झापाकै आदर्श 

झापाकै आदर्श 

बिर्तामोडः मेचीनगर नगरपालिका इँटाभट्टा नजिक रहेको आदर्श माध्यमिक विद्यालयमा सीसीटीभी क्यामेरा उद्घाटन गर्ने दिनमा विद्यार्थी तथा शिक्षकमा एक किसिमको उत्साह थियो ।

बिहान १० बजे उद्घाटन कार्यक्रम तय भए पनि विद्यार्थीहरू बिहान साढे ८ बजेदेखि नै सक्रिय थिए । निर्धारित समयमा प्रमुख अतिथि बनेर आए, झापाका जिल्ला शिक्षा अधिकारी । उनको जिम्मेवारी थियो सोही सीसीटीभी क्यामेरा उद्घाटन गर्ने ।

कार्यक्रममा कुनै तामझाम थिएन तर तामझाम नभए पनि उक्त उद्घाटन कार्यक्रम अहिलेसम्म झापामा कुनै पनि सम्पन्न निजी विद्यालयले समेत गर्न नसकेको प्रविधिलाई विद्यालयमा जोडिएको उद्घाटन कार्यक्रम थियो ।

शिक्षा अधिकारीको अनुहारमा समेत एक प्रकारको खुसी थियो । जताततै भत्केको, बिग्रेको गुनासा सुन्ने गरेका उनले सो दिन एउटा सामुदायिक विद्यालयको निकै राम्रो प्रगतिको सुरुआत गर्दै थिए ।

उक्त सामुदायिक विद्यालयभित्र पस्दा लाग्छ- कुनै एउटा सुविधासम्पन्न निजी विद्यालयभित्र प्रवेश गरिँदैछ । विद्यार्थीहरूको पोसाक कुनै निजी विद्यालयको भन्दा कम छैन । उद्घाटन कार्यक्रमका दिन विद्यार्थीहरू एकआपसमा गफ गर्दै थिए, ‘फ्रम टुडे वी ह्याभ सीसीटीभी क्यामेरा इन आवर क्लासेस ।’

पछिल्लो समयमा हरेक कक्षकोठामा सीसीटीभी क्यामेरा तथा साउन्ड सिष्टम जडान गरेको यस विद्यालयमा र्बेनी विद्यार्थीको संख्या वृद्वि हुँदै गएको छ । 

तर उक्त सीसीटीभी क्यामेरा जडान गर्न त्यति सहज थिएन । सबभन्दा पहिला शिक्षकशिक्षिकालाई मनाउन जरुरी थियो । तिनै शिक्षकशिक्षिका हुन् विगतमा पनि पढाउने । अभिभावकहरूले दैनिक रूपमा विगतमा विद्यालय प्रशासनलाई भन्ने गर्थे, ‘अनुशासन कायम गराउनु पर्‍यो ।

विद्यालयको पढाइ दैनिक खस्किन थाल्यो ।’ अहिले पनि अधिकांश विषयमा अध्यापन गर्ने तिनै शिक्षक छन् । प्रधानाध्यापक हेम खड्का भन्छन्, ‘सबभन्दा पहिला त शिक्षक मानिदिनु पर्दो रहेछ । जुन मैले पनि सोचेको थिइनँ ।’ उनले सीसीटीभी क्यामेरा जडान गर्न मान्नु शिक्षकहरूले इमानदारीपूर्वक पढाउँछु भनेर एक किसिमले कबोल गरेको अनुभूति सुनाए ।

सीसीटीभी क्यामेरा उद्घाटनमा विद्यालयको कार्यालय कोठाबाट शिक्षकहरूले बोल्दा सबै कक्षाका विद्यार्थीले सुनिरहेका थिए । प्रत्येक कक्षामा कार्यालयबाट शिक्षकले दिएको निर्देशन सुनिने व्यवस्था विद्यालयले मिलाएको छ । साउन्ड सिस्टमको व्यवस्था गरेको छ ।

सहायक प्रधानाध्यापक हेमेन्द्र निरौलाका अनुसार कुनै शिक्षक अनुपस्थित भएको दिन कार्यालयबाटै त्यो कक्षाका विद्यार्थीलाई कुनै शैक्षिक काम दिइनेछ । यसबाट अन्य कक्षाहरूको पढाइ प्रभावित नहुने उनले बताए ।

