शब्द तर्पण लेखनाथका नाममा
लेखनाथ पौड्यालको जन्मको १९४१ पुस २६ गते गण्डकी अञ्चल कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो । उनको औपचारिक शिक्षा संस्कृत व्याकरणमा मध्यमासम्म भए पनि पूर्वीय दर्शन वाङ्मयको स्वाध्ययनले ज्ञानको क्षेत्र निकै फराकिलो बनेको थियो । छात्रा जीवनदेखि नै लेखनाथले नेपाल र संस्कृत दुवै भाषामा समस्यापूर्ति कविता रचना गर्न थालेका थिए ।
उनको पहिलो प्रकाशित कविताचाहिँ ‘कविताकल्पदु्रम' (१९६२) सामूहिक कवितासंग्रहमा संगृहीत ‘शृङ्गारपच्चिसी' र ‘मानषाकर्षिणी' हुन् । नेपाली कवितामा लेखनाथको प्रवेश माध्यमिक कालको उत्सर्गतिरबाट शृंगारिक भावका कविता लेखनबाट भएको हो । यस भावमा कविले ‘सूक्तिसिन्धु' (१९७४) सम्म मात्र कलम चलाएको पाइन्छ ।
तथापि, यही समयमा दसैं, तिहार, ईश्वरस्तुति, हिउँदका दिन, पिँजराको सुगा, वर्षाविचार आदि फुटकर कविता र शोकप्रवाह खण्डकाव्यको रचना गरी भाव एवं कला दुवै पक्षबाट परिस्कारोन्मुख भइरहेको देखिन्छ ।माध्यमिककालीन मूलधारमा रहेका लेखनाथ १९७४ पूर्व पुरानामध्येका नयाँ कवि बनेका छन् भने १९७५ पश्चात् नयाँमध्येका पुराना कवि बन्न पुगेका छन् ।
लेख्य व्याकरणको मानक निर्धारण गर्दै हलन्त बहिष्कार आन्दोलनमा केन्द्रित रहेर लेखनाथले काव्य साधना गरिरहे । नेपाली भाषामा स्तरीय कविता लेख्न सकिँदैन भन्ने भ्रम चिरिरहे । यस कालखण्डमा उनले नीतिचेतना, हिन्दु पुनर्जागरणको स्वर, समाज सुधार, प्रकृतिको वस्तुपरक चित्रण, आध्यात्मिक चेतना तथा शब्दालंकार र अर्थालंकारको चामत्कृत प्रयोग गर्दै भावी नेपाली कवितालाई दिशानिर्देश गरे ।
आधुनिक नेपाली कविताको प्रवर्तन गर्ने श्रेय लेखनाथलाई जान्छ । आधुनिक नेपाली कविताको परिस्कारवादी÷शास्त्रीय धारा (१९७५-१९९०)का प्रवर्तक तथा केन्द्रीय प्रतिभा पौड्यालले ‘सत्यकलिसंवाद' कृतिमार्फत आधुनिकताको उद्घाटन गरेका हुन् ।
यस काव्यमा सामाजिक व्यंग्य र हिन्दु पुनर्जागरणलाई घोलेर स्वस्थ समाज निर्माणको उद्घोष गरेका छन् । आर्य सभ्यताको प्राचीन महिमा, आर्य सभ्यताको रुढिग्रस्त पतन एवं आधुनिक युग र आर्य सभ्यताको पुनर्जागरण यस काव्यको मूल विषयवस्तु हो । यस क्रममा लेखनाथ समाज द्रष्टाका रूपमा देखा पर्छन् । काव्यमा तत्कालीन समाजिक यथार्थ छताछुल्ल भएको छ ।
१९६६ सालमा ५० श्लोकको ‘वर्षा-विचार' प्रकाशन गरी ऋतुविचारको गर्भाधान गरेका लेखनाथले १९७३ मा तीन सय श्लोकको ‘ऋतुविचार' प्रकाशन गर्दै प्रकृति काव्यको जन्म गराउँछन् । ‘ऋतुविचार'मा नेपालको प्रकृतिमा देखिने ६ वटा ऋतुचक्रको वस्तुपरक चित्रण खिचिएको छ । यस काव्यमा कविले प्रकृति र मानवजीवनको कालचक्रलाई समानान्तर रूपमा उतारेका छन् । ‘ऋतुविचार' खण्डकाव्यको पहिलो संस्करण रचना गर्नेताका कविलाई हिन्दु सांस्कृतिक पुनर्जागरण, राणा शासनको कठोरता र भारतमा उर्लिरहेको राष्ट्रवादले चिमोटिरहेको पाइन्छ ।
माध्यमिककालीन मूलधारमा रहेका लेखनाथ १९७४ पूर्व पुरानामध्येका नयाँ कवि बनेका छन् भने १९७५ पश्चात् नयाँमध्येका पुराना कवि बन्न पुगेका छन् ।
