तक्मेबूढाले दर्शक हँसाए
दमक: झापाको दमकमा शनिबार हास्य कलाकार विल्सनविक्रम राई (तक्मेबूढा)ले दर्शक हँसाए भने गायक दीपक लिम्बूले सबैलाई नचाएका छन् । किराती राजा यलम्बरको सालिक अनावरण कार्यक्रममा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा तक्मेबूढाले उपस्थित दर्शकलाई त हँसाए हँसाए, प्रमुख अतिथि सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलाई पनि बेस्सरी हँसाए ।
तक्मेबूढाले ‘भर्खर १२ कक्षा पास गरेको केटोको मुस्कानजस्तै मुस्कान छ हाम्रो मन्त्रीज्यूको’ भनेपछि मन्त्री केसी मज्जाले हाँसे । दर्शकको तालीको गडगडाहट मच्चियो । अतिथिहरू पेट मिचिमिची हाँस्न थाले । कार्यक्रममा राईले अभिनयसहित विभिन्न उखानटुक्का झिक्दै दर्शकलाई भरपूर मनोरञ्जन दिए।
उनले ‘सेन्तेरेम’ बोलको गीत गाएका थिए भने ‘म त मर्छु कि क्या हो ठूली’ बोलको गीतमा नृत्य गरेका थिए । गायक दीपक लिम्बूले आफ्ना चर्चित गीत प्रस्तुत गरे । कार्यक्रममा स्थानीय कलाकारहरूले समेत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।