इन्टरपोल सम्मेलनः आतंकवाद, साइबर अपराध र मानव तस्करी मुख्य एजेण्डा
काठमाडौं : अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को २३ औं एशिया क्षेत्रीय सम्मेलन बुधबारबाट काठमाडौंमा सुरु भएको छ । तीनदिनसम्म चल्ने सम्मेलनमा ५० भन्दाबढी राष्ट्रका प्रहरी अधिकृत र ईन्टरपोलको अध्यक्ष सहभागी छन् ।
सम्मेलनले खासगरी अन्तराष्ट्रिय आतंकवाद, साइबर अपराध, मानव तस्करी र वन्यजन्तुविरुद्धको अपराधलाई मुख्य एजेन्डा बनाउने भएको जानकारी प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले जानकारी दिए । नेपालले भने यी विषयसँगै म्याच फिक्सिङ, आर्थिक अपराध र अन्तरदेशीय अपराधलाई समेत आफ्नो मूल विषयमा समेटेको छ ।
ईन्टरपोलका अध्यक्ष म्याङ होङउइले यो सम्मेलनको उद्देश्य एशिया क्षेत्रको शान्ति, सुरक्षा र स्थायीत्वलाई मात्रै नभएर विश्व शान्तिको लागि रहेको बताए । ‘विश्वको कुल जनसंख्या मध्ये ६० प्रतिशत एशिया क्षेत्रले ओगटेको छ, अपराध नियन्त्रणका लागि यो सम्मेलनले ठूलो भूमिका खेल्छ’, उनले भने, ‘विश्वाव्यापी सुरक्षा शासनमार्फत प्रभावकारी ढंगले समन्वयमा सामुहिक कामकारबाही गर्नुपर्ने आजको आवश्यकता हो ।’
साइबर अपराध विश्वव्यापी चुनौती : प्रधानमन्त्री
सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर अपराध विश्वव्यापी चुनौती रहेको बताएका छन् । उनले बढ्दो सूचना प्रविधिका कारण अपराधीहरुले एक क्लिकका भरमा एक देशबाट अर्को देशमा अपराधको जालो फैलाएको बताए ।
प्रधानमन्त्री दाहालले शान्ति, सुरक्षा र विकास एक अर्काबीच महत्वपूर्ण सम्बन्ध रहेको जनाउँदै विकासका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताए ।
‘बढ्दो साइबर अपराध नियन्त्रणका लागि यो सम्मेलनले एउटा बलियो अवधारणा तयार गरेर समन्वयमा काम गर्न मिल्ने वातावरण बनोस्, प्रधानमन्त्री दाहालले भने,‘ अन्तरदेशीय अपराध, मानवतस्करी, म्याचफिक्सिङ रोक्न एकआपसको सहयोग आदानप्रदानमा समेत यो सम्मेलन प्रभावकारी हुने विश्वास मैले लिएको छु ।’