नृत्यमा नेपाली चेली तेरियाको तरंग
आफ्नी नातिनी तेरिया फौजामगर चार वर्षको हुँदै उनको प्रतिभा चिनिसकेका थिए कृष्णबहादुर फौजामगरले । नातिनीको प्रतिभामा निखार ल्याउन उनले निरन्तर प्रयास गरे । अहिले पनि नातिनीका लागि खटिरहेकै छन् । तेरिया भारतीय टेलिभिजन 'कलर्स'बाट प्रसारित चर्चित डान्स रियालिटी सो 'झलक दिखलाजा'को फाइनलमा पुगेपछि उनलाई भोटका लागि सबैलाई अनुरोध गर्न केही दिनअघि ६५ वर्षीय कृष्णबहादुर राजधानीमा आएका थिए ।
सन् २०१४ मा भएको 'डान्स इन्डिया डान्स' (डीआईडी) सिजन ३ को विजेता बनेपछि हजुरबुवा कृष्णबहादुरमात्रै होइन, सिंगो नेपाल गौरवान्वित बन्यो । कडा प्रतिस्पर्धाबीच 'झलक दिखलाजा'को यस सिजनको फाइनलमा पुग्न सफल भएकी छन् उनी । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार (जनवरी २१) मा हुँदैछ । फाइनलमा तेरियाले डीआईडी सिजन १ का विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीसँग प्रतिस्पर्धा गर्र्दैछिन् । विजेताले तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार पाउनेछन् ।
सन् १९९६ मा भारतीय सेनाबाट अवकाश पाएका कृष्णबहादुरले नातिनीका लागि गरेको योगदान निकै उल्लेखनीय छ । सानै उमेरदेखि नातिनीको प्रतिभा नियालेका उनी भन्छन्, 'उसलाई पाँच वर्षदेखि नाच सिकाउन बुटवलबाट २३ किलोमिटर टाढा रुद्रपुरको बागेश्वरी संगीतालयमा लान्थेँ ।' हरेक दिन नातिनी लिएर संगीतालय पुग्ने र एक घन्टा अभ्यासपछि घर लिएर फर्किने अनि स्कुल पठाउने गर्थे उनी ।
नातिनीका बाल्यकाल सम्झँदै उनले थपे, 'उसको भविष्य उज्ज्वल छ भन्ने लाग्थ्यो । तर, अवसर नदिएसम्म लुकेका प्रतिभा बाहिर ल्याउन सकिन्न भनेर म आफैंले नातिनीलाई सघाउन थालेँ ।' तेरिया बच्चादेखि नै गाउँघरमा हुने कार्यक्रमलगायत देउसीभैलोमा रोजाइमा पर्थिन् । उनको नृत्य सबैले मन पराउँथे ।
भारतीय टेलिभिजन जीटीभीमा प्रसारित डीआईडी सिजन ३ कि विजेता तेरिया फौजामगर अर्को टेलिभिजन 'कलर्स'बाट प्रसारित चर्चित डान्स रियालिटी सो 'झलक दिखलाजा'को पनि फाइनलमा पुगेकी छन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार हुँदैछ ।
सन् २०१४ मा भएको 'डान्स इन्डिया डान्स' (डीआईडी) सिजन ३ को विजेता बन्नुअघि उनले वेलफेयर क्याराभान नामको संस्थाले आयोजना गरेको कार्यकममा एक लाख रुपैयाँ जितेकी थिइन् । त्यसपछिमात्रै उनी डीआईडीका लागि भारत गएकी हुन् । भारतसम्म पुर्याउन पनि हजजुरबुवाले सहयोग गरेका हुन् तेरियालाई । मुम्बईमा बस्ने आफ्नो भतिजोलाई कोरियोग्राफरसँग सम्पर्क गर्न उनले नै अराएका थिए । डीआईडीमा जानुभन्दा पहिला कोरियोग्राफर सार्थक मिश्रले उनलाई हिन्दी गीतमा नाचेको भिडियो क्लिप पठाउन भनेका थिए ।
तेरिया नाचेको भिडियो हेर्नेबितिकै उनलाई तुरुन्त मुम्बई बोलाउँदा हर्षविभोर भएको कृष्णबहादुरले स्मरण गरे । त्यति बेला एघार वर्षकी उनी ५ कक्षामा अध्ययनरत थिइन् ।
डीआईडीको विजेता बनिसकेकी तेरिया आमा र दिदीको साथ हाल मुम्बईमा बस्दै आएकी छन् । तेरियाका बुवा भने कतारमा काम गर्छन् । १४ वर्षीया उनी पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छन् । तीन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन । उनी यति बेला भारतमा अध्ययन गर्दैछिन् ।
उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ । कृष्णबहादुरका अनुसार उनको अनुबन्ध फुकुवा हुन अझै पाँच छ महिना बाँकी छ ।