चण्डेश्वरी मन्दिर-मूर्ति र परिसर

चण्डेश्वरी मन्दिर-मूर्ति र परिसर

चण्डेश्वरी मन्दिर परिसर प्रवेशद्वारदेखि नै तोरण कला-सम्पदा देख्न सकिन्छ, पाइन्छ । तोरण सांस्कृतिक सम्पदा अध्ययन, अवलोकनको प्रथम आख्यान बन्छ, बनेको छ, जहाँतहीँ सम्पदा स्थलहरूमा । यसको प्राचुर्य चण्डेश्वरी मन्दिर प्रवेशदेखि यावत् परिसरभरि नै फैलिएको छ ।

तोरण कला-संस्कृति नेपाली-नेवारी निर्माण शैलीका अभिन्न वास्तु सम्पदा रहेका छन् । तोरण कला यथार्थमा स्थापत्य संस्कार र संस्कृतिको अभिन्न अवयव नै रहिआएका छन् । तोरण संस्कृतिका संस्कारमा मन्दिर, स्तूप/चिभा, बौद्ध बिहारहरू जहाँ पनि सजीव तवरले सजिसजाइएका हुन्छन् । तोरण एक प्रकारले मन्दिर, स्तूप/चिभा, बौद्ध विहारहरू जहाँतहीँ भेटिने भएर पनि यसको मर्मबोधि ज्ञानका अन्तर्य, रहस्य बोध हुनु आवश्यक छ ।

तोरण कला सम्पदाको मूल रहस्य मन्दिर, स्तूप, चिभा, बौद्ध बिहारका अन्तर्य बोधि ज्ञापनका प्रज्ञापन संस्कारमण्डित सम्पदा हो । यसो भन्नुको तात्पर्य तोरण कला कुनै पनि सम्पदास्थलका गुह्यका प्रज्ञापन हो । तोरणले त्यस मन्दिर, स्तूप, विहारभित्र कुन वर्चश्वशाली मूर्ति कुन मुद्रामा स्थापित छन्, त्यसको पूर्वजानकारी दिने वास्तुकलाका शैलीगत अभिव्यक्ति रहे, बनेका हुन्छन् ।

चण्डेश्वरी देवी-कुमारीको मन्दिरभित्र स्थापित कुमारी-देवीलाई प्रतिविम्बित/प्रतिनिधित्व गर्ने मूर्ति अंकित भए, गरिएका छन् । मूल प्रतिमा बीचको भागमा अंकित हुन्छन् । वरपर त्यसको मन्दिर वरपर र भित्री ठाउँमा जडित अन्य वस्तु/मूर्तिका साथै अन्य सहायक वस्तुतत्वहरू कुँदिएका हुन्छन् । तोरण सम्पदा एक प्रकारले मन्दिरभित्र र बाहिरी परिसरमा रहेका वस्तुतत्वहरू दर्शाउने पूर्वाभाष दिने/देखाउने ऐना हुन् ।

कलावस्तु भनौं वास्तुकलामा अन्तरंग दर्शाउने पूर्वसूचक सांस्कृतिक अलंकार रहेको छ, बनेको छ । चण्डेश्वरी मन्दिर परिसर चोक दक्षिणतर्फ खुला छ । दक्षिण खुला राखी पूर्व, पश्चिम र उत्तरतिर सत्तल, पाटी, पौवा आदि निर्मित छन् । यसो हुनुको मर्मस्पर्शी कारण नेपालको पर्वत शृंखलायुक्त वातावरणीय पर्यावरणकै कारण मान्नुपर्छ ।

यहाँको वातावरणीय पर्यावरणमा दक्षिण खुला राख्ने निर्माण संस्कृति बनेको छ । चिसो पर्यावरणमा दक्षिणायन मोहडा खुला राख्नु स्वस्थकर रहन्छ । पारिलो घामको किरणले वातावरण नै न्यानो पार्छ । घर बनाउन पारिलो घामको न्यानो राप उपभोग गरी शरीरलाई स्वस्थ राख्नु वातावरणीय आवश्यकता नै रहेको छ । परन्तु तीनतले मन्दिर जसमा चण्डेश्वरी मूर्ति प्रतिस्थापित छन्, दक्षिणायन बनाइएका छैनन् ।

यो मन्दिर उत्तराभिमुख बने बनाइएको छ । उत्तर मोहडा बनाइएका भवन, मन्दिरको ईश्वरीय मूर्ति दर्शन गर्दा दर्शनार्थीको चैतन्य चेतलाई सदा शीतल ठण्डा बनाइदिन्छ । शीतल मनमस्तिष्कले मानिसलाई सदा सुझबुझयुक्त, सौम्य र शालीन रहने प्रभाव राख्दछ । यो कुरा अग्रजहरू बताउने गर्दथे ।

