भक्तपुर नगरभित्र नाकाबन्दी !
भक्तपुरः उपत्यकामा सामान्यतया माघदेखि जेठसम्मको अवधिलाई निर्माणको मौसम मानिन्छ । यतिखेर त्यति पानी पर्दैन । काम गर्नेलाई गर्मी पनि महसुस हुँदैन, जसले गर्दा बढी काम हुने विश्वास गरिन्छ ।
यो मौसममा दिन लम्बिँदै जान्छन्, जसले काम गर्ने समयावधि पनि बढी हुन्छ । त्यसैले अधिकांशले यही मौसममा घर तथा भवन निर्माण गर्छन् । निर्माण मौसम भएरै होला, अहिले भक्तपुर नगरभित्र घर तथा भवन निर्माण तीव्र गतिमा भइरहेको छ । २०७२ वैशाख १२, १३ र २९ को भूकम्प र त्यसपछिका परकम्पले घर भत्किएकाहरू पुनर्निर्माणमा तदारुकतासाथ लागिपरेका छन् ।
भक्तपुर नगरक्षेत्रमा सबैतिर पुनर्निर्माण भइरहेकाले अहिले यहाँका मुख्य तथा सहायक सडकमा निर्माण सामग्रीको थुप्रो भेटिन्छ । पुनर्निर्माणकै कारण भक्तपुर नगरभित्रका कतिपय सडक अहिले अवरुद्ध छन् । मुख्य सडकसमेत इँटा, बालुवा, रोडा र डन्डी थुपारिएका कारण साँघुरिएका छन्, जहाँबाट सर्वसाधारणलाई आवतजावत गर्न सहज छैन । यसले आकस्मिक गाडी एवं अन्य सवारीसाधनलाई भक्तपुर नगरभित्र अहिले नाकाबन्दीजस्तै छ ।
मुख्य बाटो नै साँघुरो हुने गरी निर्माण सामग्री थुपार्दा नगरपालिकाले ध्यान नदिएको सर्वसाधारणको भनाइ छ । बाटो अवरुद्ध हुने गरी निर्माण सामग्री थुपारेका कारण एम्बुलेन्सले समेत प्रवेश नपाएको उनीहरूको गुनासो छ । ‘पुनर्निर्माणको नाउँमा बाटो छेकिने गरी निर्माण सामग्री थुपारिएको छ', भक्तपुर नपा ८ का रोशन श्रेष्ठले भने, ‘मुख्य बाटो साँघुरिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या छ, एम्बुलेन्स छिर्ने त कुरै भएन ।'
मुख्य बाटोछेउमा परेका पीडितहरूले बाटोमै निर्माण उपकरण थुपार्दा अरूलाई निर्माण सामग्री लैजान समस्या हुँदै आएको छ । यसैगरी पुननिर्माण गर्दै गरेकाहरूले पनि निर्माण उपकरण बाटोमै राखेर प्रयोग गर्दा सडक अवरुद्ध हुने गरेको छ ।
पुनर्निर्माणका कारण भक्तपुर नगरभित्र नाकाबन्दीजस्तै भएको छ । अहिले भूकम्पले भत्काएका घरको भग्नावशेष पन्छाउने काम पनि द्रुत गतिमा भइरहेको छ । यसले पनि भक्तपुरका चोक, गल्लीसँगै मुख्य सडकमा प्रायः नाकाबन्दीकै अवस्था छ ।
पुनर्निर्माण गरिरहेकाहरूले निर्माण सामग्री बाटोमै राखिदिँदा सडक अवरुद्ध हुने गरेको छ ।
भक्तपुर नगरपालिकाको स्यानिटेसन उपशाखाका अनुसार भक्तपुर नगरभित्र अझ ३० प्रतिशतभन्दा बढी भूकम्पको भग्नावशेष पन्छाउन बाँकी छ । त्यसमाथि कति पीडित भूकम्पले माथिल्लो तला भत्काए पनि तल्लो दुई तलामा बसिरहेका छन् । यसलाई समेत गणना गरिए ६० प्रतिशतभन्दा बढी भूकम्पको भग्नावशेष पन्छाउन बाँकी हुने शाखा प्रमुख दिलीप सुवालको भनाइ छ ।
गत साउनदेखि पुसभित्र चार सय ३५ वटा नक्सापास भएका छन् । यही संख्याका आधारमा पनि भक्तपुरमा भूकम्पपछिको पुनर्निर्माण तीव्र भएको अनुमान गर्न सकिने नपाको नक्सा उपशाखाका प्रमुख इन्जिनियर ओमहरिथा श्रेष्ठले बताए । उपशाखामा दैनिक औसत १० वटा नक्सा दर्ता हुने उनको भनाइ ।
गत वर्षको कात्तिकमा मात्रै नपाले घर निर्माणका लागि नक्सा दर्ता खुला गरेको थियो । उक्त ६ महिनाको अवधिमा चार सय ६८ घरको नक्सा पास भएको उनले बताए । ‘अघिल्लो वर्ष नक्सा पास भए पनि मौसमका आधारमा यसै वर्ष घर बनाउने पनि छन्', इन्जिनियर श्रेष्ठले भने, ‘यस वर्षको पुसभित्र पनि चार सय ३५ वटा नक्सा पास भएका छन् ।'
नगरवासीलाई घर तथा भवन निर्माण गर्दा बाटो अवरुद्ध हुने तथा अरूलाई बाधा पर्ने गरी निर्माण सामग्री थुपार्ने या अरू कार्य नगर्न सचेत गराइँदै आए पनि त्यसलाई व्यवहारमा ल्याउन समस्या हुँदै आएको छ ।