काजीलाई भने- 'सुरुमा अभिनयकै विद्यार्थीले नाटकमा मुख्य भूमिका पाउनुपर्छ । उनीहरूले सकेनन् भने मात्रै निर्देशनका विद्यार्थीले अवसर पाउनुपर्छ ।' एउटा अन्तर्मुखी सोझो केटो आखिरमा बोलेरै छोड्यो । त्यो देखेर नसिरले ओमलाई नाटकको रिहर्सलपछि भने - 'मलाई थाहा थियो तँ एक दिन बोल्छस् ।' त्यस दिनदेखि नसिर र ओमको दोस्ती सुरु भयो । ओम र नसिरले धेरै नाटक र फिल्ममा सँगै काम गरेका छन् । नसिर भन्थे - 'ओम उनको फिल्ममा सानो भूमिकामा पनि खेल्न तयार हुन्छन् ।' र, ठट्टा गर्दै ओम भन्थे- 'तेरो कारणले हैन फिल्म राम्रो भएर खेलेको हुँ ।'

फिल्म स्कुल पुनेमा ओमको रुममेट थिए डेविड धवन । डेविड निर्देशनका विद्यार्थी थिए । डेविडलाई लाग्यो ओम निक्कै निरस मान्छे हुन् त्यसैले उनले नयाँ रुममेट खोजे । डेविड भन्छन्- 'जब मैले नब्बेको दशकमा 'कुँवारा' र 'दुल्हन हम ले जाएँगे' जस्ता फिल्ममा उनीसँग काम गर्न पाएँ उनलाई एउटा प्रतिभाशाली कलाकारको रूपमा चिन्न पाएँ ।' नसिरका अनुसार पनि ओम अन्तर्मुखी थिए । तर धेरै मेहनती ।

ओमको मेहनतको अगाडि नसिर आफ्नो प्रतिभा र क्षमताको कारणले सहजै उभिन्थे । तर विस्तारै परिस्थिति बदलियो । अन्तर्मुखी स्वभावका ओमले एनएसडीमा मञ्चित जापानी नाटक 'इबारागी'मा बर्हिमुखी चरित्रमा देखिएपछि नसिर र अरू धेरैलाई चकित बनाए । नसिरले आफ्नो बायोग्राफीमा लेखेका छन्- 'अंग्रेजी खराब भएको ओमले आखिर मलाई उछिनेर मभन्दा बढी अंग्रेजी फिल्म खेल्यो ।'

०००

सन् १९८० मा फरक धारका निर्देशक गोविन्द निहलानीको फिल्म 'आक्रोश'मा आगोको लप्कापछि देखिने पहिलो अनुहार हुन् ओम पुरी । भारतीय फिल्म जगतमा आगै भएर आए । प्रसिद्ध मराठी नाटककार गिरिस कर्नाडले लेखेको यस फिल्ममा नसिर, अस्मिता पटेलजस्ता राम्रा कलाकारहरू पनि छन् । ती सबैको बीचमा ओम प्रस्ट र यादगार छन् । यसै फिल्मबाट उनले उत्कृष्ट सहयोगी कलाकारको रूपमा 'फिल्मफेयर अवार्ड' पनि पाए । सन् १९८३ मा विजय तेन्दुलकरले अर्को शक्तिशाली फिल्म लेखे- 'अर्धसत्य' ।

गोविन्द निहलानीकै निर्देशनमा यस फिल्ममा ओम पुरीको अभिनयको चमत्कार देख्न सकिन्छ । यतिखेर अमिताभको फिल्म 'कुल्ली' पनि सँगसँगै रिलिज भएको थियो । स्थापित नायकको फिल्मलाई उछिनेर अर्धसत्यले समीक्षकहरूबाट मात्रै हैन व्यापारिक हिसाबले पनि ख्याति कमायो । यस फिल्मसँग सम्बन्धित धेरै रोचक कथा छन् ।

सन् २००४ मा बनेको निहलानी निर्देशित अर्को फिल्म 'देव'को सुटिडको एक दिन ओमले अमिताभलाई भनेछन्- 'बच्चन साब तपाईंले मलाई ठूलो गुन लगाउनुभएको छ । धेरै आभारी छु ।' ओमको कुरा सुनेर अमिताभ अचम्ममा परेछन् । उनले ओमको लागि त्यस्तो विशेष सहयोग केही गरेका थिएनन् । ओमले भनेछन् - 'तपाईंले अर्धसत्य फिल्म नखेलेर ठूलो गुन लगाउनु भएको छ । नत्र म अहिले कहाँ हुन्थेँ होला ।' निर्देशक निहलानीको ठूलो सपना थियो त्यस फिल्मको मुख्य भूमिकामा अमिताभ बच्चनलाई खेलाउने ।