चण्डेश्वरी मन्दिर भित्र स्थापना भएका काष्ठमूर्ति विलक्षणयुक्त छ । विलक्षणयुक्त भन्नुको तात्पर्य यो मूर्ति अरू मन्दिरभित्रका मूर्तिभन्दा भिन्न सीप, शैली र वस्तुबाट निर्मित छ । मूर्तिको वर्चस्वशाली स्वरूप, तिनका आकृति, प्रायोजित शिल्प, साधना र प्रयुक्त स्थानीय साधनबाट झल्किँदो हुन्छ । काष्ठ वस्तु तत्वले गर्दा चण्डेश्वरी मूर्ति हुबहु अमूर्त शिल्पसाधना युक्त छ ।

तोरण सम्पदा एक प्रकारले मन्दिरभित्र र बाहिरी परिसरमा रहेका वस्तुत्वहरू दर्शाउने पूर्वाभाष दिने/देखाउने ऐना हुन् ।

अमूर्त शिल्प साधनामा निश्चित र निर्धारित आकार-आकृति विन्यास भए गरिएको हुन्न । त्यसमा मूर्तिकारका भावुक दर्शन प्रयुक्त हुन्छ । भावुक दर्शन भावक-भावकका चिन्तन धाराअनुरूप बन्छ । भावकले जसरी, जुन दृष्टिले अवलोकन गर्छ, त्यही रूपमा देखिन्छ । ‘भावस्य देवता' भन्नुको अभ्यन्तर यस्तै जँचिन आउँछ । जुनजुन भावधाराले हेरिन्छ तिन् तिन् आकारमा देखिन्छ अमूर्तकला ।

आधुनिकीकरण अर्वाचीन अमूर्तकला शैलीको प्रादुर्भाव कलाकारका भावुक भावधारामा जन्मजात हुन पुगेका हुन्छन् । तिनमा कलाकारले मात्र होइन, कला अनुरागीले पनि आ-आफ्ना भावुक अर्थ दिन पाउँछन् र विश्लेषण गर्छन् । यस परिप्रेक्ष्यमा अमूर्तकला भावना चिन्तन र वैचारिक उडानअनुरूप व्याख्यान गर्ने स्वच्छन्दता प्रदान गर्छ अवलोकनकर्तालाई ।

त्यसकारण, अमूर्तकला कलाकारकै चिन्तन, सोचअनुरूपै गरिन्छ या गरिनु नै पर्ने बन्धन रहन्न । यही सारतत्व अमूर्त मूर्ति, कलाका उद्दीपन ठहर्छ । चण्डेश्वरी मूर्ति पनि यस्तै उदात्त उद्दाम प्राप्त कौमार्ययुक्त सुकुमारी बालकुमारी-आकृति देख्छु । चन्दनको रूखको मूल जराको ठुटोलाई अनाकृतिबाट मूर्त आकृति प्रदान गर्न साँखुका तत्कालीन मूर्तिकलाका मर्मज्ञहरूले चाँदीको नयनमा कालो इयुँ लगाई दृष्टि जडिदिएका छन् ।

चण्डेश्वरी माईलाई दृष्टि लगाइदिने श्रद्धालुको नाम कतै उल्लेख भएको पाइन्न । तत्कालीन आस्थावान् र हाम्रो वर्तमान समयका समकालीन भावकहरू बीचको अन्तर यहीँ छर्लंगिन्छन् । कि भूतकालीन समाज-मनोविज्ञान र आजको हाम्रो समाज-मनोविज्ञानबीचका निष्काम अनि सकाम आकांक्षाबोध गर्न सकिन्छ । निष्काम भाव र सकाम भाव प्रेरित मनोविज्ञानलाई विगत अनि वर्तमान स्वार्थ प्रेरणामा तुलनात्मक अध्ययन गर्ने विपुल ठाउँ भेटिन्छन् ।

चण्डेश्वरी मन्दिरभित्र पस्दा बायाँतिरको लङभरि मृत्तिकाका केही मूर्ति लहरै भेटिन्छन् । मृत्तिका मूर्ति निर्माण कुनै ज्यावल साधनबिना स्वतन्त्र हस्तकला हुन् । हस्तकला साधनाकाल पक्कै पनि लिच्छवीकालीन युगका हुन सक्छन् । लिच्छवीकालमा त शालीन शिला आकृतिहरूका प्रचुरता भेटिएका छन् ।

