रंगमञ्चमा करिअर
काठमाडौँ: पछिल्लो एक दशक रंगमञ्चको लागि सुनौलो समय बनेको छ । राजधानीमा रंगमञ्चको संख्या थपिएसँगै राम्रा नाटकहरु पनि बनिरहेका छन् । टिकट किनेर नाटक हेर्ने दर्शक बढिरहेका छन् । नाटक जीवनशैलीकै एक अंग बनिरहेको छ । सँगसँगै रंगमञ्च कलाकारिताको प्यासन भएकाहरूलाई करिअर बनाउने नयाँ क्षेत्र भएको छ । शोख र दैनिक आवश्यकता दुवै पूरा गर्ने माध्यम बन्नसक्छ रंगमञ्च पनि ।
केहि महिना अघि मात्र मण्डला थिएटरमा मञ्चन भएको नाटक 'मिल्क टि'ले दर्शकको राम्रो प्रतिक्रिया पायो । एक दशकदेखि रंगमञ्चमा भिजिरहेकी सिर्जना अधिकारीको निर्देशनमा बनेको यो नाटकले युग परिवर्तनको गम्भिर विषयलाई उठान गरेको थियो । राम्रो प्रतिक्रिया सँगै यसले आर्थिक आम्दानी पनि गर्यो ।
पैसा कमाउने उद्देश्यले रंगमञ्चलाई कमैले रोजेका हुन्छन् । सिर्जनाले पन रंगमञ्चमा प्रवेश गर्दा आर्थिक आम्दानी होला भन्ने सोंचेकै थिइनन् । रंगमञ्चप्रतिको लगावले यो क्षेत्रमा आएकी थिइन् उनी । तर बिस्तारै यसले आर्थिक रुपमा पनि आत्मनिर्भर बनाउँदै लग्यो । अझै पनि राम्रो आर्जन गर्ने वातावरण बनिनसकेपनि जिविकोपार्जन गर्न पुग्ने कमाई हुने अनुभव छ सिर्जनाको ।
दश वर्षे रंगमञ्चको अनुभवले धेरै सिकेकी छन् उनले । कामलाई नै रमाइलो ठानेपछि सफलता उनको पोल्टोमा आइपुगेको छ । सिर्जनाको कार्यकौशल र लगनले उनको माग बढिरहेछ । अघिल्लो पुस्ताले आफ्नो पुस्ताको लागि रंगमञ्चको माहौल सिर्जना गरिदिए । यसलाई व्यवसायिक बनाउने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा रहेको सिर्जना बताउँछिन् ।
रंगमञ्चमा रुची भएका नयाँ पुस्ताका लागि यो क्षेत्र राम्रो करिअर विकास गर्ने ठाउँ बनिरहेको छ । राजधानीमा हाल संचालनमा रहेका रंगमञ्चले नियमित तीन महिने नाट्य प्रशिक्षण आयोजना गरिरहेका हुन्छन् । रंगमञ्चमा प्रवेश गर्नको लागि कुनै विशेष विषयको सर्टिफिकेट आवश्यक पर्दैन । चाहिन्छ त केवल उत्कठ ईच्छा, लगन र मेहनत । जुनसुकै विषय अध्ययन गरेकाले पनि रंगमञ्चमा करिअर बनाउनसक्छन् । तालिम लिएर नयाँ–नयाँ प्रयोग गर्दै यस क्षेत्रमा पोख्त बन्ने हो ।
रंगमञ्चमा करिब एक दशक बिताइसकेका केदार श्रेष्ठलाई नयाँ पुस्ताका लागि यो समय निकै राम्रो अवसरको रुपमा आएको लाग्छ । सुन्धारास्थित 'काठमाडौँ मल'मा थिएटर संचालन गर्न उनीहरुले थोरै दुःख गरेका छैनन् । हरेक क्षेत्रमा दुःख नगरी राम्रो काम गर्न नसकिने भएकाले उनलाई आफ्नो दुःख खासै ठूलो लाग्दैन ।
काठमाडौंका केहि रंगमञ्चमा नियमित रुपमा नाटक मञ्चन हुने गरेकाले पनि रंगकर्मीहरुको माग बढ्दो छ । नाटको यो प्रवाह काठमाडौं बाहिर पनि फैलने क्रममा छ । यसरी नै नियमितता भइरह्यो भने व्यवसायिकता विकास हुँदै जान्छ । यस क्षेत्रमा राम्रो करिअर बनाउन सक्ने संभावना भएपनि केवल अभिनय गर्ने लोभले हाम फालिहाल्नेहरुका लागि उचित नभएको श्रेष्ठको अनुभव छ । धेरैले रंगमञ्चलाई खुड्किलो बनाएर चलचित्रमा फड्को मारेका छन् ।
यो निकै राम्रो पक्ष हो । तर यसले रंगमञ्चको व्यवसायिकतालाई विकास नगर्ने श्रेष्ठको तर्क छ ।सरकारी तथा गैरसरकारी संस्थाले आफ्ना विभिन्न कार्यक्रममा नाटकलाई समावेश गर्ने गरेका छन् । यस्ता कार्यक्रमहरुबाट राम्रो पैसा कमाउन सकिएपनि टिकट बेचेरै आवश्यकता पुरा गर्न अझै गाह्रो भएको रंगकर्मी राम केएसीको अनुभव छ ।
व्यवसायिकता विकासका लागि रंगकर्मीहरुले संयुक्त रुपमा गृहकार्य गर्न खोजिरहेका छन् । यो कसरतले अवश्य पनि रंगमञ्चको भविष्य उज्जवल बनाउनेछ । रंगमञ्चको बजार व्यवस्थापनतिर कसैको ध्यान गइरहेको छैन । दर्शकको रंगमञ्च मोह र उठान भएका विषयहरुको हिसाबले राम्रो बन्दै गएको रंगमञ्च क्षेत्रको बजार व्यवस्थापनलाई मात्र ध्यान दिइयो भने यो क्षेत्र राम्रो उद्योगको रुपमा स्थापित हुन सक्छ ।
काम गर्ने सोख भएकाहरुको लागि सन्तुष्टि पाउने ठाउँ भएपनि रंगमञ्च आर्थिक हिसाबले कमाइ गर्ने माध्यम अझै बन्न सकेको छैन । यो पुस्ताको गृहकार्यले नतिजा देखायो भने नयाँ पुस्ताले नाम र दाम दुवै हिसाबले सन्तुष्टि पाउने ठाउँ बन्नेछ रंगमञ्च ।
रंगमञ्च केवल अभिनय गर्नेहरुका लागि मात्र स्कोप होइन । पर्दा पछाडीका प्राविधिक काममा पनि यसले रोजगारी दिन्छ । लाइट, सेट सजावट, कस्ट्युम आदि पनि रंगमञ्चको कर्मथलो हुन् ।