भूकम्पपीडितलाई निःशुल्क 'उपचार'
काठमाडौं: स्वास्थ्य मन्त्रालयले टहरा र पालभित्र हिउँ, शीत र तुसारोले कठ्यांग्रिएका भूकम्पपीडितको निःशुल्क स्वास्थ्य जाँच र उपचार व्यवस्था मिलाउन सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार भूकम्पबाट प्रभावित जिल्लाका जनस्वास्थ्य कार्यालयलाई पत्राचार गरी भूकम्पप्रभावित क्षेत्रमा आफ्नो स्रोत, साधन परिचालन गरी निःशुल्क रूपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो ।
'भूकम्पप्रभावित जिल्लामा स्वास्थ्य संस्थामा आउलान् भनेर मात्रै नपर्खनुस् । त्रिपाल र जस्ताको छानामुनि बसेका पीडितको अवस्था बुझ्न ती ठाउँहरूमा पुग्नुस् भनेर परिपत्र गरेका छौं', स्वास्थ्यसचिव सेनेन्द्रराज उप्रेतीले अन्नपूर्णसँग भने, 'चिसो बढेको हुनाले भूकम्पपीडितको स्वास्थ्यलाई ध्यान दिन खोजिएको हो । स्थानीय स्रोतसाधन र जनशक्ति परिचालन गर्न खोजेका हौं ।'
भूकम्पप्रभावित क्षेत्रमा औषधि नरहे तत्काल खबर गर्न पनि स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ । 'जिल्लामा औषधि नभएको अवस्थामा हामी काठमाडौंबाट व्यवस्था गरी पठाउन सक्छौं', सचिव उप्रेतीले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले आइतबार स्वास्थ्यसचिव उप्रेतीसँग भेट गरी भूकम्पप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिदिन आग्रह गरेपछि मन्त्रालयले त्यस्तो कदम चालेको हो ।
इन्स्टिच्युट अफ मेडिसिन, नेसनल एकेडेमी अफ मेडिकल साइन्स, काठमाडौं विश्वविद्यालय, पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानलगायत संस्थासँग सहकार्य गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न पोखरेल र उप्रेती सहमत भएका थिए । प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालका अनुसार भूकम्पप्रभावित जिल्लाका ग्रामीण क्षेत्रमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो ।
०७२ वैशाख १२ मा गएको भूकम्पबाट ३१ जिल्लामा एक हजार एक सय स्वास्थ्य संस्था भत्किएका थिए । तीमध्ये एक वर्षको अवधिमा दुई सयवटाको भवन निर्माण भएका छन् भने एक सय ६९ वटा भवन निर्माणाधीन छन् । चालू आर्थिक वर्षभित्र दुई सय ६८ वटा स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण गरिसक्ने लक्ष्य प्राधिकरणको छ । भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था पुनर्निर्माण गर्न १७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
दातृ निकायले चार सय ४४ वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने जिम्मा लिएका छन् । वीर अस्पताल र प्रसूतिगृह पुनर्निर्माण गर्ने जिम्मा जापानले लिएको छ । यसैगरी जर्मनीले चारवटा, कोरियाली सहयोगी नियोग कोइकाले एउटा, अमेरिकी सहयोग नियोग यूएसएआईडीले एउटा र चीनले दुईवटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने जिम्मा लिएका छन् ।