भारतीय राजदूतलाई प्रश्न–तपाईंका बेटी कारमा, हाम्रा बेटी रिक्सामा ?

भारतीय राजदूतलाई  प्रश्न–तपाईंका बेटी कारमा, हाम्रा बेटी रिक्सामा ?

नेपालगन्ज: 'महामहिम राजदूत ज्यू, हामीले भारतसँगको सम्बन्ध सधैँ रोटी र बेटीको भन्दै आएका छौँ । तर, यता (नेपालतिर) बिहे भएर आएका बेटीहरु लिन उताका आफन्ती लश्करका लश्कर गाडी लिए आउँछन्' मुहम्मद अली इद्रिसीले नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग सिधा प्रश्न गर्दै थिए 'हाम्रा चेलीबेटी पनि उता छन्, हामी हाम्रा चेलीबेटी लिन जाँदा रुपडिहामा गाडी राखेर टाँगा, रिक्सामा लिएर आउनुपर्छ, हामी पनि हाम्रा बेटीहरु हाम्रै गाडीमा राखेर ल्याउन पाऊँ ।'

उनको यो प्रश्नसँग हल पूरै तालिले गुन्जियो । मञ्चमा नेपाली भादगाउँले टोपी लाएर बसेका राजदूत राय मुसुमुसु हाँसिरहेका थिए । सोमबार नेपालगन्ज आएका नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग नेपालगन्जवासीले नेपाली गाडीहरु पनि सजिलै भारत प्रवेशको व्यवस्था मिलाउनुपर्ने माग गरे । उनीहरुले नेपाली सडकमा छ्याप्छयाप्ती भारतीय गाडीहरु देखिने र भारतका कुनै पनि ठाउँमा नेपाली गाडी लैजान नपाइने नियमले नेपालीहरुको आत्मसम्मानमा चोट लागेको सुनाए ।

हिन्दी भाषामै आफ्नो गुनासो राख्दै नेपालगन्जका इद्रिसीले भने 'यताका बेटी पनि उतैका आफन्तको गाडी चढेर जाऊन्, यो खुसीको कुरा हो तर, उतातिरका हाम्रा छोरीबेटीहरुलाई पनि हाम्रै साधनमा राखेर ल्याउन पाइयो भने अझैँ खुसीको कुरा हुनेछ, अनि भो रोटी-बेटीको नाता भयो त, महोदय ।' नेपालगन्जसँगै जोडिएको भारतीय रुपडिहा बजारसम्ममात्रै बिनाअनुमति नेपाली गाडी लैजान पाइन्छ । तर, त्यो भन्दा पर लैजानका लागि सिधै राजदूतावासबाट अनुमतिपत्र लिनुपर्छ । त्यसको प्रक्रिया धेरै लामो र झन्झटिलो हुन्छ । त्यसैले पनि नेपाली सवारी भारत प्रवेश गरेको देखिँदैन ।

तर, नेपालका जुनसुकै कुनाकाप्चामा पनि भारतीय नम्बर प्लेटका गाडी, मोटरसाइकलहरु छ्याप्छ्याप्ती देख्न पाइन्छ । अझ सीमा क्षेत्रका नेपाली जिल्ला तथा सहरबजारमा त झन् धेरै भारतीय सवारीसाधन देखिन्छन् । कतिपय सीमा क्षेत्रका नेपालीहरुले समेत दैनिक भन्सार तिरेर भारतीय नम्बर प्लेटका गाडीहरु चलाउँदै आएका छन् । भारतीय नम्बर प्लेटका सवारी नेपाली सडकमा गुडाउनका लागि दैनिक ४-५ सय रुपैयाँ भन्सार तिरे पुग्छ । त्यो पनि भन्सारमै सजिलै पास पाइन्छ । तर, नेपाली गाडी भारतका सडकमा गुडान कम्ती सजिलो छैन । दूतावासको अनुमतिपत्र, भन्सारको पासलगायतका धेरै झन्झट बेहोर्नुपर्छ ।

