विदेशमा शिक्षाः कुन मुलुकमा कस्तो छात्रवृत्ति ?

विदेशमा शिक्षाः कुन मुलुकमा कस्तो छात्रवृत्ति ?

काठमाडौः पछिल्ला वर्षहरूमा उच्च शिक्षा अध्ययनका लागि विदेशी मुलुकका विश्वविद्यालय तथा कलेजहरूमा विद्यार्थी आकर्षण बढ्दो छ । नेपाली विद्यार्थीको आकर्षण बढेसँगै सम्बन्धित मुलुकका विश्वविद्यालय तथा कलेजहरूले पनि लोभलाग्दो छात्रवृत्ति प्याकेजहरू प्रस्तुत गरिरहेका छन् ।

विद्यार्थीको योग्यताअनुसार १० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति नेपालीहरूले पाइरहेको नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को भनाइ छ । विद्यार्थीले कलेज आफैंले सबै विद्यार्थीलाई प्रदान गर्ने गरी व्यवस्था गरेको कमर्सियल स्कलरसिप, विशेष अवस्थाका विद्यार्थीलाई प्रदान गरिने निड बेस्ड स्कलरसिप, पढाइमा अब्बल विद्यार्थीलाई प्रदान गरिने मेरिट बेस्ड स्कलरसिप तथा विद्यार्थीको जात, पिछडिएको क्षेत्रलगायतलाई आधार मानेरसमेत यस्ता सुविधा पाउने गरेका छन् ।

अस्ट्रेलियामा शतप्रतिशतसम्म छात्रवृत्ति

नेपाली विद्यार्थीको उच्चशिक्षा अध्ययनका लागि अस्ट्रेलियालाई आकर्षक गन्तव्य मानिन्छ । १२ कक्षा उत्तीर्ण भएका स्नातक तहदेखि पीएचडीसम्मको अध्ययनका लागि नेपाली विद्यार्थी अस्ट्रेलिया जाने गरेका छन् । अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि आईईएलटीएस वा अंग्रेजी भाषाको दक्षतासम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ ।

ईक्यान अध्यक्ष प्रकाशराज पाण्डेका अनुसार नेपाली शैक्षिक संस्थाबाट ७५ प्रतिशत वा त्यसभन्दा धेरै प्रतिशत ल्याएर उत्तीर्ण भएका विद्यार्थीले माथिल्लो कक्षाको अध्ययनमा २० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति पाउने गरेका छन् ।

विद्यार्थीको शैक्षिक योग्यता र यस्ता परीक्षामा ल्याएको स्कोरको आधारमा कलेज तथा विश्वविद्यलयहरुले पचासदेखि शत प्रतिशतसम्म शुल्कमा छुट दिएका छन् । 

ब्याचलर तहमा अध्ययनका लागि जाने विद्यार्थीका लागि आईईएलटीएसमा ६ तथा स्नातकोत्तर वा माथिल्ला तहको अध्ययनमा जाने विद्यार्थीका लागि आईईएलटीएसमा ६ दशमलव स्कोर ल्याएका विद्यार्थीले निवेदन दिँदा प्रवेशाज्ञा (भिसा) पाउने सम्भावना अधिक हुन्छ । त्यसभन्दा तल स्कोर ल्याउने विद्यार्थीले पनि निवेदन दिन सक्छन् तर भिसा पाउने सम्भावना न्यून हुन्छ ।

अमेरिकामा क्षमतावानलाई खान, बस्न र पढ्न निःशुल्क

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने तयारीमा रहेका अधिकांश विद्यार्थीको पहिलो चाहना अमेरिका रहेको हुन्छ । तर, अमेरिका जान सहज रूपमा भिसा पाइँदैन भन्ने जानकारी पाएपछि मात्र उनीहरूले अन्य मुलुकतर्फ जाने योजना बनाएका हुन्छन् । अमेरिकामा पनि स्नातक, स्नातकोत्तर र पीएचडीसम्मको अध्ययनका लागि नेपाली विद्यार्थी धेरै गएका हुन्छन् । दस जोड दुईको अध्ययन सकेका विद्यार्थीका लागि स्याट, एसीटी लगायतका अंग्रेजी भाषा दक्षतासम्बन्धी परीक्षाको व्यवस्था गरिएको छ ।

विद्यार्थीको शैक्षिक योग्यता र यस्ता परीक्षामा ल्याएको स्कोरको आधारमा कलेज तथा विश्वविद्यालयहरूले पचासदेखि शत प्रतिशतसम्म शुल्कमा छुट दिएका हुन्छन् । यस्तो छुट विश्वविद्यालय र कलेजअनुसार फरकफरक छन् । क्षमतावान् विद्यार्थीका लागि कुनैकुनै विश्वविद्यालय तथा कलेजहरूले खाना र बस्नका लागि समेत निःशुल्क बन्दोबस्त गरिदिएका हुन्छन् ।