ओम पुरी एक आम मानिस थिए गुण र दोषले भरिएका । आफ्नो कमजोरीलाई नै सबैभन्दा अब्बल क्षमतामा रूपान्तरित गर्नु उनको जादुगरी क्षमता हो ।

मूलधारमा जमेका अमिताभलाई फुर्सद नमिलेपछि ओमले अवसर पाए । ओम पुरी उर्फ सबइन्सपेक्टर आनन्द भेलन्करले अर्धसत्यमा मोटरसाइकल चलाउँछन् । यही फिल्मको लागि उनले पहिलो पटक मोटरसाइकल चलाउन सिकेका थिए । साथी अशोक भाटियाको सहयोगमा बाइक सिकेका ओमले आफू बाइक चलाउन सक्ने भएको देखाउन एक दिन निर्देशक निहलानीलाई पछाडि राखेर सहर घुमाए ।

तर दुर्भाग्य दुई पटक अचनाक बाइक सडकमा रोकियो । निर्देशक प्रभावित भएनन् । यही फिल्मको लागि ओमले पहिलो पटक जिमखाना जान सुरु गरे । अर्धसत्यको प्रिमियरपछि ओमको परिवारमा अर्को एउटा रोचक क्षण आयो । उनका बुबा फिल्म हेरेर निकै निराश भए । फिल्ममा ओमको बुवाले आमालाई कुटेको दृश्य छ । त्यो देखेर टेक चन्दलाई लागेछ ओमले आफ्ना बाआमाको कथा निर्देशकलाई सुनाएछन् ।

तर, विजय तेन्दुलकरका अनुसार त्यो घटना आम भारतीय पुरुष प्रधान परिवारको कथा थियो । नाटक वा फिल्मको पाठलाई ओम बाइवल वा गीता जस्तो मान्छन् । उनी भन्छन् 'यसलाई कलाकारले त्यही विश्वासमा पटकपटक पढ्नुपर्छ । सयौँ पटक पढेपछि त्यो पाठ उसको छालामा गढ्छ ।

चरित्रको पृष्ठभूमि पनि खुल्दै जान्छ ।' चरित्रका लागि कलाकारले आफ्नो शरीरमा पनि विशेष काम गर्नु पर्छ भन्ने उनको मान्यता छ । उनी भन्छन्- 'जसरी र्‍यागिङ बुलमा रोबर्ट डि नेरोले आफ्नो तौल बढाए, त्यसरी नै काम गर्नु पर्छ ।'

०००

सन् १९८२ मा बनेको स्याम बेनेगल निर्देशित फिल्म 'आरोहण' ओमको जीवनको अर्को महत्त्वपूर्ण हिस्सा हो जसले उनलाई उत्कृष्ट अभिनेताको पदवी दिलायो । उनले यस फिल्ममा हरि मण्डल नामक गरिब किसानको भूमिका निर्वाह गरेका थिए । 'चाइना गेट' ओमको पहिलो मूलधारको फिल्म थियो जसमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए ।

हलिउडका सम्झन योग्य फिल्ममध्येको रोनाल्ड जोफ्रीको फिल्म 'सिटी अफ जोए'मा ओम रिक्सा चालकको भूमिकामा छन् । यसका लागि उनी बिहान सबेरै रिक्सा चलाउने अभ्यासमा जान्थे । रिक्सा चालकहरू खाली खुट्टा रिक्सा चलाउँछन् भन्ने थाहा पाएपछि अप्ठेरो पर्‍यो । तर लामो अभ्यासपछि त्यसलाई सहज बनाए ।

उनका अनुसार निर्देशकको सोचलाई कलाकारले सधैँ सम्मान गर्नु आवश्यक छ । फरकमत आउन सक्छ तर सम्झौतामा आउनैपर्छ किनभने आखिरमा जहाजको चालक त निर्देशक नै हो । नाटक वा फिल्म सिम्फोनी अर्केस्ट्रा जस्तै हो । एउटा सिंगो नाटक वा फिल्म महत्वपूर्ण हो, कुनै कलाकारको अहम्ले त्यसलाई बिगार्नुहुन्न ।

