निर्णायक बन्न लुइस बुटवलमा
बुटवलः भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस शुक्रबार साँझ बुटवल आइपुगेका छन । उनलाई पञ्चैबाजाका साथ स्वागत गरिएको थियो ।
बागेश्वरी संगीतालयले आयोजना गरेको अल नेपाल डान्स कम्पिटिसन (एएनडी च्याम्प) को शनिबार बुटवलमा हुने अन्तिम प्रतिस्पर्धामा निर्णायकको भूमिका निर्वाह गर्न उनी नेपाल आएका हुन् । बुटवलस्थित एन्फा एकेडेमीको खेलमैदानमा अन्तिम प्रतिस्पर्धा हुने भएको हो । नेपालभरबाट उत्कृष्ट १० मा परेका प्रतिस्पर्धीले नृत्य प्रस्तुत गर्दैछन् । प्रतियोगिताका लागि नेपालका १४ वटा सहरबाट पाँच सयभन्दा बढीले अडिसन दिएका थिए ।
जुनियर र सिनियर उमेर तह निर्धारण गरी फाइनलका लागि उत्कृष्ट १० छनोट गरिएको बागेश्वरी संगीतालयका संस्थापक सुरेश सेन्चुरीले जानकारी दिए । ‘नो एसएमएस, नो भोटिङ’ आधारबाट मूल्यांकन गरिएको प्रतिस्पर्धामा भारतको मुम्बईमा कार्यरत पाँच कोरियोग्राफरले निर्णायकको भूमिका निभाएका छन् ।
फाइनल प्रतिस्पर्धाका लागि निर्णायकका रूपमा टेरेन्स लुइस सहभागी हुने आयोजक संस्थाका याम पुनले जानकारी दिए । नेपालमा भएका डान्स रियालिटी शोमा एएनडी च्याम्पलाई सबभन्दा बृहत् र भव्य बनाइएको आयोजकको दाबी छ ।
जुनियर र सिनियरतर्फका विजेताले दुई÷दुई लाख रुपैयाँ र कोरियोग्राफर लुइसको इन्स्टिच्युटमा तीन महिनाको छात्रवृत्ति पाउनेछ । फाइनल कार्यक्रममा अभिनेत्री निशा अधिकारीले सञ्चालन गर्दैछिन् ।