फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा पाइलट दोषी
काठमाडौंः नुवाकोटको बेलकोट–८ बेतिनी जंगलको चुच्चेभीरमा भएको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना पाइलटकै कमजोरीका कारण भएको पाइएको छ।
गत साउन २४ मा गोरखाको फिलिबाट बिरामी बोकेर आएको हेलिकोप्टर खराव मौसमका कारण नुवाकोटको चुच्चेभीरमा ठोक्किएर दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६ जनाको मृत्यु गएको थियो।
हेलिकोप्टर दुर्घटना लगत्तै नेपाल सरकारले हरिभक्त श्रेष्ठको नेतृत्वमा गठन गरेको चार सदस्यी छानविन समिति बनाएर घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न निर्देशन दिएको थियो। छानविनका लागि सरकारले तीन महिनाको समयावधि दिएपनि समितिले जनवरी १० मा मात्रै प्रतिवेदन सरकारलाई बुझाएको हो।
समितिका सदस्य–सचिव एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले हेलिकोप्टर दुर्घटनामा पाइलटनै बढी दोषी रहेको बताए। हेलिकोप्टरले उडान भरिरहँदा कुनै पनि मेकानिकल कमजोरी नरहेको उनले बताए।