ओमले अभिनय गरेका धेरै फिल्महरू व्यवसायिक र सिर्जनात्मक हिसाबले उल्लेख्य छन् । सन् १९७२ मा मराठी फिल्म 'घाँसीराम कोतवाल'बाट फिल्म नगरीमा प्रवेश गरेका ओमले माथि उल्लेख भए लगायत स्पर्स, दुस्मन, सद्गती, द्रोहकाल, माचिस, धुप, युवा, मकबुल, मण्डी, चक्रब्यूह जस्ता दर्जनौं फिल्ममा आफ्नो जादुगरी अभिनय प्रस्तुत गरेका छन् ।

उनले अभिनय गरेका हलिउड तथा अन्तर्राष्ट्रिय्रय ब्यानरका फिल्महरू इस्ट इज इस्ट, गान्धी, माइ सन दि फेन्टास्टिक, वेस्ट इज वेस्ट, दि जंगल बुक, उल्फ, ब्रदर्स इन ट्रुबल, सुट अन साइट जस्ता दुई दर्जन भन्दा बढि फिल्म छन् । हरेक फिल्मसँग जोडिएका उनका रोचक तथा घतलाग्दा संस्मरणहरू छन् । भारतका पूर्व प्रधानमन्त्री जवारहाल नेहरूको अटोबायोग्राफी 'डिस्कोभरी अफ इण्डिया'मा आधारित टिभी सिरिज 'भारत एक खोज'लाई ओम आफ्नो जीवनको महत्वपूर्ण काम मध्येमा लिन्थे ।

ओमले अभिनय गरेका धेरै फिल्महरू व्यावसायिक र सिर्जनात्मक हिसाबले उल्लेख्य रहे । इस्ट इज इस्ट, गान्धी, माचिस, मण्डी, मकबुल, माइसन दी फेन्टास्टिक, कुर्बान, सद्गती, स्पर्स, तामस, वेस्ट इज वेस्ट, चक्रब्यूह, दी जंगल बुकजस्ता दुई सयभन्दा बढी फिल्म छन् । हरेक फिल्मसँग जोडिएका उनका रोचक तथा घतलाग्दा संस्मरणहरू छन् ।

ओम पुरी मेरो लागि यस्ता कलाकार हुन् उनको सानो रोल हेर्न जस्तै झुर भए पनि म कुनै फिल्म छुटाउन सक्दिनँ । झुर फिल्ममै भए पनि उनको काम हेर्न योग्य हुन्छ । 'गोलमाल' जस्तो मूलधारको कमेडी फिल्ममा पनि उनी आफ्नो कामको सम्झनलायक प्रभाव छोड्न सक्छन् । हरेक फिल्मको चरित्र निर्माणका लागि उनले गरेका तयारीको रोचक कथा यस लेखले समेट्न सक्दैन । उनको बायोग्राफीमा पनि सबै आएको छैन । उनका धेरै अन्तर्वार्ताहरूले केही कथा भन्छन् । कति कथा त उनीसँगै गए ।

भारतीय नाट्य विद्यालयका उत्पादनमध्येका सबैभन्दा स्वाभाविक र यथार्थपरक अभिनय खानी हुन् ओम पुरी । शारीरिक रूपमा मात्रै हैन संवाद र स्वरको ढंगमा पनि स्वाभाविक छन् उनी । भारतीय अरू मेथड एक्टरहरूको पनि स्वर र संवाद बोल्ने शैलीमा एकरूपता पाइन्छ । तर, ओम पुरी हरेक नयाँ फिल्ममा फ्रेस लाग्छन् मलाई । ओम पुरीयस्ता भारतीय कलाकार मानिन्छन् जसले बलिउडको आर्ट, कमर्सियल र हलिउडलाई जोड्ने काम गरे ।

धेरै कलाकारको आदर्श पात्र ओम पुरी जसले चरित्र निर्वाह गर्दा कुनै कसर बाँकी राखेन । उनको मृत्यु एउटा भ्रम हो । लाग्छ, सयौं वर्षसम्म उनको अभिनयको चर्चा यस समाजले गरिरहनेछ । (पुरीको बायोग्राफी पुस्तक तथा अन्य एजेन्सीहरूको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.