पुर्ख्याैली नृत्यमा पुन समाज विजयी
बेनीः नेपाल मगर संघ जिल्ला कार्यसमितिले बेनीमा आयोजना भएको परम्परागत पुख्र्यौली नृत्य प्रतियोगितामा क्याप्टेन डमबहादुर पुनको नेतृत्वमा रहेको पुन समाज पोखरा उत्कृष्ट बनेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा विजयी यस समाजलाई २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा करबाकेली पुख्र्यौली संरक्षण समूह द्वितीय, पुख्र्यौली संरक्षण समिति चिमखोला तृतीय र मुना पुख्र्यौली समूह र पाउद्वार पुख्र्यौली समूह पाउद्वार सान्त्वना भएको आयोजक मगर संघ म्याग्दीका सचिव लोकेश पुनमगरले जानकारी दिए ।
प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २०, १५ र १० हजार रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । परम्परागत कला संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित पुख्र्यौली नृत्य हेर्न खुला मञ्चमा दुई दिन सर्वसाधारणको भीड लागेको थियो ।
मगर समुदायको बाहुल्य रहेको म्याग्दीमा सोरठी, यानीमायाँ र सरस्वती नृत्यको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले जानकारी दिए । ‘यी कलाहरू हाम्रा सम्पत्ति हुन्, पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ', उनले भने, ‘त्यसैले हामीले यस्तो प्रतियोगिता गरेका हौं । उत्साहजनक सहभागिताले हामीलाई खुसी लागेको छ ।'
म्याग्दीमा मगरसँगै छन्त्याल समुदायले पनि आफ्नो पुख्र्यौली संरक्षणका लागि बडा दसैं, छेवर, विवाह, कुलपूजाजस्ता शुभकार्यमा यस्ता नृत्य प्रदर्शन गर्दै आएका छन् । प्रतियोगितामा सहभागी सबभन्दा ज्येष्ठ उमेरका कलाकार झिँ पुख्र्यौली समूहका ७७ वर्षीय पतिराम थजाली र बिम पुख्र्यौली समूहका जैकला जुग्जाली तथा सबभन्दा कान्छो उमेरका रुम पुख्र्यौली समूहका नौ वर्षीय सरोज बुढाथोकीलाई समेत सम्मान गरिएको थियो ।