रानीपोखरीको मन्दिर पुनर्निर्माण गर्न एक करोड

रानीपोखरीको मन्दिर पुनर्निर्माण गर्न एक करोड

काठमाडौं: काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनाउन थालेपछि रोकिएको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम पुरातत्त्व विभागले गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिर पुनर्निर्माणका लागि करिब दुई करोड रुपैयाँ लाग्ने प्रस्ताव पेस गरेको विभागलाई तत्कालका लागि एक करोड रुपैयाँ निकासा गरेपछि काम थालिने भएको हो ।

प्राधिकरणले एक करोड रुपैयाँ निकासा दिएकाले काम सुरु गर्ने विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । 'वर्षमा एकपटक तिहारको भाइटीकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले भत्किएका कारण दुई वर्षदेखि प्रयोगमा आएको छैन', उनले भने, 'अब काम सुरु हुनेछ, अबको तिहारमा पनि भाइटीका लगाउन मिल्दैन । तर त्यसपछिको तिहारमा भाइटीका लगाउन मिल्ने गरी मन्दिर तयार पार्ने योजना छ ।'

यसअघि काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको जिम्मेवारी पाएको थियो । तर निर्माण थालेपछि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले मापदण्डविपरीत पुनर्निर्माण भइरहेको भन्दै सरकारलाई पत्र पठाएर तुरुन्त रोक्न सचेत गराएपछि पुरातत्त्व विभागले गत भदौ अन्तिम सातादेखि काम रोकेको थियो । यसअघि विभागले महानगरपालिकासँग निर्माण भइसकेको संरचना सच्याउने र बाँकी भाग बनाउने सहमति गरेको थियो ।

भत्किनुअघि जेजस्तो अवस्थामा थियो, सोहीअनुरूप बनाउनुपर्ने विभागको भनाइ थियो । महानगरपालिकाले दिएको ठेकेदारले भने सिमेन्ट, गिट्टी, बालुवा र रडजस्ता वस्तु प्रयोग गरेपछि युनेस्कोले त्यसमा आपत्ति जनाएको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त बनेको हो ।

पुरातात्त्विक महत्त्वको मन्दिरमा युनेस्कोको समेत चासो भएकाले पुरानै शैली र सामग्रीबाट बनाउनुपर्ने भएकाले विभागले नै काम गर्ने गरी जिम्मेवारी लिइएको विभागका महानिर्देशक दाहालले जानकारी दिए । 'अब बन्ने मन्दिरमा न रड, न ढुंगागिट्टी, न सिमेन्ट नै रहन्छन्', उनले भने, 'पिलर नलगाई मोटोको गाह्रो (लोड बियरिङ सिस्टम) बाट बनाइनेछ । काम चाँडै सुरु हुनेछ, बढीमा दुई वर्षभित्र निर्माण सकिनेछ ।'

महानगरपालिकाले मापदण्डअनुसार नबनाएको भन्दै विभागले आपत्ति जनाएपछि पुनर्निर्माण अवरुद्ध भएको थियो । त्यसपछि प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभागका महानिर्देशक दाहाल र महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङसहितको बैठकले विभागले नै बनाउने निर्णय गरेको थियो ।

माइलो छोरो चक्रवर्तेन्द्रको मृत्युपछि शोकाकुल रानीलाई खुसी तुल्याउने उद्देश्यले तत्कालीन राजा प्रताप मल्लले १७२७ सालमा रानीपोखरी निर्माण गरेका हुन् । ६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ भने दक्षिण कुनामा हात्तीमाथि चढेका तत्कालीन राजा प्रताप मल्ल र उनका छोरासमेतको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् ।

१९९० सालको भूकम्पमा पनि मन्दिरको गजुर भत्किएको र त्यसलाई जुद्धशमशेरले अहिलेको स्वरूप दिएको संस्कृतिविद्हरूको भनाइ छ ।

२०७२ सालको भूकम्पपछि वर्ष दिन पुगेको भन्दै गत वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । करिब साढे तीन सय वर्षपछि बालगोपालेश्वर मन्दिर निर्माणसँगै रानीपोखरीलाई समेत नयाँ रूप दिन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

मन्दिर विभागले बनाए पनि रानीपोखरीलाई नयाँ रूप दिने काम महानगरपालिकाले ठेक्कामार्फत गरिरहेको छ । यसअन्तर्गत पोखरीवरिपरि बोटबिरुवा रोपिनेछ भने हरियालीसँगै संगीतमय फोहोरा, परिक्रमाका लागि पैदल बाटो, चारैतिर रेलिङ र विद्युतीय जडान गरी झिलिमिली बनाइनेछ । महानगरपालिकाले रानीपोखरीलाई नयाँ रूप प्रदान गर्न ठेकेदारलाई ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.