लिच्छवीकालीन मूर्तिकला, वास्तुकला, स्थापत्य कलाका भव्यशैलीले नेपाली निर्माण जगत्का सम्पदामा बेजोड योगदान पुर्‍याएको छ । निर्विवाद सत्य रहेको छ यो तथ्य । लिच्छवीकालीन मूर्तिहरू नितान्त चिल्ला, मिहिन, समानुपातिक नापमा सजधज रहेका छन् ।

चण्डेश्वरी मन्दिरभित्र आधुनिक विद्युत् लाइन भित्र्याइएको पाइन्न । त्यो सुविधा भएको भए ती मृत्तिका मूर्तिका साथ अन्यान्ध वस्तुहरू सार्थक रूपमा अवलोकन-अध्ययन-चिन्तन-मनन गर्ने प्रचुर अवस्थाका क्षितिज उघ्रने थियो । विद्युत् लाइन जडान गर्नसके सम्भवतः त्यसमा त्यतैबाट चण्डेश्वरी मूर्ति र यावत् वस्तुलाई विश्वव्यापीकरण गर्न सकिने स्थितिका क्षितिज उघ्रँदो हो ।

चण्डेश्वरी चतुष्कोण युक्त आकारभूमिमा निर्मित छ । चतुष्कोणमय चण्डेश्वरी मन्दिर वास्तुशास्त्र विधि विज्ञानसम्मत निर्मित रहेको रहस्य बनेपाका संस्कार-संस्कृतिमूलक विज्ञ-लेखक-सर्जक ज्ञानकाजी मानन्धर आफ्ना बनेपा-स्तवन पुस्तकमा संगृहीत ‘बनेपाको प्रसिद्ध चण्डेश्वरी मन्दिर' आलेखमा उल्लेख गरेका छन् । योमात्र होइन बरु अन्य नेपाली मन्दिरलाई पश्चिमेली र तिनकै लहैलहैमा लागि यस्ता चतुष्कोणी मन्दिर शैलीलाई पनि पेगोडा शैलीमा निर्मित भनिएका छन् ।

हाम्रा चौकोणयुक्त भूमिमा उठाइएका मन्दिरहरू ‘मण्डप शैली'मा निर्मित छन् । पेगोडा शैली र मण्डप शैलीमा निकै अन्तर छ । पेगोडा शैलीका मन्दिरहरू चौकोणयुक्त हुन्नन् । तिनीहरू लाम्चिला हुन्छन् । भक्तपुर टौमढीस्थित पाँचतले न्यातपौ मन्दिर मण्डप शैलीमा निर्मित छन् । आसपासमा रहेका भैरवनाथको भैरव मन्दिर हुबहु पेगोडा शैलीमा मिल्दोजुल्दो देखिन आउँछ । तथापि त्यहीँ पनि पूर्णतया पेगोडा शैलीकै डिजाइन भन्न गाह्रो पर्छ ।

चीन, जापान, कोरिया आदि मुलुक बौद्ध मन्दिरहरू पेगोडा शैलीमा निर्मित छन् । तिनका मुहूर्त-मुखपृष्ठ दायाँ-बायाँ लाम्चिलो बनाइएका हुन्छन् । तिनका आफ्नै विशेषता हुन्छन् । हाम्रा नेपाली मण्डप शैलीका पनि अनेक विशेषतायुक्त छन् ।

काठमाडौंको पशुपति मन्दिर, काष्ठमण्डप, ललितपुरका भीमसेन मन्दिरहरू मण्डप शैलीमै निर्मित सम्पदा रहेका छन् । मण्डप शैलीका प्रमुख विशेषता मन्दिरभित्रको चतुष्कोणको बीचका भाग चौकोणे मण्डप बनाउने केन्द्रबिन्दु राखेको हुन्छ । त्यस चौकोणमा यज्ञमण्डप बनाइन्छ ।

यज्ञमण्डपमा यज्ञकुण्ड निर्माण गरिन्छ— वैदिक विधिवत् । यज्ञमण्डप बीच विशेष जातको काठका चिर्पटहरू त्रिकोणात्मक आकारमा होम गर्ने संस्कार सम्पन्न गरिन्छ । विधिवत् यज्ञ-होम पूर्ण भएको कम्तीमा चार दिनपछि त्यसै मण्डपमा मन्दिरमा स्थापना गरिने आस्थामूर्तिको शिला, काष्ठ, धातु मूर्तिका आधारस्तम्भ खडा गरिएको हुन्छ ।

