गणित सिक्न अमेरिकी विधि
काठमाडौः गणित विषयलाई कसरी सहज रूपमा सिकाउने भन्ने विषयमा अमेरिका लगायतका मुलुकमा प्रचलनमा रहेको विधि नेपालमा पनि लागू गराउन अभियान सञ्चालन गरिएको छ ।
अमेरिकन इन्टरएक्टिभ म्याथ (एआईएम) विधिलाई नेपालमा लागू गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको एआईएम नेपालका निर्देशक विश्वमणि अधिकारीले बताए । अमेरिकी वैज्ञानिक बु्रनरको ‘ईजी स्टेप बाई स्टेप’ पद्धतिमा आधारित रहेर सिकाइने एआईएम म्याथ नेपालमा नर्सरीदेखि कक्षा ७ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि उपलब्ध रहेको उनले बताए ।
अमेरिकी शैली अपनाइसकेका भारत, बेलायत, सिंगापुर, मलेसिया लगायतका गणित विषयका पाठ्यक्रम विज्ञको सहयोगमा अभियान सञ्चालन गरिएको हो । यी मुलुकमा पनि अमेरिकी विधि सफल रूपमा प्रयोग भइसकेको छ । नेपाली पाठ्यक्रममा नै यस विधिलाई कसरी समावेश गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफलसमेत भइरहेको अधिकारीले बताए ।
मुलुकका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीमाझ यो पद्धति लागू गरिएको अधिकारीले बताए । उनले भने, ‘जसरी हामी एक, दुई, तीन भनेर गणना गर्दा हातको औंला उठाउँछौं, त्यसरी नै अमेरिकी इन्टरएक्टिभ म्याथ (एआईएम) पद्धतिले दिमागलाई प्रयोग गरेर अपनाइने पद्धति हो ।’ सामान्यतया नेपाली विद्यार्थी तथा शिक्षकले समेत गणितलाई कठिन विषयका रूपमा लिने गरेका छन् ।
परीक्षामा धेरै विद्यार्थीसमेत यसै विषयमा अनुत्तीर्ण हुने गरेका छन् । तर, यस पद्धतिबारे जानकारी गराएपछि शिक्षक तथा विद्यार्थीले समेत रमाइलो मान्ने गरेको अधिकारीको अनुभव छ । ‘अहिले शिक्षक विद्यार्थीले गणित त कठिन होइन रमाइलो विषय पो रहेछ भन्ने गरेका छन् । अभियानलाई देशव्यापी बनाउने योजना छ’, उनले भने ।
अभियानअन्तर्गत पश्चिम नेपालका १५ जिल्लामा तालिम तथा कार्यशाला सञ्चालन गरिएको छ । पूर्वी नेपालमा पनि अभियान सञ्चालन गर्ने तयारी भइरहेको अधिकारीले बताए ।