फिनल्यान्ड, नर्वे र जर्मनीमा निःशुल्क पढाइ

निःशुल्क शिक्षाका लागि विश्वभर कहलिएको मुलुक हो- जर्मनी, फिनल्यान्ड र नर्वे । स्वदेशी तथा विदेशी विद्यार्थीलाई समेत यी मुलुकहरूले निःशुल्क शिक्षा प्रदान गरिरहेका छन् । यसै कारणले पनि नेपाली विद्यार्थीको आकर्षण त्यस्ता मुलुकतर्फ बढिरहेको छ ।

यी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीले सुरुमा स्वदेशमै अंग्रेजी भाषाको दक्षता वा आईईएलटीएसको परीक्षामा बसेको हुनुपर्छ । आफूले अध्ययन गर्न जान लागेको विश्वविद्यालय र कलेज अनुसार यस्तो परीक्षामा ल्याउनुपर्ने स्कोर पनि फरकफरक हुन्छ । इक्यान अध्यक्ष पाण्डे भन्छन्, ‘अंग्रेजी भाषामा दक्ष नभएका विद्यार्थी सम्बन्धित मुलुकको स्थानीय भाषामा दक्ष भए पनि हुन्छ ।’

यी मुलुकहरूमा पढ्न जाने विद्यार्थीले दस जोड दुईमा न्यूनतम पहिलो श्रेणीमा उत्तीर्ण गरेको भएमा उपयुक्त मानिन्छ । यस्ता मुलुकमा प्रवेश पाउने विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउँछन् तर खाना र बस्ने व्यवस्था भने उनीहरू आफैंले गर्नुपर्ने हुन्छ ।

भारतमा थरीथरीका छात्रवृत्ति

नेपाली विद्यार्थीका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको अध्ययनका लागि सहज पहुँच भएको मुलुक हो भारत । खुला सिमाना भएका कारण नेपालका छिमेकी जिल्लाबाट दैनिक रूपमा आवतजावत गरेर पढ्ने सामान्य परिवारका देखि भारतमै बसेर विद्यालय र विश्वविद्यालमा पढ्ने विद्यार्थी प्रशस्त छन् ।

नेपाली विद्यार्थीलाई आकर्षित गराउन त्यहाँका शैक्षिक संस्थाहरूले विभिन्न किसिमका अफर ल्याउने गरेका छन् । सक्षम विद्यार्थीलाई आवश्यकताअनुसार छात्रवृत्तिसमेत प्रदान गरिरहेका छन् । भारत पढ्न जाने विद्यार्थीलाई नेपालस्थित दूतावास आफैंले छनोट गरेर दस जोड दुई अध्ययनदेखि पीएचडीसम्म अध्ययनका लागि विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गरिरहेको छ ।

नेपालकै शैक्षिक संस्थामा पढिरहेका विद्यार्थीलाई छात्रवृत्तिस्वरूप रकम प्रदान गरिरहेको छ । त्यसबाहेक भारतमा रहेका निजी कलेज तथा विश्वविद्यालयहरूले नर्सिङ, इन्जिनियरिङ, एमबीबीएसलगायत स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमबाहेक अन्य विषयका अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गरिरहेका छन् । भारतले अधिकांश विद्यार्थीलाई मेरिट बेस छात्रवृत्ति प्रदान गर्ने गर्छ । साथै नेपालका पिछडिएका जाति, दुर्गम क्षेत्रका बासिन्दा आदिलाई आधार मानेर पनि छात्रवृत्ति प्रदान गरिरहेको छ ।

जापानमा भाषा सिक्नेदेखि उच्च शिक्षाको अध्ययनसम्म

पछिल्ला दिनहरूमा नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहज पहुँच भएको मुलुकका रूपमा जापानलाई पनि लिइन्छ । ब्रिलियन्ट एजुकेसन एन्ड करिअर सर्भिसका प्रबन्ध निर्देशक तथा इक्यानका पूर्वअध्यक्ष राजेन्द्र बरालका अनुसार जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थीमध्ये अधिकांशले भाषाको अध्ययनपछि मात्र कलेज तथा विश्वविद्यालय भर्ना हुन पाउँछन् ।

विद्यार्थी अध्ययन गर्न जाने तहअनुसार उनीहरूले भाषा सिक्नुपर्ने समयावधि र भाषाको दक्षता फरकफरक हुने बरालले बताए । अन्य मुलुकको तुलनामा जापानमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि कम छात्रवृत्ति प्राप्त हुने बरालको भनाइ छ । तर, सहज प्रवेश र अन्य मुलुकको तुलनामा थोरै खर्चमा जान पाइने हुनाले नेपाली विद्यार्थीको आकर्षण बढेको परामर्श व्यवसायीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.