नर्भिकले लियो उपचारकाे जिम्मा(भिडियाेसहित)
काठमाडौः नर्भिक अस्पतालले उपचार गरेर निष्कासन गरेको बिरामीको जिम्मा आफैले लिने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बिरामीको सबै उपचार अस्पतालले गरेर निको बनाउने जिम्मा लिएको बताएका छन् ।
खुट्टा सुन्निएपछि उपचारका लागि गत कात्तिक १५ गते जाजरकोटका ४५ वर्षीय देवबहादुर सिंह ठकुरी नर्भिक अस्पताल भर्ना भएका थिए । खुट्टा सुन्निएसँगै फोका आएपछि अस्पतालमा कार्यरत चिकित्सकले चिनी रोग (मधुमेह)को कारण देखाउँदै छाला काटिदिएका थिए ।
नर्भिकका चिकित्सकले बिरामीको खुट्टाको छाला काटेर अन्यत्र टालेपछि समस्या भएको र त्यसमा असन्तुष्टि जनाउँदा अस्पताल प्रशासनले निष्कासन गरेको बिरामीकी पत्नी प्रतिमा सिंहले बताइन् । ‘बिरामीलाई झन् गाह्रो भयो भन्दा उपचारमा संलग्न डाक्टर प्रविन नेपालले अस्पतालबाट निकाल्नुहोस् भने', उनले गुनासो गरिन् ।
आपूmले कहाँ लैजाने ? ठाउँ छैन भन्दा कुनै प्रतिक्रिया नदिएपछि घटना बाहिर ल्याउन बाध्य हुनुपरेको उनको भनाइ छ । ‘अस्पतालले अभद्र व्यवहार नगरेको भए मिडियामा नकारात्मक सन्देश आउने थिएन, आज घटना ठूलो भएपछि नर्भिक अस्पतालले बाध्य भएर बिरामीको जिम्मा लियो,' उनले भनिन् ।
अरू दुर्गमका सोझासीधा जनताले आफूले जस्तै गरी दुःख नपाऊन् भनी उनले अस्पतालसँग माग गरिन् । पतिको उपचारमा १३ लाख रुपैयाँ खर्च भएको उनको दाबी छ । तर अस्पताल प्रशासनले भने करिब पाँच लाख रुपैयाँ मात्र बिल भएको जनाएको छ ।
भिडियाे हेर्नुहाेस्
यता डा. नेपालले भने बिरामीको अवस्था जटिल भएको र आफूले सक्दो प्रयास गर्दै आएको दाबी गरेका छन् । बिरामीका आफन्तलाई प्राविधिक विषयबारे जानकारी दिए पनि उनीहरूले आफूलाई अपमान गर्न खोजेको उनको भनाइ छ । ‘अब बिरामीका लागि सबै उपचार नर्भिकले गर्नेछ', उनले भने, ‘उपचार विधि केके अपनाउने, बिरामी कसरी ठीक बनाउने सबै काम हामी गर्छौं ।'
बिरामीका आफन्त कुरवीर शाहीले बिरामी र अस्पतालबीच समन्वयको खाँचो देखिएको बताए । बिरामीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनको भनाइ छ ।