१९९१ मा ऋतुविचारको परिवर्तित तथा संशोधित संस्करण प्रकाशन हुन्छ । यो खण्डकाव्यमा ६ सय ६ श्लोक छन् । भावशैली, भाषाशैली र शिल्पविधानको सापेक्षतामा यस कालको ऋतुविचार नेपाली खण्डकाव्य इतिहासको कोहिनुर हो । वर्षा-विचारले कविको २५ वर्ष काव्यसाधनाबाट ऋतुविचारको दोस्रो संस्करणका रूपमा जन्म लिन्छ । यो आख्यान तथा पात्रविहीन खण्डकाव्य हो । हरेक श्लोकमार्फत सन्देशमा अमृतधारा प्रवाहित भएको छ ।
काव्यको एक पंक्तिले प्रकृतिको सजीव चित्र खिच्दछ भने अर्को पंक्तिले जीवनजगत्को चित्रण गर्छ । यी दुवै पक्षको चामत्कारिक संयोजन खण्डकाव्यको गहना हो । ६ वटा ऋतुको आगमन र प्रत्यागमनको शृंखलित धरातलमा तत्कालीन नेपाली समाज, हिन्दु संस्कृतिको पुनर्जागरण, ग्रामीण समाज, चाडपर्व, राजनीति, शिक्षानीति, आध्यात्मिक विचार आदिबारे गहन भावाव्यक्त गरिएको छ ।
सम्भवतः नेपाली खण्डकाव्यमै सर्वाधिक अलंकार प्रयोग भएको कृति हुनसक्छ— ऋतुविचार । उपमा, दृष्टान्त, उत्प्रेक्षा, रूपक, अर्थान्तरणन्यास, अतिशयोक्तिलगायतका १७ वटाभन्दा बढी अलंकारले सुशोभित छ यो काव्य । ‘ऋतुविचार'लाई खण्डकाव्यका अतिरिक्त प्रकृति काव्य, कोष काव्य, अलंकार काव्य, दार्शनिक काव्य आदिको मानपदवी दिएको पाइन्छ ।
लेखनाथ पौड्यालको सिद्धहस्तता फुटकर कवितामा पनि उत्तिकै देख्न पाइन्छ । १९९१ पछि प्रकाशित उनका जीवन चंगा, मुरलीमोह, कालमहिमा, गौंथलीको चिरिबिरीजस्ता कविताले भाषा, भाव र शैलीको परिस्कृत कालिगढी प्रतिभा देखाएका छन् । आध्यात्मिक चेतना र जीवनप्रतिको दार्शनिक दृष्टिकोणलाई कविले खँदिलो भावाव्यक्तिमा गुञ्जाएका छन् ।
मानिसलाई जीवन सार्थक बनाउने सूत्रका रूपमा अध्यात्ममार्गी बन्न आग्रह गरिएको छ । भौतिकवादी निस्सारतालाई छोडेर वेदान्त दर्शन अनुसरण गरी मानिसलाई मानवतावादी, आदर्शवान् र नैतिकवान् बन्न प्रोत्साहन गरिएको छ । शरीरलाई भन्दा चेतनालाई र मनलाई भन्दा बुद्धिलाई शाश्वत मान्नु पौड्यालका रचनाहरूको विशेषता हो । माघे झरीको हिमालझैं कविको अभिव्यक्ति शान्त र स्निग्ध देखिन्छ ।
२००७ सालको राजनीतिक परिवर्तनपछि लेखनाथको काव्यप्रवृत्तिमा पनि स्वाभाविक परिवर्तन देखा परे । उनले आर्थिक समानता, विकास र जनाधिकारका पक्षमा खुलेर अभिव्यक्ति दिन थाले । आध्यात्मिक कलेवरमा माक्र्सवादी चिन्तन प्रकट गर्न थाले । देशबन्धुसँग अपिल, जुगप्रभाती साहित्यको फुटबल आदि फुटकर कविता तथा महात्मा गान्धीको महिमागानमा आधारित अमरज्योतिको सत्यस्मृति, तरुणतपसी, मेरो राम आदि काव्यमार्फत उनले नेपाली काव्यको परिस्कारवादी धारालाई गजुर लगाइरहे ।
लेखनाथको पौड्यालको कविप्रतिभा फुटकर कविता र खण्डकाव्यदेखि महाकाव्यसम्म फैलिएको छ । २०१० सालमा तरुण तपसी प्रकाशन हुन्छ । कवि स्वयंले नव्यकाव्य भने पनि जीवन जगत्लाई बृहत् रूपमा हेरिएको हुँदा समालोचकहरू महाकाव्य नै मान्दछन् । तरुण तपसीमा कविले सभ्यताको विकासक्रमलाई एउटा रूखको माध्यमबाट प्रस्तुत गरेका छन् ।
