प्रेरक प्रसंग-हरेस नखाउ
वैज्ञानिक अल्बर्ट आइन्स्टाइन बीसौं शताब्दीका महानतम् मस्तिष्कका रूपमा लिइन्छन् । उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्तले भौतिकशास्त्रलाई नयाँ उचाइ दियो । त्यहींबाट ज्ञानका नयाँ नयाँ क्षेत्र खुले । भनिन्छ आइन्स्टाइन स्कुले जीवनमा निकै लद्दु विद्यार्थी थिए । हिसाब नजानेकाले बारम्बार उनी शिक्षकको सजाय भोगिरहन्थे । तर उनले भौतिकशास्त्रजस्तो कठिन विज्ञानमै चमत्कार गरे । आखिर कसरी ?
यही प्रश्न सोधेका थिए उनका एक विद्यार्थीले पनि । उनले सोधे, 'तपाईंको सफलताको रहस्य के हो ?'
आइन्स्टाइनले शान्त मुद्रामा मुस्कुराउँदै जबाफ दिए, 'हरेस नखानू । पटकपटक म असफल भइरहें तर कहिल्यै हरेस खाइनँ ।'
त्यस्तै गल्ती गर्न नडराउनु पनि उनको सफलताको कारणका रूपमा लिइन्छ । वैज्ञानिकका रूपमा परिचित हुनुअघि उनी एक कार्यालयका कारिन्दामात्र थिए । कार्यालयमा हाजिर भएको पहिलो दिन नै उनले सहयोगीलाई एउटा ठूलो डस्टबिन ल्याउन भने । डस्टबिनको आकार सुनेर आश्चर्यमा परेपछि सहयोगीलाई उनले भने, 'तिमीलाई थाहा छैन ? म निकै गल्ती गर्छु ।'