सबैको गुनासो सुनिसकेपछि यहाँका उद्योगी, व्यवसायी तथा नगरवासीलाई सम्बोधन गर्दै भारतीय राजदूत रायले सडक-सवारी नियमनका लागि नयाँ प्रस्ताव सुनाए । उनका अनुसार दुवै देशले सडक सवारी चलाउनका लागि भन्सार निशुल्क गरेर धेरै राम्रो हुन्छ । त्यसले दुवै देशमा आवागमन बढ्नुका साथै अझैं आत्मीयता पनि बढाउन मदत गर्छ ।

नेपाल सरकारसँग यसबारेमा कुरा भइरहेको पनि उनले जानकारी दिए । 'म पनि तपाइँहरुको समस्या अनि चित्त दुखेकोमा दुखी भएको छु, उताबाट सजिलै गाडी आउने र यताका गाडी तपाइँहरुले लैजान नपाउने यो त मन दुख्ने कुरा नै भयो' रायले भने 'त्यसैले मैले सोचेको छु कि दुवै देशमा सडक-सवारी फ्रि गरौँ त्यसपछि समस्याको समाधान हुन्छ, यसले दुवै देशको आत्मीयता पनि अझैं बढ्छ र, पर्यटकीय सम्भावना पनि बढ्छ ।'

त्यसका लागि नेपाल सरकारका परराष्ट्रमन्त्रीसँग कुराकानी भइरहेको र, केही दिनमै निकास निस्किने पनि उनले बताए । 'तपाइँहरुको समस्याप्रति म धेरै चिन्तित छु, यसबारेमा मैले मेरो सरकारसँग पनि कुराकानी गरिरहेको छु र, नेपाल सरकारसँग पनि कुरा गरिरहेको छु' रायले भने 'तपाइँहरु ढुक्क हुनुस् तपाइँका चेलीबेटी तपाइँकै गाडी चढेर इन्डियाबाट तपाइँको घरमा आउनसक्नेछन् ।' राजदूत रायका अनुसार केही साता वा केही महिनाका लागि दुवै देशमा सवारी साधान निर्वाध, बिना भन्सार चल्न दिनेगरी दुबै देशका सरकारबीच कुराकानी भइरहेको छ ।

नजिकैको भारतीय बजारबाट दैनिक रुपमा हज्जारौं मोटरसाइकल तथा जीपहरु ओहोरदोहार गर्ने भएका कारण भन्सारमा पनि ती भारतीय गाडीहरु दर्ता हुँदैनन् । कतिपय नेपालगन्जसम्म मात्रै चल्ने भएका कारण पनि 'इन्ट्री' गरेर साध्यै नहुने जमुनाका इलाका प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक प्रमोद क्षेत्री बताउँछन् । उनका अनुसार नेपालगन्जबाट पनि रुपडिहासम्म नेपाली साना सवारीलाई मान्यता दिइएको हुँदा उताबाट पनि नेपालगन्जसम्मका लागि आउने साना सवारीलाई रोकटोक छैन । तर, तीनै सवारी साधन नेपालका अन्य जिल्लाहरुमा पनि निर्धक्क हुँइकिइरहेका हुन्छन् ।

उनका अनुसार भन्सार तिरेरै नेपालगन्ज भन्सारबाट दैनिक ३ सयदेखि ४ सय सम्म साना ठूला भारतीय नम्बर प्लेटका गाडीहरु नेपाली सडकमा भित्रिन्छन् । तर, यताबाट भारततिर जाने नेपाली सवारी भने हुँदैनन् । 'नेपाली गाडी उतातिर लैजानका लागि धेरै प्रक्रियाहरु पार गर्नुपर्छ तर, उताका गाडि यता आउँदा दैनिक भन्सार तिरे पुग्छ' उनले भने 'त्यसैले नेपाली नम्बर प्लेटका गाडीहरु भारतीय सडकमा देखिन्नन् ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.