स्थानीयको अवरोधले किमाथांका सडक रोकियो
काठमाडौं : सर्वेक्षणविपरीत सडकको अलाइनमेन्ट परिवर्तन गरी अन्यत्रैबाट निर्माण गरेको भन्दै स्थानीयले जोगबनी–किमाथांका सडक निर्माणकार्य रोकेका छन् । किमाथांकादेखि तल खनिँदै आएको सडक अलाइनमेन्टभन्दा फरक भएको भन्दै चेपुवा गाविसका बासिन्दाले काम अवरुद्ध गरेपछि सडक विस्तार रोकिएको हो ।
सरकारको मुख्य प्राथमिकतामा परेको जोगबनी–किमाथांका कोसी सडक (३९० किमि) निर्माण स्थानीयले रोकेपछि दुई वर्षभित्र ट्र्याक खोल्ने लक्ष्य पूरा नहुने देखिएको छ ।
उत्तर–दक्षिण कोसी सडक आयोजनाले २० नम्बर प्याकेजअन्तर्गतको किमाथांकादेखि तल २१ किलोमिटर ट्र्याक खोल्ने जिम्मा तीन वर्षअघि नै शर्मा एपेक्स कान्छाराम (संयुक्त) लाई दिएको थियो । निर्माणको जिम्मा पाएको कम्पनीले १६ किलोमिटर सडक निर्माण सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीका प्रतिनिधि भरत कार्कीका अनुसार स्थानीयले सडक निर्माण नगर्न भनेपछि काम रोकिएको हो ।
यता चेपुवा गाविसका बासिन्दाले सडकको अन्तिम सर्वेक्षणपछि ठेक्का लगाई काम सुरु गरेको तर पछिल्लो समयमा ठेकेदार र सडक कार्यालयले सडकलाई सहज बाटोमा लगेर टुंग्याउन खोजेको आरोप लगाएका छन् । पुस २६ मा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले स्थानीय र सडक कार्यालयका प्रतिनिधिलाई राखेर छलफल गराउँदा निष्कर्ष निस्केको थिएन । सडक अवरोधका विषयमा फिल्डमै गएर प्राविधिक र स्थानीयबीच अलाइनमेन्ट निर्धारण गरी सहमति गराउन प्रयास गरिने आयोजनाका इन्जिनियर पशुपति ज्ञवालीले बताए ।
‘मुख्य समस्या चेपुवा भीरको हो । महभीर र शंखेभीरका विषयमा फिल्डमै गएर काम अघि बढाउने तयारीमा छौं’, उनले अन्नपूर्णसँग भने ।
उत्तर–दक्षिण कोसी सडक आयोजनाअन्तर्गत पाँच वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०६५-६६ देखि काम सुरु गरिएको थियो ।
पुरानो अलाइनमेन्ट चेपुवा ७ च्याङ्रिङ, छुम्सुर, च्याम्ताङ हँुदै चेपुवा निकालेर हटिया जोड्ने सर्भे भएको थियो तर चेपुवा सिरान हुँदै हटिया १ दाङ्गोक जोड्ने गरी सडक परिवर्तन गर्न खोजेको स्थानीय पेन नुर्पु भोटेले बताए ।
जनताको पहुँचभन्दा बाहिर उच्च हिमाली भेगबाट सडक लैजान खोज्नु अव्यावहारिक भएको उल्लेख गर्दै भोटेले भने, ‘अलाइनमेन्ट परिवर्तन गर्नु थियो भने विकल्पका रूपमा अरुण नदीको किनार हुनसक्थ्यो तर त्यसो गरिएन ।’
यता किमाथांकादेखि तल १५ मिनेटको दूरीलाई किमाथांका ९ धुङ्गोक्पादेखि उकालो घुमाउरो बनाएर एक घन्टा समय लाग्ने गरी सहज बाटो घुमाएको किमाथांका गाविसका सचिव दावा लामाले बताए ।
सडक कर्मचारीको उपस्थितिबिना ठेकेदारकै खुसीमा सडकको ट्र्याक खनिएको आरोप उनले लगाए । स्थानीयले सडक निर्माण सर्भे डिजाइन र ठेक्का लगाइएको क्षेत्रबाट अघि बढाउन अनुरोध गरेको चेपुवाका छिन्डुम भोटेले बताए । राष्ट्रिय गौरवको यो राजमार्ग भारत र चीन जोड्ने नेपालकै छोटो राजमार्गका रूपमा चिनिन्छ ।
जोगबनी–किमाथांका कोसी सडककै ६ नम्बर प्याकेज हटियाको टेजुङखोलादेखि हान्दाक खोलासम्मको (१५ किलोमिटर) सडक तीन किलोमिटर विस्तार भइसकेको छ ।
दुई महिनाअघि दुईवटा स्काभेटर, दुईवटा ट्र्याक्टर र एउटा कंक्रिट मिक्सर हेलिकोप्टरबाट ढुवानी गरी काम अघि बढाइएको थियो । भारत र चीन जोड्ने छोटो राजमार्गलाई केपी ओली नेतृत्वको सरकारले दुई वर्षभित्र दुई लेनको बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
खाँदबारी–किमाथांका सडक १६२ किमिमध्ये एकुवासम्म ६९ किलोमिटर निर्माण भइसकेको छ । ७९ किलोमिटर ट्र्याक खन्न बाँकी छ । बाँकी ७ नम्बर प्याकेज २२ किलोमिटर हान्दाकदेखि छुम्सुरसम्म कञ्चनजंघा मोतीदान गजुरमुखीले निर्माण जिम्मा लिएको छ ।
राष्ट्रिय गौरवको सडक लक्ष्यअनुसार सम्पन्न गर्न निर्माणकार्यलाई तीव्रताका साथ अघि बढाउन एमाले जिल्ला अध्यक्ष हेमराज घिमिरेले माग गरेका छन्।