एक गाग्री पानी लिन तीन घन्टा
गाईघाट: ३८ वर्षदेखि एक गाग्री पानी लिन तीन घन्टा खर्चिंदै आएकी उदयपुरको भुट्टार गाविस १ की ६८ वर्षीय श्यामकुमारी राई शनिबार अन्य दिनको तुलनामा निकै खुसी देखिइन् । त्यही खुसीयालीमा खानेपानी उद्घाटन समारोहमा उनी छमछमी नाचिन् ।
वृद्धावस्थाले छोप्दै गर्दा आफ्नै घरआँगनमा खानेपानीको धारामा पानी आएपछि उनको जीवनमा खुसीयाली आएको हो । उनी मात्र होइन, सोही वडाका ८९ घरपरिवारले सोही दिन उक्त खुसीयाली साटासाट गरे । 'हरेक दिन घरको एक जनाको काम, खकुर खोलाबाट पानी बोक्ने मात्र हुन्थ्यो', स्थानीय बमबहादुर राईले भने, 'त्यही पनि गाईबस्तुलाई धित मर्ने गरी पानी दिन पाइँदैनथ्यो ।' तीन घन्टा खर्चेर ल्याएको पानी भान्सामा प्रयोगसँगै पशुचौपाया, शौचालयसम्म पुर्याउनुपर्ने उनीहरूको बाध्यता थियो ।
पानीकै अभावमा गाउँघर उजाड हुनुका साथै बसाइँ सराइ बढ्दै गएको राई बताउँछन् । पानी अभावकै कारण नुहाउन, कपडा धुन, शौचालय जान र सरसफाइमा त्यति ध्यान दिन नपाएको स्थानीय ललिता राईको भनाइ छ । 'पिउने पानी हुँदैनथ्यो, कहाँबाट कपडा धुनु, छोराछोरीलाई नुहाउनु र शौचालय जानु', उनले भनिन् ।
पानी अभावले शौचालय प्रयोग गर्नुको साटो झाडी, जंगलतिर जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । पानीकै कारण गाउँका जग्गाजमिन सुक्खा बनेकाले आगामी दिनमा खेर गएको पानीबाट करेसाबारीमा तरकारी र फलफूल खेती गर्ने सोच रहेको उनीहरूको भनाइ छ ।
आफ्नो वडामा पानीको मुहान नभएपछि सालथुम्का र आहालेवासीले सहयोगी/साझेदारी निकायको सहकार्यमा १३ किलोमिटर टाढा नामेटार गाविस ७ बाट खानेपानी ल्याएका हुन् । गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत साझेदारी संस्था पेसोक नेपालले गाउँलेको समस्या समाधान गरिदिएको हो ।
३८ लाख ७१ हजार रुपैयाँ लागतमा संस्थाले ८९ घरका लागि गोगनेखोला खानेपानी तथा सरसफाइ परियोजना सञ्चालन गरी २४ वटा धारा निर्माण गरिदिएको संस्थाकी अध्यक्ष सृजना दनुवारले बताइन । दुईदेखि चार घरले एउटा धारा प्रयोग गर्ने गरी संस्थाले दुई वर्षमा आयोजना सम्पन्न गरेको महासचिव सन्तोष बस्नेतले जानकारी दिए ।