हिउँचितुवा संरक्षणका लागि विकल्प खोजिँदै
काठमाडौं: दुर्लभ सूचीमा रहेको हिउँचितुवा संरक्षणमा विकल्प खोजिने भएको छ । चितुवाको व्यवस्थापनमा स्रोत परिचालन र रणनीति पहिचान गर्ने, चितुवाको अनुसन्धानमा रणनीति विकास गरेर चोरी सिकारीविरुद्ध विश्वको साझा अवधारणा ल्याई संरक्षणको विकल्प खोज्न लागिएको हो ।
संरक्षणको रणनीति बनाउन हिउँचितुवा पाइने १२ देशका संरक्षणविद्को भेला मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । संसारमै दुर्लभ तथा संकटापन्न यो वन्यजन्तु संरक्षणसम्बन्धी कार्यदिशासमेत ल्याइने आयोजक वन तथा भूसंरक्षण मन्त्रालयका सूचना अधिकारी यज्ञनाथ दाहालले बताए ।
विश्वमा संरक्षणमा भइरहेका प्रभावकारी कार्यबारे समीक्षा गरी संरक्षणका थप विकल्प खोजिने भएको छ ।
भेलामा हिउँचितुवा पाइने नेपाललगायत अफगानिस्तान, भुटान, भारत, चीन, काजकिस्तान, कीर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजिकस्तान, उज्वेकिस्तानसहित १२ देशका उच्च अधिकारीको सहभागिता रहेको छ ।
'हिउँचितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जीएसएलईपी) तथा सर्वेक्षण कार्यशाला' नाम दिएर दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठकसमेत राखिएको छ ।
संकटापन्न मानिने चितुवा विश्वमा करिब पाँच सयको संख्यामा पाइन्छ । तीमध्ये १० प्रतिशत नेपालमै पाइन्छ । बुधबार सकिने भेलाले पछिल्लो समय वातावरण परिवर्तनको प्रभाव, चोरीसिकारी र आहारको अभावले हिउँचितुवामा परेको प्रभावबारे छलफल गर्नेछ ।
भेलाका सहभागीले हालसम्म भएका संरक्षणको सफल प्रयास, थप रणनीति र कार्यनीतिबारे छलफल गर्नेछन् । वातावरणीय प्रभावका कारण हिमालमा हिउँ कम हुँदै जानु, हिमताल मासिँदै जानु र मानव चाप बढ्नुले हिउँचितुवाको जीवनशैली र बासस्थानमा प्रत्यक्ष असर परेको विषयमा भेलाका सहभागीले साझा धारणा बनाउने सहभागी डब्लूडब्लूएफ नेपालका प्रतिनिधि घनश्याम गुरुङले बताए ।
हिउँचितुवा पाइने १२ वटा देशले २३ वटा भूदृश्य (ल्यान्डस्केप) पहिचान गरेका छन् । नेपालमा भएका कार्यक्रमको समीक्षा र स्थलगत रूपमै अध्ययन गरी थप नयाँ तथा प्रभावकारी कार्यक्रम तय गर्ने र सन् २०१७ मा किर्गिस्तानमा हुने हिउँचितुवासम्बन्धी शिखर सम्मेलनका लागि एजेन्डा तय गर्नेछ ।
मन्त्रालयको तथ्यांकअनुसार नेपालको ३० हजार वर्गकिमि क्षेत्रफलमा तीन सयदेखि पाँच सयसम्म हिउँचितुवा पाइन्छ । कम्तीमा २७ देखि ५५ किलोग्रामसम्मको तौल हुने हिउँचितुवा ७५ देखि १५० सेमि लामो हुन्छ । यो दुर्लभ वन्यजन्तु हालसम्म सबैभन्दा बढी चीनमा दुई हजारदेखि दुई हजार पाँच सय र सबैभन्दा कम उज्वेकिस्तानमा २० देखि ५० को संख्यामा रहेको तथ्यांकमा उल्लेख छ ।