प्रकृतिको समग्र स्वरूपलाई एउटा वृक्षमा उतारेर कविले मानव सभ्यताको समीकरणमात्र गरेका छैनन्, आध्यात्मिक चिन्तन र सामाजिकता पनि सम्प्रेषण गरेका छन् । वृक्षलाई नै नायकका रूपमा उभ्याइएको छ । शास्त्रीयतावादी दृष्टिले तरुण तपसी नेपाली कविता साहित्यकै अद्वितीय प्राप्ति हो । भाव, भाषा र शिल्पको त्रिकोणात्मक संयोजनले तरुण तपसीको क्यानभास रंगिएको छ ।
तरुण तपसीमा १९ वटा वि श्राम रहेका छन् । हरेक वि श्रामको प्रारम्भ सुन्दरी छन्दबाट, विकास शिखरिणी छन्दबाट र वि श्रामको अन्त्य मालिनी छन्दबाट गरिएको छ । सिंगो काव्य ५४४ श्लोक शिखरिणी छन्दमा, ३७ वटा श्लोक सुन्दरी र मालिनी छन्दमा संरचित छ । विविध अलंकारको उपयोग गरी अभिव्यक्तिलाई महक बनाइएको छ । शान्त रस अंगी रसका रूपमा प्रयोग गरी चहक बनाइएको छ ।
तरुण तपसीमा लेखनाथ अध्यात्म र भौतिकताको समन्वय गर्दै नयाँ दर्शन जन्माउँछन् । एक किसिमले आधुनिक साम्यवादीका रूपमा देखा पर्छन् उनी । आध्यात्मिक मार्गको अनुसरण गरी मानिसले यही लोकमा मोक्ष प्राप्त गर्नसक्ने विषयप्रति कविता दृढ छन् । धार्मिक, आर्थिक, सामाजिक विषमताहरूलाई केवल अध्यात्मले मात्र विस्थापित गर्नसक्छ तबमात्र पुँजीवादी अर्थव्यवस्था तथा वैज्ञानिक उन्नतिलाई सकारात्मक ढंगले उपयोग गर्न सकिन्छ भन्ने कविको ठहर रहेको पाइन्छ । कवि संसारलाई स्वर्ग र मानिसलाई देवता बनाउन चाहन्छन् ।
नेपाली साहित्यमा लेखनाथको प्रमुख योगदान काव्य विधामै केन्द्रित रहेको देखिन्छ । उनले फुटकर कवितादेखि महाकाव्यसम्म रचना गरे । उनका काव्यकृतिहरू संख्यात्मक र गुणात्मक दुवै दृष्टिले सशक्त छन् । लेखनाथ नेपाली काव्यको परिस्कारवादी धाराका सर्वोच्च कवि हुन् । उनी छन्दवादी, अलंकारवादी तथा रसवादी कवि हुन् ।
आध्यात्मिकताका पक्षपाती लेखनाथले आर्य पुनर्जागरणको उद्घोष गरेका छन् । काव्यकृतिमा भाषा, भाव र शैलीको छिनो र हथौडाले कालिगढी देखाएका छन् । कविता, काव्यका अतिरिक्त लेखनाथले नाटक पनि रचना गरेको देखिन्छ । ‘लक्ष्मीपूजा' र ‘भर्तृहरिनिर्वेद' लेखनाथका नाट्यकृति हुन् ।
माध्यमिककालीन शृंगारिक कविताको दलदलबाट लेखनाथले नेपाली कविताको आधुनिक कालको कमल फुलाइछाडे । लेखनाथको यो कवितायात्रा २०२२ सालमा पुगेर टुंगियो । लेखनाथले नेपाली साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप मृत्युअघि र मृत्युपश्चात् सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । २००८ सालमा उनलाई कविशिरोमणि उपाधिले सम्मान गरियो ।
२०११ सालमा सार्वजनिक रथयात्रा र अभिनन्दन गरियो । २०१४ सालमा नेपाल एकेडेमीको संस्थापक सदस्यता प्रदान गरियो । २०२३ सालमा मरणोपरान्त हुलाक टिकट प्रकाशन र २०२६ सालमा त्रिभुवन पुरस्कारद्वारा सम्मान गरियो ।
स्रष्टाको उचित सम्मान गर्नु असल राज्य र असल नागरिकको प्रमुख दायित्व हो । राज्यले रचनात्मक कार्य गरी लेखनाथको जन्मजयन्ती मनाओस् । उनका काव्यकृतिका संरक्षण तथा संवद्र्धन गरोस् । साहित्यिक जीवनका साथै व्यक्तिगत जीवनका तमाम पक्षबारे खोज अनुसन्धान गरी प्रकाशमा ल्याओस् । लेखनाथका कृति र व्यक्तिजीवनसँग सम्बन्धित सामग्री संकलन गरी संग्रहालय निर्माण गरोस् ।