त्यस आस्थामय मूर्ति प्रदक्षिणा मार्ग चारैतिर बनाइएका हुन्छन् । मन्दिरभित्र बालिने धुप, दीपबाट उत्सर्जन हुने धुवाँहरू बहिर्गमन निमित्त मन्दिरका चारै दिशामा धुवाँ निस्कने खोपा, प्वाल र झ्यालहरू बनाइएका हुन्छन् । यस्ता प्रबन्धात्मक निर्माण मण्डप शैलीका विशेषता रहेका छन् ।

यसका अरू विशेषताहरू ‘प्रज्ञा' पूर्णांक १०६ कार्तिक-चैत्र २०६८ मा सप्रसंग प्रस्तुत छन् । प्रसंगवश यी सबै विशेषता चण्डेश्वरी मन्दिरभित्र समावेश भए गरेको प्रगाढ रूपले अवलोकन-अध्ययन गर्नुपर्ने खाँचो छ । सरसर्ती अवलोकन-अध्ययन पर्याप्त रहन्न ।

चण्डेश्वरी मन्दिर निर्मित स्थान रक्तचन्दन वन रहेको आख्यानिक प्रसंग ज्ञानकाजी मानन्धरले उल्लेख गरेको छ । चन्दन, रक्तचन्दन वन उष्ण तापक्रमयुक्त वातावरणीय सतहमा हुने गरेको वनस्पति विज्ञानले बताउँछ । वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ बनेपा, पोखरा आदि स्थानमा उम्रने जैविक वनस्पति शुद्ध-सक्कली नभई अर्कै प्रकारका बताउनुहुन्छ ।

जे होस्, बनेपा भूमिको चण्डेश्वरी मन्दिरको थुम्कोमा शताब्दीयौंअगाडि दोस्रो प्रकरणका रक्तचन्दन वन रहेको अनुमान सही जँचिन्छ । सद्दे र सक्कली रक्तचन्दन उष्ण प्रदेशीय वनस्पति भएर पनि त्यस्ता वैविध्य प्रकृतिप्रदत्त उष्ण र शीतोष्ण दुवै प्रकारका भूसतहमा विकसित हुँदो रहेछ । बनेपा चण्डेश्वरी मन्दिर परिवेशमा पाइने ती जैविक वनस्पति प्रकृतिकै वरदान बनेको छ ।

जैविक वनस्पति स्थानीय रक्तचन्दनको जरामा प्रकटीकरण भए, गरिएका चण्डेश्वरी मूर्तिमान पारिएको आकृतिसित स्थानीय जनमनबीच आख्यानिक विश्वास जमेको छ । आख्यान आस्थाबीचबाट पलाउने धारणा र विश्वास हो । नहुँदो हो त त्यसो एक एक समूह, समुदाय, समाज र राष्ट्रमा अनेक आस्था र विश्वास उब्जने थिएन । मानिस जनसमूह बीचबाटै पल्लवित हुने विश्वास र धारणाका अवतार हुन् ।

ज्ञानकाजी मानन्धरले बनेपा-स्तवन पुस्तकमा संकलित आफ्ना चण्डेश्वरी मन्दिर रचनामा चण्डेश्वरी मन्दिर स्थापना भए, गरिएका तिथिमिति यकिन गरेका छन् । उनले लोकवार्ता र जन श्रुति अनुरूपका अनेक कथनहरू प्रस्तुत गरेका छन् ।

कसले, कुन तिथिमितिमा निर्माण र स्थापना गरे, गराएको थियो भन्ने कुरामा तर्क वितर्क गर्नुभन्दा मन्दिर कम्तीमा पनि सात सय वर्ष अगाडिको सम्पदा रहेको ज्ञात हुन आउँछ । ती अवधिबीच कतिपय अन्तरालमा भयावह भूकम्पहरूले मन्दिरको स्थिति तहसनहस पारिसके लेखाजोखा छैन । २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पले भने बनेपाको लौकिक आस्थाका चण्डेश्वरी मन्दिरलाई कुनै नोक्सान नगरेको भेटिन्छ ।

यसो हुनुको प्रमुख कारण यस मन्दिरको जगैदेखि मजबुत तवरका प्रविधि प्रयोग गरी २०६१ मा पुनर्निर्माण भएकैले हो भन्न हिच्किचाउनु पर्दैन । मन्दिर पुनर्निर्माण कालमा यस्ता सांस्कृतिक सम्पदा संरक्षण प्रविधिमूलक कार्यमा लगनशील प्राविधिक सीप प्रदान गर्ने विज्ञ अरबिन्दलाल भोमीसितको संवादका प्रसंगबाट पनि यसो भन्ने साहस प्राप्त भएको उल्लेख्य छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.