अवैध २८ बोरा मोवाइल बरामद
मलंगवा : सर्लाही प्रहरीले ठुलो परिमाणमा लुकाएर राखेको अवैध मोवाइल फोन सोमबार बरामद गरेको छ । सीमावर्ती गाविस त्रिभुबननगर-३ स्थित शैलीदेवीको घरबाट ४५ लाख १४ हजार मूल्य बराबरको मोवाइल फोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विशेष सुराकीको आधारमा भन्सार छलेर भारत तर्फ लैजानका लागि तयारी अवस्थामा राखिएको विभिन्न चाइनिज कम्पनी मोवाइल फोन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए ।
२८ वटा बोरामा प्याक गरेर राखेको अवस्थामा मोवाइल फोन बरामद गरिएको हो । बरामद गरिएका मोवाइल फोन थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय बुझाएको रिजालले बताए ।
हुस्सु लागेको बेला तस्करहरु खोलाको बाटो टाउककोमा मोबाइल राखेर भारतीय बजारमा लान्थे । तर मंगलवार गाडीमै राखेर मोवाइल लाने दाउमा रहेका तस्करहरुबारे जानकारी प्राप्त भएपछि प्रहरीले मोवाइल बरामद गरेको हो ।
यति धेरै परिमाणको अवैद्य मोवाइल कहाँबाट ल्याएको हो भन्ने बारेमा केही खुल्न सकेको छैन् । मोवाइल राख्ने व्यक्तिको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।
सुराकीका अधारमा प्रहरी सोमवार साँझ सबा ७ बजे छापा गर्न पुग्दा घरमा ६५ वर्षीया शैली देवी बाहेक कोही पनि फेला नपरेका प्रहरीको भनाई छ ।