कालो हरिण सिकार मुद्दामा सलमान खानलाई सफाइ
काठमाडौं : कालो हरिण सिकार काण्डमा मुछिएका बलिउड नायक सलमान खानलाई १८ वर्षपछि सफाइ मिलेको छ । भारतको जोधपुरको सेशंस अदालतले उनलाई सफाइ दिएको हो । सलमान खान मुद्दाको फैसलाका लागि मंगलबार नै बहिनी अलविरा र केही वकिलका साथ जोधपुर पुगेका थिए ।
सलमान खानविरुद्ध त्यहाँको हातहतियारसम्बन्धी ऐनअनुसार चलाइएको मुद्दामा अदालतलाई फैसला सुनाउन पाँच मिनेटमात्रै समय लागेको थियो । अदालतको फैसलापछि विभिन्न माध्यममा टिप्पणी गरिएको छ । बुधबार बलिउड नायक सलमानले सफाइ पाएपछि सोसल मिडियामा फरकफरक प्रतिक्रिया आएका हुन् ।
केहीले सलमानको समर्थन गरेका छन् भने केहीले ‘कालो हरिण सलमानले मारेका होइनन्, बरु उसले आत्महत्या गरेको हो’ भनेर प्रतिक्रिया जनाएका छन् । कसैले ‘आज भाइ नजोगिएको भए पैसामाथि नै भरोसा रहने थिएन’ भनेर असन्तुष्टि जनाएका छन् ।
सरकारी वकिलले भने फैसलाको विश्लेषण गरेपछि मात्रै आगामी कदम उठाइने बताएका छन् । अपिल गर्नलायक कारण पाइएमा मात्रै हाइकोर्ट (उच्च अदालत)मा सलमानविरुद्ध जाने उनीहरूको भनाइ छ ।
सलमानलाई काँकणी गाउँमा दुईवटा कालो हरिणको सिकार गरेको र सिकार गर्न प्रयोग गरिएका हतियारको लाइसेन्सको अवधि सकिएको विषयमा मुद्दा चलाइएको थियो । उनीविरुद्ध सन् १९९८ मा शस्त्र अधिनियमअनुसार मुद्दा दर्ता गरिएको थियो । –एजेन्सी