ठूल्ठूला भवनले मात्र सुविधा दिन सकिन्छ भन्ने सोचलाई उक्त विद्यालयले गलत साबित गरिदिएको छ । पहिला भएकै भवनलाई आधुनिक बनाएर आधुनिक कक्षाहरूको व्यवस्था गरेको छ । प्रत्येक कक्षाकोठा विशेष किसिमले बनाइएका छन् । प्रत्येक्ष कक्षाकोठाभित्रै खानेपानीको धारा जडान गरिएको छ ।

साना कक्षाका कोठाहरूमा समूह सिकाइ सहज हुने किसिमले विद्यार्थी बस्ने व्यवस्था मिलाइएको छ । पढाइ पनि आधा विषय अंग्रेजी माध्यममा आधा नेपाली माध्यममा हुने गर्छ । प्रधानाध्यापक हेम खड्का भन्छन्, ‘हाम्रा विद्यार्थी जस्तोसुकै अवस्थामा प्रतिस्पर्धा गर्न सकून भन्ने हाम्रो उद्देश्य हो ।’

अभिभावकहरूको विश्वास गुमाउँदै गएका सामुदायिक विद्यालयहरूमाझ आदर्श माध्यमिक विद्यालय नमुना विद्यालयका रूपमा विकसित हुँदै गएको छ । पछिल्लो समयमा हरेक कक्षाकोठामा सीसीटीभी क्यामेरा तथा साउन्ड सिस्टम जडान गरेको उक्त विद्यालयमा बर्सेनि विद्यार्थीको संख्यासमेत वृद्धि हुँदै गएको छ ।

सामुदायिक विद्यालयमा अनुशासन कायम नहुने, पढाइ राम्रो नहुनेजस्ता आरोप अभिभावक तथा विद्यार्थीले लगाइरहँदा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीले सीसीटीभी क्यामेराले विद्यार्थीका क्रियाकलापको निगरानी कार्यालयबाटै गर्न सकिने दाबी विद्यालयको छ ।

झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले आदर्श माविको उक्त काम सराहनीय भएको बताए । उनले भने, ‘विद्यालयले पाउने आर्थिक स्रोत उत्तिकै हो तर यो विद्यालयले उक्त स्रोतको उचित व्यवस्थापन गरेको छ ।’ प्रधानाध्यापक खड्काले विद्यार्थीमाझ हुने लैंगिक हिंसाका घटनासमेत निरुत्साहित हुने बताए ।

नयाँ जमानाअनुसार प्रविधिमैत्री बन्न उक्त विद्यालयले सीसीटीभी क्यामेरा र साउन्ड सिस्टम जडान गरेको प्रधानाध्यापक हेम खड्काले जानकारी दिए । देशभरका धेरै सामुदायिक विद्यालयले विद्यार्थी नपाउँदा एकआपसमा गाभिनुपर्ने अवस्थामा उक्त विद्यालयले गरेको प्रगति उदाहरणीय भएको अभिभावकहरू बताउँछन् ।

यस वर्ष मात्र नयाँ अढाई सय विद्यार्थी भर्ना भएका प्रधानाध्यापक खड्काले जानकारी दिए । अहिले एक हजार एक सय ५० छात्रछात्रा त्यहाँ अध्ययनरत छन् ।

सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी उषा लिम्बूले आफ्नो विद्यालयको प्रगतिमा आफूलाई गर्व लागेको बताइन् । उनले भनिन्, ‘हाम्रो स्कुलको प्रगतिमा धेरै निजी विद्यालयका विद्यार्थीले आँखा लगाएका छन् । मलाई त गर्व लाग्छ यो विद्यालयमा पढ्न पाएकोमा ।’

चार वर्षअगाडि उक्त विद्यालयको एसएलसी परीक्षाको परिणाम १७ प्रतिशत थियो । जब विद्यालयले फड्को मार्न थाल्यो, अर्को त्यो प्रतिशत ३४ मा पुग्यो । त्यसपछि ४५ प्रतिशत र यसपालि कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुन नपरेको विद्यालयका शिक्षकहरू बताउँछन् ।

जिल्ला शिक्षा कार्यालयले गत वर्ष बालकक्षामा सर्वोत्कृष्ट ठहर गर्दै उक्त विद्यालयलाई पुरस्कृतसमेत गरेको थियो भने गत वर्ष नै उक्त विद्यालयका प्रधानाध्यापक खड्काले शिक्षा पदकसमेत प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.